बालाराम खड्का
तुलसीपुर, ३ साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप डायलाइसिस मेसिन तथा एनआइसियु मेसिन जडान गरिएको छ । यो सँगै अब बिरामीलाई सहज भएको छ । डायलाइसिस सेवा लिने बिरामीका साथै बच्चाको लागि एनआइसियु सेवामा सहज भएको हो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गत वर्ष साउनमा ल्याइएका डायलाइसिस मेसिन जडान हुन सकेका थिएनन् । अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ८ वटा मेसिन पठाएका थियो तर जडानलाई आवश्यक पर्ने रकम, ठाउँको अभाव र जनशक्ति नभएको भन्दै ती मेसिन जडान हुन सकेका थिएनन् ।
पछिल्लो समय लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले जडानका लागि आवश्यक पर्ने बजेट रकम, १० जना स्टाफ नर्स र दुईजना कार्यालय सहयोगी पठाएसँगै मेसिन जडान भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए । ‘हामीले अहिले डायलाइसिस मेसिन जडान गरेका छौँ । आवश्यक जनशक्ति पनि पठाएको छ’, उनले भने ।
गत वर्ष आएका मेसिनमध्ये तीनवटा मेसिन बाँके लगिएको थियो । स्वास्थ्य मन्त्रालले पत्र लेखी त्यहाँ आएका मेसिनमध्य तीनवटा मेसिन बाँके पठाउने भनेपछि बाँके पठाएको र हाल ती मेसिन पनि फिर्ता आएको उनले बताए । फिर्ता आएका मेसिन समेत अहिले जडान भएको डा. अर्यालले बताए ।
मेसिन जडान भएसँगै बिरामीलाई सेवा दिन सहज भएको उनले बताए । अस्पतालमा नयाँ ८ वटा मेसिन जडान भएसँगै अब १३ वटा डायलाइसिस मेसिन अस्पतालसँग छन् । यस अघि पाँच वटा मेसिनमध्ये चारवटा मेसिनबाट मात्रै डायलाइसिस हुँदै आएको थियो । एउटा मेसिन बिग्रिएको थियो । हाल १० वटा मेसिनबाट डायलाइसिस भइरहेको अस्पतालका निमित्त मेसु डा. अर्यालले बताए ।
यस अघि २२ जना बिरामीलाई नियमित डायलाइसिस भइरहेकोमा हाल ४२ जनालाई डायलाइसिस हुने गरेको उनले बताए । त्यस्तै १२ वटा मेसिन चालु हातलमा रहेको र एउटा बिग्रिएको उनले बताए । त्यसको पनि मर्मत भएको उनले बताए । सबै मेसिन चलेपछि करिब ८० जनाले डायलाइसिस सेवा पाउने भएका छन् । ‘अहिले हामीले आएका जनशक्ति केहीलाई सिकाइरहेका छौँ । हाल १० वटा डायलाइसिस मेसिन चलेका छन्’, उनले भने, ‘फूल फिलेजमा अब केही दिनमा १३ वटा मेसिन ३ सिफ्टमा चलाउने तयारी छ ।’
त्यस्तै यस अघि डाइलाइसिस मेसिन यहाँ प्राप्त नहुँदा यहाँका मृगौला पीडित बिरामी घोराही लमही तथा अन्य छिमेकी जिल्ला जानु पर्ने बाध्यता थियो तर अब यस अघि २२ जनाको डायलाइसिस हुँदै आएकोमा सबै मेसिनहरू चलेपछि ८० जनाले यही सेवा पाउने छन् । ‘अब हामीलाई पनि सहज हुने भएको छ’, डायलाइसिस गर्न आएका बिरामीका आफन्त सुदर्शन केसीले भने ।
त्यस्तै अस्पतालले बच्चाका लागि एनआइसियु मेसिन ४ वटा सञ्चालन गर्दै आएकोमा अहिले ४ वटा थप गरी ८ वटा सञ्चालनमा ल्याएको नि मेसु अर्यालले बताए । अब बालबालिकाका लागि पनि सेवामा सहज हुने भएको छ । यस अघिको भन्दा दोब्बरले सेवा पाउने छन् । अर्यालले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङले बिस्तारै अस्पतालबाट दिने सेवालाई गुणस्तरीय, प्रभावकारी, छिटोछरितो र सेवा थप विस्तार गर्दै गएको बताए ।
‘एक वर्ष अघि र अहिलेकोमा अहिले धेरै कुरा हामीले गरेका छौँ तर दरबन्दीअनुसारको जनशक्ति अभाव अहिले पनि छ’, उनले भने । ७२ जना जनशक्तिमा हाल ५२÷५३ जना मात्र भएको उनले बताए ।हाल १ सय ३५ बेड सहित सेवा दिएको अस्पताललाई प्रदेश सरकारले भने २ सय बेडको बनाउने भन्दै यस वर्ष ६ करोड रकम समेत विनियोजन गरेको छ ।
नि.मेसु अर्यालले प्रदेशले पनि अहिले अस्पतालको विकासका लागि चासो देखाएको भन्दै आफूहरूले प्रतिवेदन मन्त्रालयमा पठाएको बताए । उनले करिब ३० करोडको खर्च लाग्ने गरी खाका तयार पारी पठाएको बताए ।