घोराही, १९ साउन । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
दाङको भालुबाङमा बसेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको बैठकले आगामी भदौ महिनाको पहिलो हप्ता प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशका १२ जिल्ला सभापति, २६ प्रतिनिधिसभा क्षेत्रीय सभापति र ५२ प्रदेशसभा क्षेत्रीय सभापतिको लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको नेपाली कांग्रेस प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
उहाँका अनुसार प्रशिक्षण कार्यक्रम नवलपरासी (पश्चिम) मा आयोजना गरिने भएको छ । प्रशिक्षण कार्यक्रमलाई नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालालगायतका शिर्ष नेताहरू सम्बोधन गर्ने बताए । समय अनुकूल पार्टी संगठन चलायमान बनाउन तहगत नेतृत्वको लागि प्रशिक्षण दिन लागिएको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले बताए ।
उनका अनुसार प्रशिक्षण पश्चात पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विषेश आधार तय हुने सभापति पुनले बताएका छन् । साथै प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्टी बैठक सञ्चालन गर्ने र आगामी बैठक पाल्पा जिल्लामा आयोजना गर्ने निर्णय गरेको छ ।