हाम्रो भविष्य कता मोडिँदै छ ?

नारायणप्रसाद श्रेष्ठ
भुस्वर्गको रुपमा परिचित कहिले कसैको अधिनमा नरहि युगौदेखि आफ्नै स्वाभिमान र पौरखले सिर्जेको नेपालको अवस्था वर्तमानमा निकै उकुशमुकुश भएर गुज्रदै छ । हिन्दु राष्ट्रको पहिचान बोकी स्वाधिन र स्वतन्त्र राष्ट्रको रुपमा विश्व सामु चिनिएको नेपालको ऐतिहासिक धार्मिक र सांस्कृतिक पहिचान मुठ्ठीभर छदमभेषी राजनैतिक नेतृत्वको क्षणिक स्वार्थले अहिले नेपालको अवस्था निकै नाजुक बन्दै गएको छ ।

वीर गोर्खालीको नामले परिचित नेपाली शाहस र वीरतालाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न शक्तिराष्ट्रहरु एक अर्कामा जोडबल गरिरहेको अवस्था छ । धम्काएर हुन्छ वा किनेर हुन्छ नेता खरिद गर्ने क्रममा शक्तिराष्ट्रबिच होडबाजी छ । खानी र अपार जल भण्डार भएको नेपालको प्राकृतिक सुन्दरतालाई कसरी आफ्नो वशमा पार्ने यसतर्फ सबैको चासो छ ।

विश्वमा रहेका हिम शिखरमध्ये सबैभन्दा अग्लो हिम शिखर रहेको सगरमाथाको देश, हिमाल पहाड र तराइ भएर विविध धर्म र संस्कृति भएर पनि एक शुत्रमा बाँधिएको नेपालको प्राकृतिक सौन्दर्यले मन्त्रमुग्ध भएका विदेशीका आँखा नेपालको स्वतन्त्र अस्तित्वप्रति माखे दाउ गर्न कुनै अस्वाभाविक नभएपनि मुठ्ठी भरेका केही नेताको स्वार्थले नेपाल विस्तारै–विस्तारै पराधिन हुन लागेको देखिन्छ ।

कोही कसैको मोह र वहकावमा नलागि स्वतन्त्र र आफू खुसी बाचेका स्वाभिमानी नेपाली अहिले अरुको पराधिनमा हुनुपर्ने त होइन ? बढी चिन्तित भएका छन् । हिजोको संस्कृति र संस्कार अनुसार आफूलाई परिचालन गरी अनुशासन र मानवीय मर्यादामा बाचेको नेपाली मन अहिले कुडिएको छ । गलत व्यक्तिको छनौट र जिम्मेवारी सुम्पेको कारण नेपाली जनता आफै पछुताइरहेको अवस्था छ । कालु पाण्डे तथा वीर भक्ती थापाको अदम्य शाहस र अरणीको जस्ता विभूतिका सन्तान नेपालीको मन अहिले विचलित हुने अवस्था देखिएको छ ।

उकाली ओराली भञ्याङ्ग चौतारीमा हुर्कि बढेको निस्वार्थ नेपाली आचरण नेतृत्वको गलत रवैयाले डगमगाउँदै गएको छ । शान्त र अदम्य शाहस बोकेर आफ्नो राष्ट्रिय स्वाभिमानलाई बचाई अघि बढेको हाम्रो आदर्श संस्कार अरु कसैको रिमोटबाट चल्दै गरेको त हैन ? अहिले गम्भीर प्रश्न उठिरहेको छ । संस्कृति र शिक्षालाई तहशनहस गरे यसको सार्वभौमिकता मेरो र हाम्रो इसारामा चल्छ भनी कुटिल राजनैतिक चाल सिर्जना गरी विछ्याएको जालमा नेपाल विस्तारै फस्दै गएको देखिन्छ ।

नयाँ शिक्षा प्रणालीले तहशनहस हुन लागेको शैक्षिक वातावरणलाई विस्तारै लयमा ल्याउन कम्मर कसेका नेपालीलाई धर्म निरपेक्षको नाममा अर्को बज्रपात परेको महसुस हुँदैछ । धार्मिक र सांस्कृतिक संस्कारले बाँधिएको नेपालको मर्यादित आचरण र आनीबानीमा धमिराको काम हुँदै गरेको अवस्था अहिले वर्तमानमा देखा पर्दैछ । स्वास्थ्य र शिक्षा जस्तो जीवनमा अपरिहार्य नभइ नहुने अत्यावश्यक कुरामा समेत व्यापार व्यवसाय हुँदैछ ।

