भुवन पोख्रेल
विकास विद्यमान अवस्थामा भइरहेको सकारात्मक परिवर्तन हो । विकास संसारको चासो वा सरोकारको विषय हो । विकासका लागि परापूर्वकालदेखि अहिलेको आधुनिक युगसम्म आइपुग्दा थुप्रै प्रयासहरु भइरहेका छन् । विशेष गरी दोस्रो विश्वयुद्ध पछि वा संयुक्त राष्ट्रसङ्घको स्थापना पछि व्यवस्थित रुपमा विकासका अन्तर्राष्ट्रिय प्रयासहरु भइरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घको अगुवाइमा भएका विभिन्न किसिमका सम्मेलनहरुले विकासलाई व्यापक बनाउने प्रयास गरेको देखिन्छ । नेपालमा जुद्धशमशेरको शासनकाल (वि.स. १९९०) तिरबाट व्यवस्थित विकास प्रयास भएको थियो । वि.स २०१३ सालदेखि पाँच वर्षे योजना बनाइ विकास कार्यहरु गर्ने परम्पराको थालनी भयो । हालसम्म आइपुग्दा पन्ध्रौँ योजना (आब २०७६÷७७– २०८०÷८१) मा आधारित गतिविधिहरु सञ्चालन भइरहेका छन् ।
सामान्यतया विकास भन्नाले वर्तमान अवस्थामा परिवर्तन आउनु हो । जस्तै व्यक्तिको आम्दानीमा वृद्धि हुनु, प्रतिव्यक्ति आय बढ्नु, समाजमा बाटो बन्नु, पुल बन्नु, कलकारखाना, उद्योगधन्दा खुल्नु विकासका उदाहरण हुन् । यस्ता कार्यलाई विकासको परम्परागत बुझाइका रुपमा लिन सकिन्छ । परम्परागत धारणाअनुसार आर्थिक वृद्धि र संस्थागत विकासलाई विकासको रुपमा लिने गरेको देखिन्छ ।
समय बित्दै जाँदा विकासलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउन थालेको छ । यसलाई सामाजिक, राजनैतिक, सांस्कृतिक पक्षमा हुने सकारात्मक परिवर्तनको रुपमा पनि हेर्न थालियो । पछिल्लो समयमा विकासलाई मानव क्षमताको विकासका रुपमा व्याख्या गरियो । अर्थशास्त्री तथा विकास विज्ञ अमात्र्य सेन (सन १९१९ ले) विकासलाई मानव क्षमतामा हुने वृद्धिको रुपमा व्याख्या गरे । उनले विकासलाई मानव स्वतन्त्रताको उपयोगको रुपमा समेत विकासका लागि पाँच किसिमका स्वतन्त्रता आवश्यक छन् भन्ने कुरामा जोड दिए ।
ती स्वतन्त्रता हुन् राजनैतिक स्वतन्त्रता, आर्थिक सुविधा प्राप्त गर्ने स्वतन्त्रता, सामाजिक अवसर प्राप्तिको स्वतन्त्रता, पारदर्शिता सुनिश्चित हुने स्वतन्त्रता र संरक्षण र सुरक्षा प्राप्त गर्ने स्वतन्त्रता । सेनकाअनुसार विकास भनेको मानिसको स्वतन्त्रता प्राप्त गर्ने क्षमता हो । विकास एउटा व्यापक धारणा हो । विकासका विभिन्न आयामहरु छन् । विकासको धारणाभित्र आर्थिक विकास, सामाजिक विकास, मानव क्षमता विकास, मानिसहरुको स्वतन्त्रता प्राप्ति, विकासका गतिविधिहरुमा पारदर्शिता र विकासको अवसरबाट लाभ लिन नसकेका जनसङ्ख्या तथा समूहरुलाई विशेष अवसर दिनुपर्ने विषय पनि विकासको परिभाषा अन्तर्गत पर्दछन् ।
यसैगरी अन्याय, अत्याचार, शोषण, उत्पीडन जस्ता गतिविधिबाट आम मानिसले मुक्ति प्राप्त गर्नु पनि विकास हो । यसरी नै मानिसलाई सामाजिक सम्मान प्राप्त हुनु, सार्वजनिक सेवाहरु जनताप्रति विशेष उत्तरदायी र प्रभावकारी हुनु र लोककल्याणकारी र जनउत्तरदायी शासन व्यवस्थाको स्थापना हुनु पनि विकास हो । विकास एक प्रक्रिया हो, जसद्वारा समाजका सदस्यले आफ्नो व्यक्तिगत र संस्थागत क्षमता बढाउनका लागि संसाधनहरुको परिचालन र व्यवस्थापन गर्न उनीहरुको आवश्यकता अनुरुप जीवनको गुणस्तरमा दिगो र उचित वितरणको सुधार गर्न सक्छन् ।
