लुम्बिनीमा आँखाको नानी निःशुल्क प्रत्यारोपण

गोरक्ष समाचारदाता
भालुवाङ, ११ साउन । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात् कर्नियाको अप्रेशन निःशुल्क गर्ने नयाँ कार्यक्रममार्फत् व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कार्यक्रम लागु गर्ने लुम्बिनी पहिलो प्रदेश हो ।

आँखाको ज्योति गुमाएर अन्धोपन भएकालाई सोही अवस्थामा बसिरहन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्री राजु खनालले बताए । कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागु गरिने स्वास्थ्य मन्त्री खनालले बताए । कर्नियाको निःशुल्क अप्रेसन गर्ने सहित मन्त्रालयले ल्याएको नयाँ कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि बनाउने प्रक्रिया सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभइ अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम शोधभर्ना गर्ने गरी कार्यविधि तयार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विभिन्न कारणले आँखाको ज्योति गुमाउन पुग्नेका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने विश्वास मन्त्रालयको रहेको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले बताए । लुम्बिनी प्रदेशमा आँखाको ज्योति गुमाएका धेरै रकम अभावका कारण नानी प्रत्यारोपण गर्न नसकेर अहिले पनि अन्धोपनका साथ घरमा बसिरहेको अवस्था छ ।