बालाराम खड्का
तुलसीपुर, १४ साउन । तुलसीपुरमा सुरु भएको स्मार्ट छोरी, बिहेवारी २० वर्ष पारी कार्यक्रम आर्थिककै कारण गोलमोटल हुन पुगेको हो । यहाँ सुरु भएको स्मार्ट छोरी कार्यक्रम स्थगित भएको भनिए पनि कार्यक्रम स्थगित नभएको पालिका केही अधिकारीको भनाइ छ ।
विसं २०७७ सालमा स्मार्ट छोरी, बिहेवारी २० वर्ष पारि कार्यक्रम सञ्चालन कार्यविधि २०७७ अन्तर्गत यो कार्यक्रम सुरु भएको थियो तर पछिल्लो समयमा तुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले असार १५ गते ‘स्मार्ट छोरी, बिहेवारी २० पारि’ कार्यक्रम विविध कारणले आर्थिक वर्ष २०८०÷०८१ का लागि स्थगन भएको सूचना जारी ग¥यो । त्यो सूचना नगरका १९ वटा वडामा पनि पठाइ सकिएको थियो ।
शाखा प्रमुख माया श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीको टिप्पणीमा मेयरको सदरमा आपूmहरूको शाखाले सूचना जारी गरी स्थगनको पत्र पठाएको बताइन् । उनले दुई वर्षका लागि २०८१÷०८२ का लागि होल्ड गर्ने भनेपछि आफूहरूले निर्देशनको पालना गरेर काम गरेको बताइन् । उनले स्मार्ट छोरीका लागि खाता खोल्न आउने गरेको र उनीहरूलाई समयमै जानकारी दिई खाता खोल्न आउने जाने खर्चको बचोस् भनेर पनि सूचना जारी गरेको बताइन् । ‘प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीको टिप्पणीमा नगर प्रमुख टीकाराम खड्काको निर्देशनपछि शखाले त्यस्तो सूचना जारी गरेको हो । ‘हाकिम र मेयरले यस्तो भनेपछि स्थगितको पत्र लेखेको हो, अहिले आएर हाम्रो दोष भन्न मिल्छ ?’, उनले भनिन् ।
पालिकाले आर्थिक अभावको कारण देखाउँदै कार्यक्रम रोकेको थियो । ०७७ साल साउन १ गतेदेखि लागु भएको कार्यक्रममा हालसम्म एक हजार बढी छोरीहरू समावेश भएका छन् । तीन वर्षको अवधिमा एक हजार ३५ जना समावेश भएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख श्रेष्ठले बताइन् । पालिकाले ०७७ साल साउन १ गतेदेखि खाता खोलेका छोरीको बैंक खातामा पैसा जम्मा गरेको थियो ।
आर्थिक वर्ष ०७८÷०७९ मा ५ सय ६५ जना छोरीहरूको खातामा मात्रै रकम जम्मा गरेको र गत आर्थिक वर्षमा करिब ४ सय ७० जना छोरीको बैंक खाता खोलिएको छ तर असार १५ गतेसम्ममा खाता खोलेका छोरीको खातामा पालिकाले रकम जम्मा गर्न नसकेको उनले बताइन् । यस अघि आन्तरिक स्रोतको रकम सङ्कलन नभएपछि आर्थिक अभावका कारण कार्यक्रम स्थगित गर्नुपरेको पालिकाका अधिकारीले जानकारी दिए पनि हाल भने यो कार्यक्रम नरोकिएको र निरन्तर चल्ने बताउँछन् ।
तुलसीपुर उपमहानगरपालिकाले बालविवाह रोक्न र छोरीको आर्थिक सामाजिक सशक्तिकरणका लागि ०७७ साल साउन १ गतेदेखि स्मार्ट छोरी कार्यक्रम लागु गरेको थियो । उपमहानगरपालिकाभित्र जन्मिएका छोरीहरूको बैंक खाता खोली २० वर्षको उमेरसम्म उपमहानगरले निश्चित रकम जम्मा गर्ने गरेको थियो । ‘कार्यक्रमलाई केही परिमार्जन गरेर लैजाने हो कि भन्ने कुरा चलेको हो, तपाईँले भने जस्तो कार्यक्रम नै रोकिएको होइन स्मार्ट छोरी’, –उपमहानगरपालिका सूचना अधिकारी बाबुराम न्यौपानेले भने ।
न्यौपानेले यस कार्यक्रमलाई छलफल गरी अब छिट्टै यसको केही कुरा परिमार्जन गरी कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले आर्थिक स्रोतको पनि जोहो हुने बताए । ‘कार्यक्रम रोकिएको छैन, नीति तथा कार्यक्रममा पनि आएको छ केही दिन अघि यस विषयमा पनि छलफल भएको छ’, उनले भने । उनले पनि बजेटको अलिकति अभाव भएको हुनाले केही समस्या भएको बताए । ‘अहिले जनप्रतिनिधिज्यूहरू छलफलमै हुनुहुन्छ, यसको सुनिश्चितता गर्नेमा पालिका लाग्छ’, सूचना अधिकारी न्यौपानेले भने । अहिले पैसा आन्तरिक स्रोतबाट उठेकाले यसलाई विरोधपछि भाषा फेरिए पनि महिला बालबालिका शाखालाई मेयर र प्रमुख प्रशासकीय अधिकृतको निर्देशनअनुसार सूचना जारी गर्न लगाएको एकथरिको बुझाइ छ ।
त्यस्तै तुलसीपुर–९ का वडाध्यक्ष तथा लेखा समितिका संयोजक घनश्याम ढकालले स्मार्ट छोरी कार्यक्रम स्थगनको विषयमा कार्यपालिकाबाट कुनै पनि निर्णय नभएको बताए । उनले नगरसभा र नीति तथा कार्यक्रमले समेत निरन्तरता दिने भनी निर्णय भएको बताए । ‘हामीले नगरसभा, नीति तथा कार्यक्रममा समेत यो विषयलाई समावेश गरेका छौँ तर एकाएक कसको आदेशले र कसरी स्थगित गरियो, यो कुरा थाहा भएन’, अध्यक्ष ढकालले भने । उनले उपसमितिको निर्णयानुसार यो कार्यक्रम रोक्नु भन्ने आदेश भएको हो कि के हो त्यस बारे पनि आफूलाई जानकारी नभएको सुनाए ।
उनले पनि पैसाकै अभावका कारण यो कार्यक्रमको विषयमा विभिन्न कुरा आएको हो कि भन्ने आशङ्का व्यक्त गरे । त्यस्तै पालिकाका कोही अधिकारीले भने पहिले पैसा अभाव भएका कारण कार्यक्रम सञ्चालन गर्नसक्ने भनेर आदेश दिएको र पछि आन्तरिक कर सङ्कलन भएको र व्यापक जनगुनासो आएपछि कार्यक्रमलाई निरन्तरता दिएको समेत आशङ्का व्यक्त गरे । ‘एक जना कर्मचारीले कुनै कारण आदेशबिना कसरी कार्यक्रम रोक्न सक्छ यो कुरा भएरै भएको होला’, पालिकाका एक अधिकारीले भने ।