समाजमा बसोबास गर्ने सबै मानिसको कल्याण गर्ने किसिमको सामाजिक व्यवस्था स्थापना हुनु, सामाजिक गतिविधिहरु पारदर्शी र कल्याणकारी हुनु, व्यक्ति र समाजको आम्दानीमा वृद्धि हुनु, समाजमा समानता र समतामूलक अवस्था हुनु, समाजको गरिबी न्यूनिकरण हुनु, मानिसको योग्यता, क्षमता र चिन्तनमा सकारात्मक परिवर्तन हुनु, समाजमा मेलमिलाप, शान्ति, सामाजिक न्याय कायम हुनु, राज्य र नागरिकबिच सहकार्य हुनु, सबैले सम्मानपूर्ण जीवनयापन गर्ने अवस्था सिर्जना हुनु नै विकास हो । अतः विकास केवल आर्थिक उन्नति मात्र नभएर मानिस तथा समाजका विभिन्न पक्षमा आउने सकारात्मक परिवर्तन हो ।
विकास भनेको मानिस वा समाजको कुनै एक पक्षमा हुने परिवर्तन मात्र होइन । यो मानव समाजको बहुपक्षीय रुपान्तरण हो । विकास भन्ने शब्दले प्रगति, उन्नति वा पुरानो अवस्थाभन्दा उन्नत अवस्थामा रुपान्तरण हुनु भन्ने बुझिन्छ । जस्तैः आर्थिक उन्नतिद्वारा, शैक्षिक उन्नतिद्वारा वा राजनैतिक उन्नतिद्वारा वा सामाजिक गतिविधिद्वारा नयाँ–नयाँ उपलब्धिहरु प्राप्त गर्नु । परम्परागत धारणाअनुसार आर्थिक विकास भनेको मानिसको जीवनयापनका लागि आवश्यक पर्ने आर्थिक तथा भौतिक वस्तुहरु जस्तै रुपैयाँ, पैसा, अन्न, फलफूल, तरकारी घरायसी सामानहरु, सञ्चारका सामानहरु, औषधोपचार सेवालगायतका साधनहरु पर्याप्त उपलब्ध हुनु हो ।
जसबाट मानिसको जीवनयापन सरल र सहज हुन्छ र मानिसले सुखको अनुभूति गर्छ । यस्ता कुराहरुको उपलब्धताले समाजमा गरिबी घटाउन र मानिसको जीवनस्तरमा सुधार ल्याउन प्रयत्न गरेको हुन्छ । विकासको आधुनिक धारणाअनुसार राष्ट्रको उत्पादनमा वृद्धि हुनु, राष्ट्रिय आयममा वृद्धि हुनु, प्रतिव्यक्ति आम्दानीमा वृद्धि हुनु, मानिसको आधारभूत आवश्यकता पूरा हुनु, जीवनका भौतिक आवश्यकताहरु पूरा हुनु आदिलाई आर्थिक विकास भन्न थालिएको छ ।
आर्थिक स्रोत–साधन प्राप्त गर्नका लागि आवश्यक पर्ने ज्ञान, सीप, विकास गर्नका लागि शिक्षा र तालिमलगायतका सुविधामा वृद्धि हुनु, शिक्षामा गरिने लगानीको मात्रा बढ्नु, मानिसको उत्पादन क्षमतामा वृद्धि हुनु, समाजमा विद्यमान मूल्यमान्यता र रहनसहनमा क्रमिक सुधार आउनु आदि पनि आर्थिक विकासअन्तर्गत पर्दछ । अर्थशास्त्रीहरुले शिक्षा, स्वास्थ्य, खाद्यान्न, पोषण, साक्षरता, रोजगारीको अवस्था, आधारभूत आवश्यकताको अपयोग, यातायातको सुविधा, बासस्थानको व्यवस्था, मनोरञ्जनको उपलब्धता, सामाजिक असुरक्षाको प्रत्याभूति जस्ता कुराहरुलाई समेत आर्थिक विकासको रुपमा चित्रण गरेका छन् ।
अतः आर्थिक विकास भन्नु नै आर्थिक अवस्थामा सुधार हो । आर्थिक विकासले मानिसको जीवनको गुणस्तरमा सकारात्मक परिवर्तन ल्याउँछ । आर्थिक विकास एक प्रक्रिया हो । आर्थिक विकासले देशको वा समाजको समग्र विकासलाई असर पारेको हुन्छ । यदि आर्थिक विकास भएको छ भने सामाजिक, राजनैतिक, प्राविधिक र मानिसको क्षमताको विकासमा पनि सुधार हुन्छ । आर्थिक विकास भनेको मुद्रा स्फीतिमा नियन्त्रण हुनु (रुपैयाँ–पैसाको मूल्य वा त्यसको क्रयशक्ति नघट्नु) रोजगारीका अवसरहरु सिर्जना हुनु, दिगो विकासका गतिविधि सञ्चालन हुनु, आर्थिक विकासका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु जस्तै सडक, बजार, स्वास्थ्य सेवा, यातायात, सूचना प्रविधि आदिको विकास हुनु हो ।
