कांग्रेस जिल्ला सभापतिहरूको भेला

सुभाष न्यौपाने
इच्छा अनिच्छाका बिच नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला बिचको सम्बन्धमा निकटता आइरहेको भन्ने व्यापक भइरहेको बेलामा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको विशेष पहल तथा अन्त्य युवा नेताहरुको पहलमा नेपाली कांग्रेसले जिल्ला सभापतिलगायत नेताहरुको भेला पार्टी कार्यालय सानेपामा सम्पन्न भएको छ ।

जुन भेलाको निमित्त पार्टी सभापति शेरबहादुर देउवा इच्छुक थिएनन् तर यो व्यवस्थापन गर्ने काम महामन्त्रीहरुको जिम्मेवारी र अधिकारभित्रको कुरो पनि रहेको हुँदा उनीहरुको दबाबमा पार्टी सभापतिले जिल्ला सभापतिहरुको भेला बोलाएको भन्ने पनि सुनिन्छ । महामन्त्री दुई र युवा नेताहरु तथा पार्टी उपसभापति धनराज गुरुङहरुको प्रयासमा होटलमा बसेर पार्टी गतिविधिहरुको बारेमा अनौपचारिक बहस गर्नुभन्दा औपचारिक रुपमै पार्टीको कार्यक्रम आयोजना गरेर भेला गर्नु उपयुक्त हुने थियो ।

त्यहाँ नै आफ्ना विचारहरु राख्ने र कार्यक्रमलाई मूर्तरुप दिने उद्देश्यले असार २० गतेबाट सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेला असार २२ गते समापन पनि भयो । जुन भेलालाई पार्टी सभापति देउवाले सम्बोधन भने गरेनन् । सोही भेलाको दबाबबाटै होला पार्टी सभापतिले असार २६ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाए ।

पार्टीका महामन्त्रीलगायतका संस्थापन इतर पक्षका नेताहरुले विशेष महाधिवेशन बोलाउन माग गरिरहेको बेला आएको देउवा, कोइराला बिच बढ्दो निकटता भन्ने कुरा अहिले अफवाहमा परिणत भएको छ । स्वयम् कांग्रेस नेता डा. शेखर कोइरालाले भनेका छन् कि म कसरी शेरबहादुरजीको उत्तराधिकारी हुन सक्छुँ ? त्यो त केही मान्छेले न्यारेटिभ बनाएका मात्र हुन् । त्यो विषय तत्काल विशेष महाधिवेशनको मागलाई मत्थर पार्ने सड्यन्त्र पनि हुनसक्छ ।

नेपाली कांग्रेसका कार्यकर्ता तथा कांग्रेस शुभचिन्तकहरु भन्छन् – पार्टीका गतिविधि तथा नीतिको बारेमा व्यापक रुपमा बहस गर तर इगो राखेर विवादमा नजाऊ । जसले न सङ्गठनको हित गर्छ न त नेतृत्वको नै । सभापति भनेको सङ्गठनको मियो हो । उसले आफ्नो रफ्तारलाई दुई÷चार कदम अगाडि वा पछाडि गर्न सक्छ तर त्यो अगुवा मियो थपक्कै बसिदियो भने बाँकी दायाँ–बायाँकाले त दाइँ मार्न सक्दैनन् नि ।

सभापति र पदाधिकारी भएर मात्र सङ्गठन हुन्छ ? खोई आम कार्यकर्ता र नागरिकलाई नेपाली कांग्रेसले सकारात्मक रुपमा सम्बोधन गर्न सकेको ? कुनै व्यक्तिलाई केही कुरा चित्त बुझेन भन्दैमा कार्यक्रमकै आयोजना नगर्ने ? यसरी त सङ्गठन चल्दैन, हुँदैन । मुलुक, नागरिक र सङ्गठनलाई ‘भाँडमा जाय’ भनेर कुनै पनि नेता चल्न खोज्छ भने अब जनताले साथ दिनेवाला छैनन् । तसर्थ, सङ्गठनभित्र पनि व्यक्तिका व्यक्तिगत धारणा हुन्छन्, ती विषयलाई बहसमा ल्याएर त्यही माझ्ने व्यवस्था गर्नुप¥यो, त्यही सफा गर्नुप¥यो न कि त्यो भाँडोको पिँधमा कालो रहनु भएन ।

