गोरक्ष राष्ट्रिय दैनिकले १८ वर्ष पुरा गरी १९औ वर्षमा प्रवेश गर्दैछ । समय र परिस्थिीति अनुकुल जनतालाई सुसुचित गर्दै अघि बढेको यो पत्रिकाले कति संघर्ष गर्दै, निखारीँदै अघि बढ्यो यो निकै लामो फेहरिस्त बन्दछ । यो सँग नाता जोडिएको लामो समय भएकोले हामी यति भन्छौँ– जीवन संकल्प र शुद्धतामा अघि बढेझै यसको गतिशीलता शुद्धता र जनताको पिरमर्का उजागर गर्ने शसक्त माध्यम भएर सतिसाल झै ठिङ्ग उभिएर यो अगाडि बढोस् । हाम्रो चाहाना छ । आफूलाई कस्तै अफ्ठेरो परिस्थीतिमा गुजार्नु परे पनि यसले आफ्नो गतिलाई निरन्तरता दिइरहेको छ । आगामी दिनमा पनि यो गोरक्ष राष्ट्रिय दैनिक पत्रिका सबैको प्यारो, समाचार र गतिविधिको खुराक बनोस् शुभकामनासहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
नारायणप्रसाद श्रेष्ठ
मानिसको जीवन एक अर्काबिच न्यानो सम्बन्ध कायम गर्दै अघि बढेको हुन्छ । उसको जीवनले कहि न कतै जल, जमिन, आग्नी, वायु, आकाशसँग सम्बन्ध कायम राख्दै प्रकृति र पर्यावरणसँग रमाइरहेको हुन्छ । सृष्टिचक्रको इतिहाससँगै रमाउँदै उत्पति हुने नष्ट हुने प्रकृतिमा आवद्ध रहि एक अर्काबिच सम्बन्ध र सम्पर्क कायम गर्दै गतिशिल भएको हुन्छ । यति मात्र होइन मानिसको मन
विचार र कर्म पनि एक अर्काबिचको सम्बन्ध र सम्पर्कमा परिस्कृत हुँदै अगाडि बढेको हुन्छ । वर्तमान समयसँग बाच्न र बचाउनको लागि उसले जे जति संघर्ष र बलिदान गरेको छ ती सबै आपसी सम्बन्ध र सम्पर्क तथा विश्वासको आधारले भएका हुन् । किनकी उ सामाजिक प्राणी हो । उ एक्लै बाच्न पनि सक्दैन र एक्लै उसले पूर्णता पनि प्राप्त गर्न सक्दैन । बाच्नको लागि साहारा खोज्नेदेखि जीवनमा आइपर्ने प्रत्येक समस्याको समाधान पनि उसले निर्वाह गर्ने संकल्प र सम्बन्धमा निर्भर रहेको हुन्छ । एक अर्काबिचको सम्बन्ध र भरोसाबाट नै उसले आफूलाई गतिशील बनाएको हुन्छ ।
जीवनको उद्देश्य पूरा गर्दै सार्थक जीवन जिउने उसको मनोकाञ्छा उसको संकल्प र सम्बन्धमा नै निर्भर रहने हुँदा उ सधैँ आपसी प्रेमभाव र सकारात्मक सोचका साथ अघि बढ्न खोजेको हुन्छ । जसको फलस्वरुप मानिसले भोलिको कार्य योजनालाई भविष्यसँग गाँसेर आफ्नो आधारशिला निर्माण गर्दै अघि बढेको हुन्छ । सामाजिक विकृति स्वरुप देखा परेका अममर्यादित गतिविधिबाट उत्पन्न हुने काम, क्रोध, लोभ, मोह र अंहकारलाई पन्छयाउँदै वसुधैब कुटुम्वकमको सिद्धान्तभित्र आफूलाई परिचालित हुने कोशिस गरिरहेको हुन्छ ।
त्यसैले सामाजिक सम्बन्ध र संकल्पलाई मन, वचन र कर्मबाट प्रमाणित हुने गरी अन्तरमनको सत्यसँग जोडी जीवन र जगत प्रतिको जिम्मेवारी निभाउन सधै चिन्तनशिल बन्नुपर्दछ । वर्तमान नै भविष्यको आधार भएकोले भोलि हुने स्थिीतिको मूल्याङ्कन गरी हिजो के भएको थियो, आज के भइरहेको छ भन्ने कुरालाई मनन गरी भोलिको भविष्य निर्धारण गर्न आफ्नो सम्बन्ध र संकल्पलाई अरुको सेवा र सहयोगमा समर्पित रहने दृढता गर्नुपर्दछ । सबैले आफूले आफैलाई म म भनी जान्न र बुझ्न जरुरी छ ।