शिक्षा र स्वास्थ्यलाई सरकारले स्वयम् व्यापारिकरण गर्दैछ । शाहस र वीरताले बाँचेको नेपाली मनलाई रकममा सटही गरी दशैमा देखिने बलीको बोका झै भाउताउ गरी मन्छयाउने दुस्साहस गरिदै छ । नेपालीलाई विभिन्न बहानामा बेच्ने गरिँदै छ । नीति र नैतिकताभन्दा पैसा र शक्तिको होडबाजीमा नेतृत्वले जनता बेचिरहेका छन् । शान्तीप्रिय नेपाली आचरणलाई विध्वेस आकर्षित गर्न विकाउ नेता कम्मर कसेर लागेको देखिँदै छ ।

यसैमाथि त भन्दा म के कम भनी नेपाली मनलाई खरिद गर्न विदेशी शक्तिराष्ट्रहरु विभिन्न बहानामा तछाड–मछाड गर्दै प्रवेश गरेको देखिन्छ । केही वर्ष पहिले ऋणमा नडुबेको नेपाल अहिले ऋणमा चुल्र्लुम्म डुबेको छ । नेपालीलाई गर्भैमा ऋणको भार बोक्न पर्ने देखिएको छ । देशको अर्थतन्त्र बाह्य राष्ट्रको ऋणमा चलायमान भइरहेको देखिन्छ । यस्तो अवस्था आउँदा पनि नेता मख्ख परेर उनैको चाकडीमा लागिरहेका छन् ।

विधिको विधान यस्तै हो वा नेपाली नेताहरु यस्तै हुन् । यो गम्भीर विषय प्रश्नको रुपमा देखा पर्नु विडम्बना मान्नुपर्छ । दुःख लाग्दो विषय पराधिन नभएर बाँचेको नेपालको सार्वभौम सत्ता अहिले अरुको रिमोटमा चल्दै गरेको देखिँदै छ । केटाकेटीलाई फुल्याउन प्रयोग गरिने स–साना मिठाइका डल्ला दिए झै जनतालाई भुलाउन ललिपप बाटी पन्छाउने कोसिस गरिँदै छ ।

संविधान नेपाल र नेपालीको हक खातिर ल्याइएको भनी फलाक्दै हिड्ने छदमभेषिहरुले सार्वभौम अधिकार जनतामा निहित छ भनी भन्दै हिड्ने र राज्य सयन्त्र व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अरुकै इसारामा चलाउँदै जाने हो भने जनता सार्वभौम भएकी दाश ? नेपाल र नेपालीको पहिचान, राष्ट्र र राष्ट्रियता प्रतिको नेपाली विश्वास अरुको निगाहामा चलाउँदै जाने हो भने यसले कस्तो परिणाम ल्याउला ?

के नेताले नबुझेका हुन् ? ९६,९७ सालमा राष्ट्रिय स्वाभिमानको लागि शहिद बनेका वीर नेपाली सपुतले के त्यसै रगत बगाएका हुन् ? विपि र गणेशमान, पुष्पलाल र मदन भण्डारी मरीचमान जस्ता दुरदर्शी नेताको राष्ट्र प्रतिको बफादारी के देखावटी हो ? राष्ट्र रहे राज्य सत्ता भनी राष्ट्र र राष्ट्रियताप्रति बफादार रहेका व्यक्ति के पराइ हुन् ? राष्ट्र र राष्ट्रियतालाई आफ्नो अमूल्य सम्पत्ति ठानी संरक्षण गर्ने र कसैको अगाडि नझुक्ने राजा वीरेन्द्र र पूर्व प्रम मरीचमान के राष्ट्र भक्त थिएनन् र ?