भेलाका अधिकांश सदस्यले विशेष महाधिवेशन अर्थात्, नीति महाधिवेशनको माग गरेका थिए । नेपाली कांगे्रेसका जिल्ला सभापतिहरुको दुईदिने भेलामा केन्द्रीय नेतृत्वको कार्यशैलीप्रति प्रश्नहरु उठाउँदै प्रश्न चाङहरुमा भनेका छन् – पार्टी नेतृत्वले भ्रष्टाचारीलाई किन संरक्षण गरेको ? मन्त्री बनेपछि नेताहरुको कार्यशैली किन फेरिएको ? सरकार र पार्टीबिच समन्वय हुन किन नसकेको ? चुनावमा पार्टी विरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्नुको साटो किन पुरस्कृत गरेको ?

पार्टी सरकारमा रहँदा पनि जनताको सरोकारका विषयमा जोडिन नसक्नु मन्त्री बन्नेबित्तिकै पार्टी र पार्टीको घोषणापत्रलाई बिर्सनु जनप्रतिनिधि र पार्टी बिच समन्वय नहुनु, जनता र पार्टी बिचको दूरी बढ्दै जानु, पार्टी सत्तामा भए पनि त्यसको अनुभूत कार्यकर्तामा नहुनु, जसले गर्दा विकास निर्माण र योजना कार्यान्वयनमा जानको लागि अप्ठेरोझैँ रहेको छ । कस्तो विडम्बनाको लोकतन्त्र विकास निर्माणका निमित्त पनि पहुँच चाहिने ?

नेपाली कांगे्रस सरकारमा पुग्दा जबसम्म जनसरोकारका विषयसँग जोडिन्न तबसम्म कांग्रेस सुध्रिँदैन । उक्त बैठकमा ४२ जिल्लाका सभापति तथा १८ जिल्लाका प्रतिनिधिहरु गरेर ६० जिल्लाबाट उपस्थिति थियो । पार्टी सभापतिलाई जानकारी नै नदिई महामन्त्रीहरुको दबाबमा मात्र यो भेला बोलाइएको भन्दै पार्टी संस्थापन पक्षका केही सभापतिहरु अनुपस्थित थिए भने उपस्थित धेरैजसो सभापति तथा प्रतिनिधिहरुले अर्थमन्त्रीको आलोचना र विरोध गरेका थिए । पार्टीमा केन्द्रीय नेतृत्व चयनमा क्रियाशील सदस्यको ठूलो हात हुने हुँदा पार्टीभित्र सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम सधैँ विवादास्पद बन्दै आएको छ ।

सोही विवादका कारण गत स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारले कतिपय पालिकाहरुमा नेपाली कांग्रेसको पकड रहँदारहँदै पनि झिनो मतले हाम्रा उम्मेदवारले पराजय भोगेको पनि स्पष्टै छ । सदस्यता वितरण, नवीकरणका विषय जसरी पार्टी नेतृत्वले हस्तक्षप गरेर सोही अनुसार आफ्नो अनुकूलका प्रतिनिधिहरु निर्वाचित गराउन गरिने हस्तक्षपकारी प्रवृत्तिले पनि पार्टीमा द्वन्द्व र विग्रह ल्याएको छ । जबसम्म यस्तो प्रवृत्तिको अन्त्य हुँदैन तबसम्म एकापसमा सद्भाव र समन्वय पनि कायम नहुनसक्छ ।