क्षणिक आनन्दको प्रलोभनमा परि मानिसको विचार र चिन्तन एकपछि अर्को गर्दै भौतिक विलासीतर्फ आकर्षित नहोला भन्न सकिन्न । जसको कारण मानिस भोलि–भोलि भन्दै आफैपछि नपर्लान् भन्न पनि सकिन्न । आफूले आफैलाई आफ्नै चिन्तनका कारणपछि धकेलिरहेको अवस्था पनि देखिन्छ । वास्तवमा भोलिको लागि भोलि भन्ने प्रवृति मानिसभित्र लुकेको अल्छीपनको संकेत हो । व्यक्तिको सोच चिन्तन र व्यवहारमा यस्तो चिन्तन जागृत हुनु भनेको अन्तरमनको भावनालाई कुल्चनु हो । आफूले आफैतिर प्रश्न चिन्ह खडा गर्नु हो । यसले सम्बन्ध र व्यवहारमा गलत मानसिकता सिर्जना गर्न सक्छ ।
विचारमा संकुचन पैदा गर्न पुग्दछ । जसको फलस्वरुप व्यक्ति आफै पछुताउने स्थिीति आउन सक्छ । यस वखत मानिसको अन्तर मनमा अंहकार र घमण्डले वास गर्न पुगी व्यवहार र कर्ममा विचलित भइ आफ्नो छिमेकिसँगको सम्बन्धमा पनि चिसोपन आउछ । जीवनको उद्धेश्यभित्रको स्वच्छता र निस्वार्थतामा आच पु¥याउन सक्छ । यसले मानिसको विचार र कर्म कमजोर हुन गइ उज्यालो भविष्यको संकल्पमा पूर्णविराम लाग्न सक्छ । मनमा अस्थिरता पैदा हुनु भनेको आफ्नो भविष्य अन्धकारतर्फ धकेल्नु हो । त्यसैले आफूलाई संयम र धैर्यता कायम गरी कर्म र व्यवहारमा परिस्कृत गर्दै सन्तुलन ल्याउनेतर्फ सचेत रहुनुपर्दछ ।
सम्बन्धलाई सेवा र संकल्पमा जोडी कर्ममा सन्तुलन ल्याइ विगतलाई मूल्याङ्कन गरी भविष्यको आधारशिला तयार गर्नुपर्दछ । आफ्नो कर्म र व्यवहारलाई अरुको भलाइमा समर्पित गर्ने मानसिकता जगाइ आफ्नो कर्म र व्यवहारमा विश्वास बढाउने वातावरण तयार गर्नुपर्दछ । सामाजिक कलंकको रुपमा रहेको काम क्रोध लोभ मोह र अंहकार रुपी दुर्गुनलाई हटाइ आफूलाई परिस्कृत गर्दै सहनशील भएर आफूलाई प्रस्तुत गर्नुपर्दछ । उज्यालो प्रकृतिको नियम हो । यहि नियम मुताविक आफ्नो अन्तर मनको उज्यालोलाई कर्ममा परिस्कृत गर्दै सम्बन्ध र व्यवहारमा प्रगाढ ल्याउनुपर्दछ ।
पढ्नु लेख्नु ज्ञान हासिल गर्नु तथा भविष्यप्रति चिन्तित रही जिम्मेवारी बहन गर्नु हामी सबैको दायित्व र कर्तव्य हो । आफ्नो एउटा गल्तीले समाजलाई असर गर्न सक्छ, आफ्नो भविष्य बिग्रन सक्छ, तथा एकपछि अर्को गर्दै सामाजिक मूल्य र मान्यताअनुसार कर्म र व्यवहार गर्न नजान्नु आफैलाई धोका दिनु हो । अर्को कुरा सामान्य र ठुलो ठान्ने प्रवृति देखाउनु, तीललाई पहाड बनाउने सोच बढाउनु आफैलाई पतन बनाउनु हो । अरुलाई औला ठड्याउनु भनेको ३ वटा औलाले आफैलाई औल्याउनु हो । आफै ३ कदमपछि हट्नु हो । आफूले आफैलाई दुरा अवस्थामा लैजानु हो । त्यसैले मानव जातिको मुख्य उद्देश्य भनेको उ र उसको भविष्य उज्यालो गराउने गरी आफ्नो जीवन चर्या निर्धारण गर्नु हो ।
भोलिको भविष्यलाई आजको कर्म र व्यवहारलाई परिस्कृत गर्दै नयाँ र परिस्कृत संस्कृति र संस्कार स्थापना गर्नु हो । त्यसैले आज राम्रो छ मिठो मसिनो खाएको छु भनी पछि भोलिको आवश्यकता पूरा गर्ने कुरातर्फ आलस्य जगाउने आपसी सम्बन्धलाई कुनै वास्त प्रयोजन नगर्ने, यी केही होइनन् म नै सबै हुँ भनी अंहकार गर्ने जस्ता अनैतिक र अमर्यादित वातावरण तयार गर्ने हो भने मानिस कहिले सफल हुन सक्दैन । तसर्थ वर्तमान नै भविष्यको उज्यालो गन्तव्य हो भन्ने ठानी सम्बन्ध र प्रेमको अमृत पान गर्दै उज्यालो भविष्यको गन्तव्यमा आफूलाई समाहित गर्न सक्नुपर्दछ ।
