प्रेस युनियनमा पाँच सदस्य मनोनित

गोरक्ष समाचारदाता
दाङ, १४ साउन । नेपाल प्रेस युनियन दाङको जिल्ला सदस्यमा पाँच जनालाई मनोनित गरिएको छ । शनिवार लमहीमा सम्पन्न युनियनको बैठकले आशिष केसी, प्रेम पुन, देवका परियार, मेघमान बुढा र ओमप्रकाश बसेललाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको हो ।

बैठकले सङ्घको जिल्ला सल्लाहकारमा तीन जनालाई थप गरेको छ । युनियनका पूर्व जिल्ला अध्यक्ष सुशील बस्नेत, उपाध्यक्षहरू बसुन्धरा गौतम र लीला शाहलाई सल्लाहकारमा चयन गरेको युनियन दाङका सचिव अमरक्षिति भण्डारीले जानकारी दिएका छन् ।

बैठकले प्रेस युनियनलाई चुस्तदुरुस्तसँगै कुनै तत्काल गर्नुपर्ने निर्णय गर्ने गरी प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समेत गठन गरेको छ । सचिवालय सदस्यमा गोपाल शर्मा भट्टराई, किरण शाह, पार्वती बस्नेत, अमरक्षितिज भण्डारी, लीलाधर वली, सन्तोष केसी, उमा भण्डारी, सुशीला वली, नारायण नेपाल, शिव पुन, हिमाल महरा, टेकबहादुर पुन, पूर्णप्रकाश विश्वकर्मा र नवराज घिमिरे छन् ।

बैठकले प्रेस युनियन दाङलाई सङ्गठित र क्रियाशील बनाउन प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको संयोजकत्वमा महिला विभाग गठन गरेको छ । सदस्यमा सुशीला वली, सपना पौडेल, देवका परियार र सदस्य सचिवमा उमा भण्डारी छन् ।

प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको बैठकमा प्रेस युनियनका केन्द्रीय सदस्य देवेन्द्र बस्नेतले युनियनलाई सङ्गठित र व्यवस्थित गराउँदै युनियनले पत्रकारका क्षमता अभिवृद्धिमा विशेष ध्यान दिन नेतृत्वलाई निर्देशन दिए । उनले त्यसका लागि अग्रज तथा नयाँ पुस्तासँग समन्वय गरेर अघि बढ्न सुझाव दिए ।

बैठकमा प्रेस युनियनका केन्द्रीय सदस्य अञ्जना चौधरीले प्रेस युनियनलाई जिल्लाको अग्रणि संस्थाका रूपमा विकास गर्न र लोकतन्त्रप्रति आस्थावान् पत्रकारकाबिचमा बलियो सहकार्य गर्न आग्रह गरिन् । बैठकको सहजीकरण जिल्ला सचिव भण्डारीले गरेका थिए ।