बिजौरी, १५ साउन । तुलसीपुर उपमहानगरपालिकाको पूर्वतर्फको मुखमै रहेको बिजौरी बजारलाई समृद्ध बनाउन ग्वारखोलामा हाइड्याम र बिजौरी—दहवन होलेरी सडकको आवश्यकता औल्याउँदै गर्दा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनराज मास्कीले ती दुई विकल्पमा एक मात्र सम्भव हुने बताएका छन् ।
बिजौरी उद्योग वाणिज्य संघले आइतवार आफ्नै कार्यकक्षमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिए । संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रेमनाथ योगीले बिजौरीलाई व्यापारीक केन्द्र बनाउनका लागि पूर्वपश्चिम राजमार्गको जलकुण्डी हुँदै बिजौरी, दहवन र होलेरी जोड्ने सडकको स्तरोन्नतीको माग राखेका थिए ।
साथै उनले यस क्षेत्रको समृद्धिका लागि बिजौरी—छिल्लीकोट पर्यटकीय मार्गको निर्माणमा पनि प्रदेश सरकारको सहयोगको अपेक्षा गरे । प्रतिउत्तरमा अर्थमन्त्री मास्कीले लुम्बिनी प्रदेश सरकारले अहिले दाङलाई समृद्ध बनाउन जिल्लाकै गौरवको योजना ग्वारखोला हाइड्यामको योजना ल्याएकाले यहि क्षेत्रबाट बिजौरी दहवन सडक स्तरोन्नती प्राविधिक रूपले सम्भव नभएको बताए । ‘हामीले यहि स्थानमा ग्वारखोला हाइड्यामका लागि डिपिआर गर्न बजेट समेत विनियोजन गरिसकेका छौँ, यहि क्षेत्रबाट बिजौरी—दहवन सडक स्तरोन्नती प्राविधिक रूपले सम्भव हुने छैन’, अर्थमन्त्री मास्कीले भने ।
सोही अवसरमा बोल्दै अर्थमन्त्री मास्कीले प्रदेश राजधानीलाई नितान्त आवश्यक हवाइ सेवा नियमितताका लागि तुलसीपुरको टरिगाउँ विमानस्थल आफैले स्तरोन्नतीको पहल गरेपनि त्यो प्राविधिक रूपले नमिल्ने अवस्था आएको पनि बताए । ‘हामीले एयरपोर्ट आफैले स्तरोन्नतीको जमर्को गयौँ, तर प्राविधिक रूपमा त्यो काम प्रदेश सरकारले गर्न मिल्दो रहेनछ’, मस्कीले भने । प्रदेश सरकारले हाल ग्लारखोला हाइड्यामको सम्भाव्यता अध्ययनका लागि एक करोड रूपैयाँ छुट्याएको छ । सोही जलाशय निर्माण भएमा यस क्षेत्रको सिँचाईको समस्या हल हुने उनले बताए । त्योसँगै खानेपानी, पर्यटनलगायत सोही क्षेत्रको जीवनस्तर सुधारमा टेवा पुग्ने उनको भनाई थियो ।
साथै उनले बिजौरी बजारको थप विकासका लागि प्रदेश सरकारले पहल थालेको बताए । थारु राजा दंगीशरणले राज गरेको सुकौराकोटको इतिहास जोगाउनका लागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको उनले बताए ।‘राजाले राज गरेको स्थानका थुपै्र अवशेषहरु छन, त्यसलाई हामीले विकास गर्नुपर्छ, त्यो भनेको इतिहास हो’,उनले भने,‘त्यसका लागि अहिले पनि आफूले बजेट छुट्याएको र आगामी वर्ष पनि छुट्याइनेछ ।’
थारु समुदायले नै दाङको मानव सभ्यताको इतिहास जोगाएको भन्दै थारु समुदायको इतिहासलाई जोगाउनु पर्ने उनको भनाई थियो । संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का अध्यक्ष प्रेमनाथ योगी, पूर्व सल्लाहकार विष्णु चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । वाणिज्य उपाध्यक्ष डिल्ली खत्रीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिव दिपक बस्नेतले गरेका थिए ।