सामाजिक परम्परा र संस्कार स्वरुप परिवर्तन हुँदै आएको मनको उदवेगलाई सेवा र समर्पणमा आधारित सेवा भावमा समर्पण हुने वातावरण बनाउनु पर्दछ । अरुको भलो चिताउनु भनेको सम्बन्ध र व्यवहारमा पवित्रता प्रदर्शन गर्नु हो । जीवनलाई उज्यालो गतिमा लैजानु हो । सम्बन्धमा मिठास ल्याइ बाच्न र बचाउन अहोरात्र खट्न सक्ने क्षमता बढाउनु हो भनी आफूलाई समपर्ण गर्नु पर्दछ । हुन त वर्तमानमा दिएर खाएर आफ्नो बनाउने प्रचलन निकै बढेको छ जीवनको उद्देश्यलाई रकममा सटही गरी तेरो मेरोको भावना जगाउने चेष्ठा गरिएको पनि छ तर सत्य के बिर्सनु हुँदैन भने दिएर र खौरेर मसिनो कहिल्यै हुँदैन यो प्रशंग बिर्सनु हुँदैन ।
अर्को कुरा कुखुरालाई नुन मान्छेलाई गुण गर्नु हुँदैन भनेर पनि भनिन्छ वास्तवमा यस्तो परिस्थिीति ल्याउने कार्य मानिस स्वयमले गरेकोले यसलाई निर्मूल गर्न सच्चाइमा आधारित कर्मशिल बन्न जरुरी छ । सम्बन्ध क्षणिक हुन सक्छ यो विस्तारै बिर्सनु पर्ने पनि हुन सक्छ तर एक पटक लगाएको गुणले जीवनको इतिहास बदलिन सक्छ बिर्सेर पनि मनको अन्तर कुनामा नबिर्सने गरी छाप लागेको हुन्छ यो कुरा प्रत्येकले बुझ्न जरुरी छ ।
प्रकृतिमा आधारित जीवन चक्रको परम्परागत परिवेशलाई हेर्ने हो जीवनको यात्रा सम्बन्धलाई सेवा र संकल्पसँग जोडेर भोलिको आधार तयार गर्दै अघि बढेको पाइन्छ । स्वच्छ मन, स्वच्छ वातावरण जीवनलाई सम्वृद्धितिर लैजाने आधार भएर अगाडि बढेको छ । यसलाई कसरी गतिशीलता बनाउने उसको सुन्दरता र शुद्धता मानव जातिमै निर्भर रहेको स्थिीति छ । तर पनि विविध संस्कृति र वातावरण हुर्केको मानव जीवनको आचरण कर्मले मानिस स्वयम् आपसी द्वन्द हुन्छ र खुट्टा तान्ने प्रवृति उन्मुख भएको देखिन्छ ।
वास्तवमा यस्तो परिस्थीति निम्त्याउनुमा मानिस नै दोषी मानिन्छ । यसले अवश्य पनि मानव जातिलाई नै नोक्सान पु¥याउँछ । नोक्सान मात्र पु¥याउँदैन सृष्टिचक्रको परम्परालाई नै काल खण्डमा पु¥याउन सक्छ । त्यसैले म र मेरो अस्तित्व कसको आधारबाट संरक्षीत छ ? उ नभए मेरो बाच्ने आधार के ? यस्ता प्रश्नको जवाफ आफूभित्र खोजी उ नभए मेरो पहिचान असम्भव छ भन्ने वोध गरी पाइला–पाइलामा हामीलाई हाम्रो भविष्यसँग गाँसेर हाम्रो सम्बन्धमा न्यानोपन ल्याउन खोज्ने सत्यलाई कदापि भुल्नु हुँदैन ।
हाम्रो जीवनमा उतारचढाव आउने जे जस्ता क्रिया प्रतिक्रिया छन् यसको मूल कारक हाम्रै लापरवाही र अकर्मन्यता हो भन्ने सत्य बुझी भोलिको सपना पूरा गर्न आजै त्यसको विजारोपण गर्नु गराउनु परेको छ । जसरी प्रकृतिले मानव जीवनको सत्सँगबाट आफूलाई विस्तारै हुर्काउँदै (वोट बिरुवा) मानवलाई नै बाच्ने आधार तयार गर्दछ । त्यसरी नै प्रकृतिको काखमा हुर्किँदै गरेको जीवनलाई पनि सम्बन्ध, संकल्पसँग जोडेर भोलिको उज्यालो संसार देखाउन आजैदेखि स्वतन्त्र र निश्पक्ष विचारको विजारोपण गरौँ ।
जीवन संकल्प र शुद्धतामा अडेको हुन्छ । विचार कर्म र व्यवहारमा शुद्धता यी मानव चिन्तनबाट उत्पादित विचार सागर हुन् यहि विचारलाई शुद्धताको कसीमा घोट्दै अकवरी सुनलाई कसी लगाउन पर्दैन भने झैँ कर्म र व्यवहार मा शुद्धता कायम गर्न सक्नुपर्दछ तब मात्र जीवनले, खोजेको माटोले रोजेको जीवनचक्रको परम्परा सुन्दर र स्वच्छ बन्न सक्छ । चेतना भया ।