अनुदानको बिउमा फल नलाग्दा किसान समस्यामा

शिवराज खनाल
देउखुरी, २ साउन । देउखुरीको लमही नगरपालिका–६ कुलमोहरका डिलबहादुर आलेले १२ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्न थालेको अहिले तीन वर्ष भयो ।

कतार, दुबई, मलेसियालगायतका देशमा लामो समय काम गर्दै आएका डिलबहादुरले विगत तीन वर्षदेखि आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर तरकारी खेती गर्दै आएका छन् । आफ्नै माटोमा श्रम गर्ने निधो गरी स्वदेश फर्किेएका उनले जग्गा भाडामा लिएर व्यवसाय तरकारी खेती गर्दै आएका छन् । उनको १२ कठ्ठा जमिनमा काँक्राको बोटले छपक्कै छोपेको छ तर फल भने लागेको छैन, झाल मात्रै छ ।

काँक्रामा फल नलागेपछि व्यावसायिक काँक्राखेती गर्दै आएका आले अहिले समस्यामा परेका छन् । ‘उम्रन पनि राम्रै उम्रियो, फूल फुलेर झपक्कै छ तर फल्छ कि भन्दाभन्दै बोट पहेँलो हुन लागिसक्यो’, उनले भने, ‘बोटमा फल नलाग्दा मिहिनेत र लगानी खेर जाने अवस्थ आएको छ ।’ लमही नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा राधिका जातको काँक्राको बिउ आलेले रोपेका थिए ।

राधिका जातको काँक्रामा फल नलागेपछि यो वर्षको काक्राखेतीमा गरिएको श्रम खेर गएको उनले बताए । ‘राम्रो उत्पादन हुने र बिक्रीमा पनि समस्या हुँदैन कि भनेर काँक्रा खेती गरेको थिएँ’, उनले भने, ‘तर यो वर्ष काँक्राको फल नै लागेन ।’ मल्चिङ, मलको मूल्यसँगै मिहिनेत खेर गएको उनी बताउँछन् । एक सय ५० क्विन्टल काँक्रा विक्री गर्ने आशामा बसेका आले समस्यामा परेका छन् ।

लमही नगरपालिकाले भने अनुदानको बिउमा कुनै समस्या नरहेको बताएको छ । कृषि शाखाले अन्य किसानलाई पनि सोही बिउ दिएको र किसानबाट कुनै गुनासो नआएको जनाएको छ । ‘फल नलाग्नुमा बिउ मात्रैको दोष हुँदैन’, लमही नगरपालिका कृषि शाखा प्रमुख गंगा चौधरीले भने, ‘खेती गर्ने तरिकामा पनि भर पर्छ ।’ उनले एक ठाउँमा समस्या देखिए पनि अन्य ठाउँमा भने सोही बिउबाट राम्रो उत्पादन भएको बताए । बजार मूल्यभन्दा ५० प्रतिशत थोरै मूल्यमा कृषि उपज बिक्री गर्ने गरे पनि उत्पादन नहुँदा मारमा परेको कृषकहरू बताउँछन् ।

स्थानीय सरकारले उपलब्ध गराउने अनुदानका बिउको गुणस्तरलाई ख्यालमा राखेर मात्र कृषकलाई आवश्यक पर्ने बिउ खरिद गरिए यस्तो समस्याबाट किसानले छुटकरा पाउने निश्चित छ । यद्यापि काँक्राको बिउमा नै खराबी हो भने किसानले व्यहोर्नुपरेको क्षतिको पूर्ति राज्यले गर्नुपर्ने हुन्छ । त्यसतर्फ स्थानीय सरकारले गम्भीरतापूर्वक ध्यान दिन आवश्यक रहेको किसानहरू बताउँछन् ।