आँखा पाक्ने रोगको प्रकोप

बालाराम खड्का
तुलसीपुर, २१ साउन । जिल्लामा केही दिनदेखि आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तन भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढेको आँखा रोग विशेषज्ञले बताएका छन् । आँखा पाक्ने रोगको प्रकोपले तुलसीपुरको राप्ती आँखा अस्पतालमा दुई–तीन दिन यता बिरामीको चाप बढेको छ । मौसम परिवर्तन र दूषित वातावरणले गर्दा आँखा पाक्ने रोगका बिरामी बढेका हुन् ।

नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज, भालुबाङ आँखा उपचार केन्द्र तथा अन्य उपचार केन्द्रमा आँखा पाक्ने रोगका बिरामी बढेको अस्पतालले जनाएको छ । ‘विगत केही दिनदेखि आँखा रातो हुने विझाउने गरेको थियो । अस्पताल आएर जाँच गर्दा आँखा पाक्ने रोग भन्ने जवाफ पाएँ’, तुलसीपुुर–५ निवासी मिना वलीले भनिन् ।

उनी जस्तै तुलसीपुर–१० का युवराज थापाले भने आँखा चिलाउने र घाममा हेर्दा गाह्रो हुने भएपछि अस्पतालमा आएको र कन्जन्टेभाइटिस भाइरल भएको भनेर चिकित्सकले भनेको बताए । राप्ती आँखा अस्पतालका रेटिना रोग विशेष डा. सन्तोष सुवेदीले बिरामी प्रायःजसो आँखा रातो हुने समस्या लिएर अस्पताल आउने बिरामीको चाप रहेको बताए । वर्षाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने विज्ञहरू बताउँछन् । डाक्टर सुवेदीकाअनुसार बिरामीमा कन्जन्टेभाइटिस, आँखा चिलाउने, रातो हुन, आँखा सुनिने र सुक्खा आँखाजस्ता समस्या पाइने गरेको छ ।

‘कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ, यो सरुवा रोग हो’, उनले भने । कन्जन्टेभाइटिसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भइ सुन्निन्छ । यसमा आँखाबाट आँसु बग्ने, चिप्प्रा लाग्ने, परेलीको डिल सुन्निने हुन्छ । घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने आदि समस्या हुन्छ । कन्जन्टेभाइटिस प्रायःजसो ब्याक्टेरिया र भाइरसको सङ्क्रमणले गर्दा हुने गर्दछ । आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफूखुसी औषधी किनेर प्रयोग गर्दा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझावबिना औषधी प्रयोग नगर्न आँखा बालरोग विशेषज्ञ डा. निता सुनामको भनाइ छ । ‘यहाँ आउने बिरामीमध्ये धेरै बिरामी अहिले आँखा पाक्ने रोगका आउने गरेका छन्’, डा सुनामले भनिन् ।

सङ्क्रमण विभिन्न कारणले हुने हुँदा सम्बन्धित अस्पतालमै गएर जाँच गराउनु पर्छ, आँखाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्नसक्ने भएकाले सरसफाईमा ख्याल गर्नुपर्ने नेत्र विशेषज्ञको भनाइ छ । ढिला गरी उपचारमा आउँदा आँखाको नानीमा घाउ हुने भएकाले पनि हेलचेक्राइ नगर्न उनको सुझाव छ । ‘यसलाई हेलचेक्राइ गरे त्यसले सधैँका लागि दृष्टि गुम्न पनि सक्छ तर समयमा उपचार गरे चार÷पाँच दिनभित्र सन्चो हुन्छ’, डा. सुुनामले भनिन् ।

एक हप्ता अगि राप्ती आँखा अस्पतालमा ३ सय ५० सरदर आँखा उपचारमा आउने गरे पनि हाल भने दैनिक साढे ४ सय देखि ५ सयसम्म बिरामी आउने गरेको नेत्र अधिकृत शालिकराम गौतमले बताए ।उनले त्यसमा ६० प्रतिशत आँखा विझाउने रातो हुने आँसु आउने घाममा हेर्न नमिल्लने लक्षणका बिरामी आएको बताए । उनले राप्ती आँखा अस्पतालमा तीन दिनमा एक हजार ३ सय ७३ जना आँखा उपचार गराउन आएको बताए । ‘अस्पतालमा बिरामीको चाप छ । यो आँखा पाक्ने रोग धेरै फैलिएको छ’, उनले भने ।

यो रोगबाट बच्ने उपाय भाइरल र ब्याक्टेरियल आँखा पकुवा, सरुवा रोग भएकाले रोगीले प्रयोग गरेका वस्तुहरू प्रयोग नगर्ने, .हात–मुख धुनेजस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यको संरक्षण गर्ने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि सङ्क्रमित आँखामा मात्र झोल औषधीको प्रयोग गर्ने र हात राम्ररी धुने गरेमा रोगबाट बच्न सक्ने नेत्र रोग विशेषज्ञहरूको सुझाव छ ।

रोल्पामा पनि आँखा पाक्ने समस्या

यसैबिच रोल्पामा पछिल्लो समय आँखा पाक्ने समस्या भएका बिरामी बढ्दै गएका छन् । रोल्पामा आँखा पाक्ने रोग फैलिएसँगै बिरामीको सङ्ख्या पनि बढेकोे आँखा चिकित्सकले बताएका छन् । कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरुवा रोगका कारण रोल्पा अस्पताल रेउघा रोल्पामा दैनिक २० देखि ३० जना बिरामी आउने गरेको रोल्पा अस्पताल रेउघाकी नेत्र सहायक दीपा भण्डारीले बताइन् ।

त्यस्तै सामुदायिक आँखा केन्द्र लिबाङ रोल्पामा पनि पछिल्लो समय कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरुवा रोगका कारण दैनिक २५ देखि ३५ जना बिरामी आउने गरेको सामुदायिक आँखा केन्द्र लिबाङका इञ्चार्ज नेत्र सहायक अमन चौधरीले बताए । उता सुनिल स्मृति गाँउपालिकाको सुलीचौरमा रहेको सुलीचौर आँखा उपचार केन्द्रमा पनि दैनिक २५ देखि ३० जना बिरामी आउने गरेको सुलीचौर आँखा उपचार केन्द्रका नेत्र सहायक प्रवीण डिसीले बताए ।

कन्जनटिभाइटिस भाइरस रोगका कारण आँखा पाकेर बढी केटाकेटी अस्पताल आउने गरेको नेत्र चिकित्सकहरूले जानकारी दिएका छन् । सुरुमा भाइसका कारण आँखा पाक्ने समस्या लिएर बालबालिका मात्र आए पनि पछिल्लो समयमा भने अन्य व्यक्ति पनि आउने गरेका छन् ।