कतै एकै ठाउँमा दुई पुल, कतै डुङ्गाको भर

प्रियास्मृती गजमेर
लमही, १५ साउन । देउखुरीको राजपुरको जंग्रहवादेखि लमहीको जहरे जोडिने राप्ती घाटमा लामो समय डुङ्गा चल्यो । डुङ्गामै स्थानीयले नदीवारसँगै आफुलाई चाहिने सामग्रीको समेत व्यवस्था गर्नुपर्ने स्थानीयको बाध्यता थियो । बर्खाको भलले कति बेला नदीमा ढुङ्गा पल्टाउने समेत गर्दथ्यो । जसले गर्दा कति बेला के हुने भन्ने पत्तै हुँदैन थियो ।

त्यो बाध्यता लामो समयसम्म स्थानीयले बेहोर्नुप¥यो । त्यसपछि राप्ती नदीअन्तर्गत जहरे घाटमा झोलुङ्गे पुल निर्माण भयो । पुल बनेपछि स्थानीयलाई ज्यान नै जोखिममा राखेर नदी तर्नुपर्ने जोखिमबाट राहत मिल्यो । झोलुङ्गे पुल प्रयोगमा आएको केही वर्षमै फेरि सोही स्थानमा पक्की पुल निर्माण भयो । उक्त ठाउँमा पक्की पुल निर्माण भएपछि राप्ती नदीमा चल्ने डुङ्गा मात्रै प्रयोगविहीन होइन, झोलुंगे पुल अहिले प्रयोगविहीन बनेको बर्षौ बितेको छ । तर राप्ती नदीअन्तर्गत लमही नगरपालिका–९ स्थीत तरुलिया घाटमा पुल नहुँदा स्थानीय जोखिम मोलेर नदी तर्न बाध्य छन् ।

नदीमा पुलका लागि स्थानीय जनप्रतिनिधिसँगै आफ्नो क्षेत्रका संसदलाई पटक–पटक माग गरेपनि पुल निर्माण हुन नसकेको स्थानीय गुरुप्रसाद बोटे बताउँछन् । पुल नहँुदा अहिले पनि स्थानीयलाई डुङ्गा चढेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । तरुलिया निवासी बोटेले भने,‘हामीलाई ज्यान नै जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता छ, तर जहरेमा एकै ठाउँमा बर्षौदेखि दुईवटा पुलहरू रहेका छन् ।’ झोलुंगे पुल निर्माण गरिएकै ठाउँमा पक्की पुल निर्माण हुँदा करिब पाँच वर्षदेखि झोलुंगे पुल प्रयोगविहीन भएको स्थानीय बताउँछन् ।

तरुलिया र राजपुरको राताकांश घाटमा अहिले पनि डुङ्गा चल्ने गर्दछ । यहाँ कयौँ पटक डुङ्गा दुर्घटनामा परेको छ । मैने घाटमा डुङ्गा दुर्घटना हुँदा केही वर्ष अघि राजपुर गाउँपालिका–७ सिक्टा निवासी एकै घरका बाबुछोरा नदीमा बेपत्ता भएका थिए । निर्वाचनमा जनताका समस्यामा देख्ने तर निर्वाचित जितेपछि समस्या नबुझ्ने जनप्रतिनिधिका कारण जनताले बर्सेनी समस्या भोग्नु परेको स्थानीय प्रेम कुमाल बताउँछन् । नदीमा पुल नभएकै कारण ३० मिनेटमा पुग्नुपर्ने स्कुलमा अहिले विद्यार्थी डेढ घण्टा लगाएर जानुपर्ने बाध्यता छ ।