उपस्थित जिल्ला सभापतिहरुले पार्टीका केन्द्रीय सभापतिले जिल्ला सभापतिहरुको भेलालाई महत्व नदिनुको कारण के ? भनेर पनि प्रश्न गरेका थिए । देशभरिका जिल्ला सभापतिहरु पाटीृको विषयमा चिन्ता बोकेर पार्टी हितका निमित्त उपस्थित हुँदा केन्द्रीय सभापति उपस्थित नहुनुको कारण के ? भनेर पनि प्रश्न गरेका थिए । सङ्गठन सुदृढीकरण र विस्तारका निमित्त केन्द्रदेखि तलसम्मका सबै तहलाई अवसर र चुनौती दुवै थपिएको छ ।

इतिहास बोकेको पार्टी नेपाली कांग्रेस आफैमा कलहमा रुमलिरहँदा नयाँ भर्खर मात्र गठन भएका राजनैतिक दलहरु रास्वपा, जनमुक्ति आदि नाम गरेका राजनैतिक दलहरुलाई फस्टाउन र गतिशील बन्नको लागि राम्रो अवसर मिलिरहेको छ । नेपाली कांग्रेस ४८ विभागमध्ये प्रचारप्रसार बाहेक सबै विभागहरु खाली छन् । पार्टीको कोषाध्यक्ष सहित पार्टीको केन्द्रीय समितिमा ९ जना सदस्इ मनोनयन गर्न बाँकी नै छ ।

अब भन्नुस् यो कहिले पूरा होला ? १५औँ महाधिवेशन पछाडि ? १४औँ महाधिवेशनको उपलब्धि भनेको केन्द्रीय कार्यसम्पादन समिति तथा संसदीय समिति अपूर्ण हुनु भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन हुन नसक्नु नै मानिएका छन् । तरुण दल, नेविसङ्घ, महिला सङ्घ जस्ता पार्टी राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने भ्रातृ सङ्गठनहरु वर्षौँदेखि तदर्थमा चल्दै आएका छन् । यी सबै विषयको जवाफ भेलामा उपस्थित जिल्ला सभापति तथा प्रतिनिधिहरुले मागिसकेका छन् । त्यसको जवाफ त नेतृत्व पंक्तिले दिनु पर्ला नि ?

कुनै पनि नेता कुनै पनि प्रकरणमा थुनुवामा रह्यो भने अर्थात् जेल प¥यो भने त्यो स्वतः निलम्बित हुन्छ । अदालतबाट फैसलामा सफाइ पाएमा स्वतः निलम्बन फुकुवा हुन्छ । यस्ता साना कुराहरुमा पनि प्रजातन्त्रको निमित्त योगदान र नेतृत्व गरेको पार्टीका नेताहरुले किन निर्णय लिन नसकेको ? यो समयमा पार्टीका कुनै पनि गतिविधि गर्न र गराउनको लागि पार्टीले गरेको निर्णयमा बालकृष्ण खाँडलाई हस्ताक्षर गराउन सक्छ, कांग्रेसले ? नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको असार २६ गते बोलाएको बैठक हाललाई स्थगन भएको छ ।

नेपाली कांग्रेसका नेता भन्नेहरु एकले अर्कालाई छिड्की लगाउने र खसाल्ने काममा मात्र उद्यत छन् । उनीहरुलाई आफू स्थापित हुने, आफू नेतृत्वमा रहने कुरामा मात्र चिन्तन छ, न कि उनीहरुलाई सङ्गठन के हो ? राष्ट्र के हो ? नागरिक के हो ? राजनीति के हो ? भन्ने विषयमा कुनै चिन्ता छैन । खेमा र समूहमा विभाजन गरेर जनता कार्यकर्तालाई आफ्नो वाहवाही गर्न लगाउने मात्र सोच लिएर नेपाली कांग्रेसको नेतृत्वपंक्ति अगाडि बढेको देखिन्छ ।

पार्टी सभापति शेरबहादुर देउवा समूहका नेताहरु जतिसुकै विद्वान् भए पनि उनीहरुमा पार्टी नेतृत्वको क्षमता भएका छैनन् । त्यसैले उनीहरु आफ्नो स्पष्ट धारणा राख्न सक्दैनन् र सधैँभरि देउवाको दौराको फेरो समातेर बस्न खोज्छन् । त्यसैले देउवाले गलत गरे पनि सही गरे पनि उनीहरु ताली बजाउने मात्र हुन् ।

