कालो बादलमा चाँदीको घेरा

खेमराज रिजाल
दाङ, २५ साउन । ‘यो अटो कहाँ जान्छ ? तपाईँले भने अनुसार बाटो सहज भएको सबै ठाउँमा ।’ गोरक्ष पत्रिकाको अफिस पुग्ने मुख्य सडकमा एउटी महिलाको प्रश्नमा अटोको जवाफ थियो । उनी महिला कहाँ गइन्, मलाई थाहा भएन, सायद आफ्नो गन्तव्य स्थलमा ।
बाटो सहज भन्नुको अर्थ धेरै ठाउँमा बाटो ब्लक छन् अर्थात मुलुकको समृद्धि ब्लक छ । मुलुकको आर्थिक गतिविधि ब्लक छ । अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट सय किलो सुन बाहिरिँदा एयरपोर्ट प्रशासन ब्लक छ । तैपनि समातियो नि सुन ।
हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । जहाँ समस्या त्यहाँ समाधान निस्कन्छ । सुशासन समृद्धिको मुख्य आधार हो । त्यही कारण पछिल्लो समयमा मुलुकले सुशासन खोजिरहेको छ तर सुशासनमा अझै पनि कालो बादल मडारिइरहेको छ । यो बादललाई छिचोल्दै हामीले उज्यालो खोज्नु परेको छ ।
हामीबिच कालो बादल भएजस्तै घेरामा चाँदी पनि छ । हामीले सङ्घीयताको अभ्यास गरिरहँदा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमै पाएका छौँ । त्यसको मुख्य श्रेय तत्कालीन अवस्थामा स्थायी मुकाम घोषणा गर्ने शंकर पोख्रेल र स्थायी मुकाम आफ्नो कार्यकालको अन्तिम क्षणमा सार्न सफल हुने अर्का मुख्यमन्त्री कूलबहादुर केसी पनि स्मरणयोग्य राजनेता हुन् ।
हो अहिले विश्व समुदाय नै आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको छ । त्यसको असर सबैभन्दा बढी अल्पविकसित मुलुक र विकासशील मुलुकहरूलाई पर्छ । त्यही कारण नेपाल पनि पछिल्लो समयमा आर्थिक मन्दीको चपेटोमा छ । व्यापार व्यवसाय चौपट भएको छ । तैपनि हामी अत्तालिने अवस्था छैन । हाम्रा समृद्धिका धेरै आधारहरू छन् ।
स्थायी राजधानी हाम्रो एउटा गौरवको सुरुआत हो तर सारेर मात्रै हुँदैन । राजधानी कार्यान्वयनमा धेरै चुनौतीहरू छन् । स्थायी राजधानीका लागि कामचलाउ विमानस्थल दाङमा छैन । भएको टरिगाउँ विमानस्थलको स्तर वृद्धि अहिलेको पहिलो आवश्यकता हो । यो नभएसम्म स्थायी प्रदेश मुकामको अर्थ रहँदैन ।
हो, दाङ जिल्लाको समृद्धिका लागि हवाई सेवा अपरिहार्य हो । यो राप्तीकै हवाई ट्रान्जिट हुन सक्छ अर्थात पाइलट स्कुलको पनि सम्भावना छ, तुलसीपुरमा । यदि टरिगाउँ असम्भव हो भने अन्य विकल्प हुन सक्छन् । यसमा राजनेताहरूको इच्छाशक्ति आवश्यक छ । त्यसमा नागरिक सहयोग र सद्भाव पनि ।
आशाका आधारहरूमा दाङ जिल्ला एउटा यस्तो विविधताको सङ्गम हो । धार्मिक, सांस्कृतिक, भौगोलिक एवम् सबै रूपले दाङको नाम विश्वसामु चिनिन सक्छ । दक्षिण एसियाकै ठुलो उपत्यका, अर्थात् विश्वकै दोस्रो ठुलो उपत्यका । यस्तो क्षेत्रमा पनि हवाई सेवामा अराजनीतिले यस जिल्लाको समग्र समृद्धिमा धक्का पुगेको छ । विश्वकै दोस्रो ठुलो उपत्यकामा १६ सिटे विमान सेवा किन ?
यसमा यहाँका सांसदहरूले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने भएको छ । तात्कालीन मुख्यमन्त्री तथा एमालेका नेता शंकर पोख्रेलले पनि यसलाई गम्भीरतापूर्वक लिनु पर्ने छ । प्रमुख दलको राजनीतिक इच्छाशक्ति भएर सरकारमा साझा आवाज उठाए दाङ जिल्ला हवाई सेवाबाट विमुख हुनु पर्ने छैन ।
कालो बादल भित्रको चाँदी नेपाल–भारत भन्सार सेवा हो । राप्तीकै समृद्धिको प्रमुख आधार उहिल्यैदेखि कोइलाबास भन्सार हो तर बन्द भएको कोइलाबास भन्सार अझै चल्न सकेको छैन । दाङको लमहीदेखि करिब २९ किमी मात्र दूरी रहेको यो नाका पुग्न पक्की सडकसँगै पुलपुलेसा पनि निर्माण भएका छन् तर भन्सार खुलाउने कालो बादल अझै त्यही आकाशमा मडारिइरहेको छ । यसलाई धपाउने राजनीतिक इच्छाशक्तिको खाँचो छ ।
आशा पश्चिम दाङको पनि हो । तुलसीपुर अब कर्णालीसँग पनि जोडिनु पर्दछ । त्यसका लागि तुलसीपुर–पुरन्धारा–सुर्खेत सडक पनि हो । यो सडक पूरै कालोपत्रे हुनका लागि केही किमी मात्रै बाँकी छ । त्यसमा पनि यहाँका राजनेता र नागरिक समाजको साथ र सहयोगको सबैले अपेक्षा गरेका छन् ।
समृद्धिका आधार धेरै छन । औद्योगिक ग्राम, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल संस्कृत विश्वविद्यालय हाम्रा गरिमा हुन् तर यी धरोहरलाई पनि ओझेलमा पार्न केही राजनीतिक शक्ति नै लागिरहेको देखिन्छ । यसलाई पनि आगामी वर्षले सच्याउने छ भन्ने आम दाङबासीको अपेक्षा रहेको छ ।
चारलेन सडकको आकाङ्क्षा र एमसीसी परियोजनाको सडक सुधार आयोजना पनि कालो बादलमा चाँदीका घेरा हुन् । यी आयोजनालाई पनि विवादरहित रूपमा सम्पन्न गराउनका लागि साझा सहमति र साझा पहल आवश्यक छ । आशा गरौँ, कर्तव्य निर्वाह गरौँ । कालो बादल हट्ने छ । समृद्धिको आधार खुल्ने छ । गोरक्ष गेटमा रोकिएको त्यो अटो हरेक नागरिकको आँगनमा पुग्ने छ ।