कुनै समय डुङ्गाकै भरमा राप्ती नदी तर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै राप्ती नदीअन्तर्गत विभिन्न ठाउँमा ६ वटा पुलहरू निर्माण भएपनि कतिपय स्थानमा अहिले पनि नागरिकलाई नदी तर्न डुङ्गाकै भर पर्नुपर्ने बाध्यता रहेको छ । राप्ती नदीअन्तर्गत भालुबाङस्थित राप्ती नदीको पुल, महदेवा–सिसहनिया राप्तीपुल, लमही–गढवा राप्ती पुल, हस्नापुर–राजपुर जोड्ने राप्तीपुल, जहरे राजपुर जोड्ने राप्ती पुल र सतबरिया–राजपुर जोड्ने राप्ती पुल गरी ६ वटा पक्की पुल बनाएको पुल सेक्टर नेपालगञ्जका योजना प्रमुख इञ्जिनियर लिलाबहादुर भण्डारीले जानकारी दिएका छन् ।

भण्डारीले आफूको काम योजना कार्यान्वयन गर्ने भएको भन्दै सरकारले बनाएका योजनाहरूलाई कार्यान्वयन गर्ने जिम्मेवारी आफ्नो भएको बताए । योजना प्रमुख भण्डारीले भने,‘हाम्रो काम योजनाहरू कार्यान्वयन गर्ने हो, केन्द्रीय कार्ययोजना अनुसार विभागबाट आएका योजनालाई हामीले अगाडि बढाउने हो, त्यसअघि बनेका झोलुङगे पुललाई कसरी र कहाँ व्यवस्थापन गर्ने, त्यो हाम्रो जिम्मेवारी होइन ।’

डुङ्गा देख्दा विगतको सम्झना

यसैबिच राजपुर गाउँपालिका–५ नौसहरा निवासी भगवानदिन यादवलाई डुङ्गा देख्दा डर लाग्छ । विगतको तुलनामा अहिले धेरै विकास भएपनि अहिले पनि केही ठाउँमा डुङ्गा चढ्नुपर्ने बाध्यताले आफूलाई विगतलाई सम्झाउने गरेको उनी बताउँछन् ।

जसले गर्दा बिर्सन खोज्दा पनि २० वर्ष अघिको राप्ती नदीको जहरे घाटमा डुङगा पल्टिदा ७÷८ जना मान्छे बगेर बेपत्ताको घट्नाले आफूलाई दुखी बनाउने गरेको उनी बताउँछन् । उनी भन्छन,‘त्यो दिन सम्झिदा मन अमिलो हुन्छ, बजार हिडेका मानिस डुङ्गा पल्टिदा बेपत्ता भए, नदी ठुलो भएकाले कसैलाई बचाउन सकिएन ।’ लमही नगरपालिका– ८ निवासी छेदिराम यादवको पनि जग्गा राप्ती नदी पारी रहेको छ । अहिले पुलबाट खेती गर्न जाने आउने गरे पनि पहिले नदी तरेरै जानुपर्ने बाध्यता थियो । त्यो बेला आफ्ना खेती गर्न भनेर राप्ती पारी लगेका गोरु राप्ती नदीमा आएको बाढीले बगाएको थियो ।

लमहीनगरपालिका–८ का जहरे, बाघखोली, बिजुलीपुर, खोलीगाउँ, दमारा र असानीका स्थानीयका बिघौ बिगाह जग्गा राप्ती नदीपारी रहेको छ । वर्षामा खेतीपाती गर्न राप्ती नदी पार गरेर जानु पर्ने बाध्यता छ । पुल थिएन, राप्तीमा डुङ्गा चल्थ्यो । तर पुल बनेपछि अहिले धेरै सहजता भएको स्थानीय बताउँछन् । तर एकै ठाउँमा दुई वटा पुलहरू बषौर्सम्म पनि रहिरहँदा स्थानीय पनि अचम्ममा परेका छन् । कुनै बेला एउटासम्म पुल नभएको ठाउँमा अहिले बर्षाैसम्म पनि दुई वटा पुलहरू हुँदा झोलुङगे पुल प्रयोग विहीन अवस्थामा भएको स्थानीय बताउँछन् । अझै पनि लमही नगरपालिकाको पैते–गंगदी र तरुले–राताकाँशको राप्ती घाटमा डुङ्गा सञ्चालनमा छ्न ।