शिवराज खनाल
लमही, ६ साउन । लमही नगरपालिका–५ का धु्रवराज सुवेदीले दुई हजार ब्रोइलर कुखुरा पालेका छन् । उनले विगत २ वर्षदेखि कुखुरा पाल्दै आएका हुन् । दुई वर्षको अवधिमा कहिल्यै गर्मीका कारण कुखुरामा समस्या आएको थिएन तर विगत चार÷पाँच दिनको अवधिमा उनको फार्ममा पालिएका ४ सयभन्दा बढी कुखुरा मरिसकेका छन् । अत्यधिक गर्मीका कारण फार्ममा पालिएका कुखुरा मर्न थालेको उनले बताए । ‘भर्खरै बेच्ने समय हुन थालेको थियो । भटाभट कुखुरा मर्न थाले अब मरेका कुखुरा कहाँ फालौँ भन्ने चिन्ता भएको छ’ सुवेदीले भने ।
सुवेदीको मात्र होइन । लमही नगरपालिका–६ मा रहेको शिवा कृषि फार्ममा ४÷५ दिनको अवधिमा २ सयभन्दा बढी कुखुरा मरिसकेका छन् । पानी नपरेका कारण गर्मी बढेपछि कुखुरा मर्न थालेका हुन् । केही दिन अघिसम्म पानी परेर मौसम अनुकूल थियो । गर्मी खेप्न नसकेपछि फार्मका कुखुरा भकाभक मर्न थालेका हुन् । जिल्लामा केही दिन यता गर्मी बढेको छ ।
शिवा कृषि फार्मका सञ्चालक टार्जन चौधरीकाअनुसार पहिलो दिन बुधवार १८ वटा कुखुरा मरे । दोस्रो दिन २५ मरे भने अहिलेसम्म सबैभन्दा धेरै एकै दिनमा ४८ वटा मरिसकेका छन् । अन्य केही मर्ने अवस्थामा पुगेका छन् । ‘विदेश जानुभन्दा स्वदेशमै केही गरौँ भनेर कुखुरा पाल्न आफन्तीसँग ऋण धनको जोहो गरेर ब्रोइलर पालन सुरु गरेको थिएँ, कुखुरा मरेपछि ऋण कसरी तिर्ने भन्ने समस्या भएको छ’, चौधरीले भने ।
सुरुमा कुखुरा झोक्राउने, खुट्टा नटेक्ने र सुतेपछि केही समयपछि मर्ने गरेका छन् । कुखुरा मर्न थालेपछि ग्लुकोज पानी, कागती पानी दिन थालेको कुखुरापालक बताउँछन् । फार्ममा अचानक कुखुरा मरेपछि कुखुरा ल्यावमा लगेर जाँच गराउँदा अन्य केही रोग नदेखिएको तर उच्च तापका कारण मरेको चिकित्सकको भनाइ छ ।
‘दैनिक कुखुरापालक किसान मरेको कुखुरा लिएर पोस्टमार्टमका लागि किसान आउनुहुन्छ, कुखुरा मर्नुमा पहिलो कारण अत्यधिक गर्मी नै हो’, पशुपन्छी चिकित्सक डा. सुरज डागीले भने । लमही नगरपालिका पशु शाखा प्रमुख शिवराज न्यौपानेले कुखुरा मर्नुमा केही समय अगाडि रानीखेत भन्ने रोगको प्रकोपले भएको र यस बखत भने गर्मी, खानपिनले नै यो समस्या देखापरेको बताए ।