वंशै नाश हुने गरी सुरक्षा घेराभित्रका राजाको हत्याहुँदा पनि हत्यारा पत्ता लगाउन नसक्नु, राष्ट्रिय सम्पत्ति कौडीको भाउमा विक्री वितरण गर्ने नेता के नेपाली रगत पसिनाका उपज हुन् र ? अनैतिक कार्य गरी व्यक्तिगत स्वार्थपूर्ति गर्ने नेता के सच्चा राष्ट्रभक्त हुन् ? यी र यस्तै प्रश्नहरु अहिले समाजमा उठिरहेका छन् । हुनत यतिकुरा गर्दा यस्तो विचार प्रतिगामीको हुन सक्छ भनी कोही कसैले नभन्लान् भन्न सकिन्न तर सत्य सधै सत्य नै रहने सत्यलाई कदापि भुल्नु हुँदैन ।

देशको अवस्था र राजनैतिक नेतृत्वले देखाएको अकर्मन्यतालाई चिर्दै अहिले नेपाललाई शान्ति क्षेत्र बनाउने कुरा तल्लो निकाय गाउँ समाजबाट उठाइँदै छ । शान्ति र शहिष्णुतामा बाँचेको नेपाली आदर्शमा कोही कसैको हस्तक्षप स्वीकार्य हुँदैन भनी आवाज उठिरहेको छ । नेपाल रहे नेपाली भन्ने आवाजसँगै राष्ट्रिय चिन्तन र बहश उठाउन युवा जुरमुराइरहेका छन् ।

तसर्थ यस अवस्थामा सबैले एकपटक आफ्नो जमिनको माटो उठाइ आफैले हेरी सच्चीनु पर्ने अवस्था आएको छ । एकमुठ्ठी माटो समाइ मातृभूमि प्रतिको आफ्नो जिम्मेवारी निभाउन कसम खानु परेको छ । बहुमत र अल्पमतको राजनैतिक बखेडा झिकेर राष्ट्रिय स्वाभिमान बेच्ने जुन किसिमको क्रियाकलाप भइरहेको छ । वास्तवमा यो राष्ट्रको लागि धोका हो । यो किमार्थ राम्रो कुरा होइन राष्ट्रको सार्वभौमिकता र अखण्डता बचाइ सच्चा र इमान्दार राष्ट्रसेवक बन्नु अहिले सबैको जिम्मेवारी हो ।

क्षणिक स्वार्थमा राष्ट्रिय अस्मितालाई रकम र स्वार्थमा सटही गर्ने प्रवृत्ति देखाउनु भनेको राष्ट्रघात गर्नु हो । यो सार्वभौम नेपालीलाई सहय विषय होइन ? त्यसैले वर्तमानमा बढ्दै गरेको अराजनीतिक परिपक्वता वैदेशिकहस्तक्षपलाई कम गर्न नेतृत्व सच्चीनु नै पर्छ । राष्ट्रिय स्वाधिनता बचाउन पद पैसा सत्ता मा होइन राष्ट्रिय स्वाभिमानी नेपाली हैशियत प्रदर्शन गर्नु परेको छ । म मरे पनि मेरो देश बाचिरहोस् भनी मन, वचन र कर्मले आफूलाई सच्याउनु परेको छ ।

नेपाली शान्त र स्वतन्त्र पूर्वक बाँच्न चाहान्छौँ नेपाली जनता कसैका कमरा नोकर होइनन् यो ख्याल गर्नुपर्दछ । वर्षौदेखि स्वतन्त्र र स्वाभिमानी भएर बाचेको नेपाली आदर्श अझै पनि जिवितै छ । आफ्नो भविष्य आफैले निर्माण गर्न सक्षम नेपाली मन अहिले पनि कसैको अधिनमा बस्न चाहादैनन् । इतिहासको कठिन अवस्थामा पनि कोही कसैको अधिनमा नरही स्वतन्त्र भएर आफ्नो सार्वभौम अधिकारलाई संरक्षण गर्दै अघि बढेको नेपाल र नेपाली आदर्श अहिलेसम्म जिवित छ ।

शरीरमा १ थोपा रगत रहेसम्म पनि राष्ट्रिय स्वाभिमान बचाउन लागि परेका नेपाली वीरताको इतिहास अहिले पनि उत्तिकै जोस र जागरका साथ अघि बढेको छ । बढ्दै छ । यसको हेक्का राखौँ । नेपाली शीर झुकाउन जादैनन् । यस्तो गर्ने गराउनेलाई पनि छोड्दैनन् यो सबैले बुझौँ । बुझ्नेले बुझ पचाउने काम नगरौँ ।