उनीहरु चाहे पार्टीको अथवा सरकारको जतिसुकै महत्वपूर्ण ओहदामा हुन्, सभापति इतर समूह छ त्यहाँ जो जति चुरीफुरी गरे पनि त्यो कोइराला समूह नै हो । जसको नेतृत्व डा कोइरालाले गरिरहेका छन् । डायनामिक नेता कोइरालाको स्वभाव कस्तो भने पार्टीभित्र बहस र सामान्य विवाद हुँदासम्म उनी चुप लाग्छन् । त्यही बहस र विवादको कारण पार्टी वा देशमा सङ्कट आइपर्ने अवस्था देखे भने त्यसलाई आफ्नो तर्फबाट समाधान मा लैजानको लागि आफू अगाडि उभिन्छन् र सङ्गठन, राष्ट्र र राजनेतिक समस्या समाधान गर्नतर्फ अगाडि बढिरहेका हुन्छन् ।

सभापति देउवा पनि सङ्गठनका निमित्त सकारात्मक रहे पनि उनका विशेष आसेपासेहरु कमाउ खाउको धन्दामा मात्र सीमित रहेका कारण पनि सभापति देउवाको नाम विभिन्न भ्रष्टाचारका घटनामा जोडिन पुगेको छ । जसको कारण उनीहरुले पनि अपराधबाट उन्मुक्ति पाउने आशा राख्छन् र उनलाई समेत मुछिरहेका छन् । यसरी एउटा ऐतिहासिक राजनैतिक दलको नेता र उनका परिवारहरु भ्रष्टाचारयुक्त अनैतिक कार्यमा फसेका सन्देश फैलियो भने त्यस पार्टीले निर्वाचनमा कस्तो परिणाम ल्याउला ? सङ्गठनलाई चलायमान गराउन ती बाँकी रहेका ४८ विभागहरु मात्र पूरा हुने हो भने २ हजार ५ सय नेता कार्यकर्ताहरु परिचालित हुने देखिन्छ ।

त्यस्तै भ्रातृ सङ्गठनहरुको यथाशीघ्र अधिवेशन सम्पन्न गर्ने हो भने चुनिएर आएको नयाँ नेतृत्व चलायमान बनेर जानसक्छ । यहाँ त नेतृत्वमा कसले कसलाई ल्याउने भन्नेमा होडबाजी चलेको छ । कसैलाई कसैको विश्वास छैन । जबसम्म आफ्नो अनुकूलको व्यक्ति नेतृत्वमा आउने सम्भावना देखिँदैन तबसम्म इतर र मित्र दुवै पक्षमा सहमति हुन गाह्रो देखिन्छ । तसर्थ सङ्गठन पनि हाम्रो, भ्रातृ सङ्गठन पनि हाम्रो भन्ने धारणा जबसम्म सबै नेताहरुमा आउँदैन तबसम्म जतिसुकै बैठक र भेला बोलाए पनि नतिजा उही हो ।

त्यसैले नतिजाबिनाका कुनै पनि भेला तथा बैठक अर्थपूर्ण छैनन् । कांग्रेस कसैको पोल्टाको खाजा होइन, त्यसैले जसलाई नैतिक आचरणका साथ पार्टी नेतृत्व गर्न मन छ, बस्ने होइन भने पार्टीमा कार्यकर्ताले विद्रोह गर्नुपर्ने अवस्था आयो भने त्यसले कसैको लागि पनि राम्रो हुँदैन । समयको आवाश्यकतालाई हेरौँ, व्यक्तिको अनुकूलतालाई ग्रहण गर्न खोज्यौँ भने सङ्गठन धरापमा जानसक्छ । त्यसैले यी सबै कुरालाई मनन् गरेर अगाडि बढ्दा सबैको भलो हुनसक्छ ।