उज्यालो अभियान : १८९९ जनाले पाए नयाँ दृष्टि

गोरक्ष समाचारदाता
तुलसीपुर, ४ साउन । उज्यालो अभियानअन्तर्गत एक वर्षमा एक हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नयाँ दृष्टि पाएकाहरू नयाँ संसार देख्न पाएकोमा खुसी व्यक्त गर्छन् । नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय सरकारसँग आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको हो ।

मोतियाविन्दुका कारण पालिकाका जनता अन्धोपन हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वास्थ्य नीतिलाई समेत सहयोग पु¥याउने उद्देश्यले पालिकासँग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरी उज्यालो अभियान सञ्चालन गरिएको प्रमुख प्रशासक शम्शेर थापाले बताए । उनकाअनुसार एक हजार ८ सय ९९ जनालाई उज्यालो प्रदान गरिएको छ । पैसाको अभावका कारण कोही कसैले पनि अनाहकमा आँखाको ज्योति गुमाउन नपरोस् भन्ने मुख्य उद्देश्य रहेको उनले बताए ।

उज्यालो अभियानअन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा १ सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना, बबई गाउँपालिकामा ४९ जना र दंगीशरणमा एक सय जनाको मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले बताए ।

लमही आँखा अस्पतालले लमही नगरपालिका भित्रका ४ सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १० जना रापजपुर गाउँपालिका वडा नं ३ ले ५ जना र लमही नगरपालिका वडा नं. ६ ले ९ जनाको गरी ७ सय ३२ जना यस आर्थिक वर्षमा मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको नेत्र सहकायक बिमल घिमिरेले बताए । लमही आँखा अस्पतालले प्युठानको सरुमारानी गाउँपालिकामा समेत साझेदारीमार्फत उज्यालो अभियान पु¥याइ ४९ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको छ ।

छन्दकालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कृष्णनगर नगरपालिकाका वडा नंं. ३ देखि १२ वडा सम्ममा २ सय ५५ जना बिरामीको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको बाह्ेय कार्यक्रम सहसंयोजक हरि भण्डारीले बताए । कपिलस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा सय जना र शिवराज नगरपालिकामा ८० जना मोतियाविन्दुका बिरामीको आँखा शल्यक्रिया गरिएको छ ।

यस अभियानले दृष्टिविहिनताको न्यूनिकरण हुनुका साथै उज्यालो अभियानले आर्थिक अभाव तथा अन्य कारणले घरमै दृष्टिविहीन भएर बसेकालाई सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताए । ‘हामीले हुनेसँग लिने र नहुनेलाई आँखा उपचार सेवा दिने हो, त्यसमा पनि स्थानीय सरकारको पनि आँखा स्वास्थ्य सेवामा साझेदारी गरेर अगाडि बढऔँ भन्ने हाम्रो उद्देश्य हा’े, उनले भने ।

सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले पालिकामा रहेको अन्धोपन न्यूनिकरण गर्न आफूहरू लागेको बताए । गत आर्थिक वर्षमा करिब ४९ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको उनले बताए । अझै ३ सय २० जनाको शल्यक्रिया गर्नुपर्ने तथ्याङ्कले देखाएको र यस वर्ष आधा आँखा रोगीलाई शल्यक्रिया गरिने उनले बताए । दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि आँखा अस्पताल र आफूहरूको साझेदारीमा पहिलो पटक सञ्चालन गरेको अभियान प्रभावकारी भएको बताए । उनले उज्यालो आँखा कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइनेछ ।

सम्झौताभन्दा बढी मोतियाविन्दुका बिरामीको सल्यक्रिया वाफतको रकम आगामी आर्थिक वर्षमा भुक्तानी दिने गरी व्यवस्था मिलाइने नीति कार्यक्रममा समेत उल्लेख गरेको बताए । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा अन्य गाउँपालिका नगरपालिका र वडाले पनि यस अभियानलाई आगमी वर्षमा पनि निरन्तरता दिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ कार्यक्रमलाई सफल बनाउन सबै स्थानीय पालिकामा छलफल समेत भएको प्रमुख प्रशासक शम्शेर थापाले बताए ।