व्यवसायको प्रबद्र्धन र समाजमा उत्पादन भएका सामग्रीहरुलाई बजारसम्म पु¥याउने, प्रविधिको विकास, हस्तान्तरण, जनताका आधारभूत आवश्यकता पूर्ति गर्ने कार्यमा आर्थिक विकासले जोड दिन्छ । राष्ट्रिय दृष्टिले हेर्दा आर्थिक विकासलाई कूलग्राह्यस्थ उत्पादन र कूल राष्ट्रिय उत्पादनमा वृद्धि हुनु भन्ने बुझिन्छ । कुनै एक निश्चित अवधिमा मुलुकभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोबार मूल्यको योगफललाई नै कूलग्राह्यस्थ उत्पादन (न्म्ए) भनिन्छ ।
जसमा सबै प्राइभेट तथा सार्वजनिक खपत, सरकारको खर्च, लगानी, मौज्दात सामग्री, निर्माणका क्रममा भएका खर्च, आयात–निर्यातमा भएको खर्च तथा आम्दानी पर्छन् । जिडिपीको गणना साधारण तथा वार्षिक रुपमा गरिन्छ । कूलग्राह्यस्थ उत्पादनले मुलुकभित्र भएको सम्पूर्ण आर्थिक कारोबारलाई जनाउँछ । कूल राष्ट्रिय उत्पादन जिडिपी भन्नाले कुनै पनि देशले निश्चित अवधिमा हासिल गरेको वस्तु तथा सेवाको कूल अनुमानित आयको गणना बुझिन्छ ।
कूल राष्ट्रिय उत्पादनमा सामान्यत व्यक्तिगत रुपमा खपत भएको खर्च, घरेलु औद्योगिक लगानी, सरकारी खर्च, खुद निर्यात र नेपालीले विदेशमा कमाएर भिœयाएको लगानी समावेश गरिएको हुन्छ । अतः समग्रमा राष्ट्र समृद्ध बन्दै जानु, राष्ट्रमा रोजगारीको अवसरहरु अझ विस्तार हुँदै जानु, कर सङ्कलनमा वृद्धि हुनु, जनताको जीवनस्तरमा क्रमिक सुधार आउँदै जानु आदि आर्थिक विकासका सूचक हुन् । जब राज्यले गरिबी, असमानता र बेरोजगारी घटेको वा निवारण भएको अनुभव गर्छ, त्यो नै आर्थिक विकास हो ।
जीवनस्तरमा दिगो सुधार हुनुलाई आर्थिक विकास भन्न सकिन्छ । यसअन्तर्गत प्रतिव्यक्ति आयमा वृद्धि, राम्रो शिक्षा र स्वास्थ्यका साथै वातावरण संरक्षण पनि पर्दछन् । आर्थिक विकास आफैमा साध्य होइन । हामीले अपेक्षा गरेको जीवन र हामीले रुचाएको स्वतन्त्रता प्राप्तिमा विकास अझ बढी केन्द्रित हुनुपर्छ । आर्थिक विकासको मूललक्ष्य आर्थिक सुधार हो । आर्थिक सुधार भन्नाले राष्ट्र वा समाज वा व्यक्ति वा सङ्घसंस्थाको आर्थिक सुधार भन्ने बुझिन्छ ।
आर्थिक विकासका लागि आवश्यक पूर्वशर्तमा प्रजातान्त्रिक कानुनी शासन, सुशासन, शान्ति र सुरक्षा, सामाजिक न्याय आदि मानिन्छन् । आर्थिक विकासका सूचकहरुमा गुणस्तरीय जीवनको प्राप्ति, राष्ट्रिय आयममा वृद्धि, प्रतिव्यक्ति आयममा वृद्धि, प्रतिव्यक्ति उपभोग, रोजगारी तथा आयआर्जनका अवसरमा वृद्धि, उत्पादनमा वृद्धि, बचत गर्ने क्षमतामा वृद्धि आदि ।
विकास भन्ने वित्तिकै हामी आर्थिक विकासमा मात्र केन्द्रित हुन्छौँ । विकास बहुपक्षीय विषय हो । विकासको व्यापक अवधारणा भएकाले यस धारणाभित्र, आर्थिक विकास, राजनैतिक विकास, सांस्कृतिक विकास, वातावरणीय विकास तथा लैङ्गिक विकासलगायतका पक्षहरु समेटिएका हुन्छन् । सामाजिक विकास पनि एक किसिमको रुपान्तरण हो । जसले समाजलाई पुरानो अवस्थाबाट नयाँ अवस्था र परिवेशमा परिवर्तन गर्दछ ।
सामाजिक विकास समाजमा विभिन्न किसिमका समस्याहरु जस्तैः अशिक्षा, बेरोजगारी, सामाजिक द्वन्द्व, हिंसा, हत्या, लागूपदार्थको दुरुपयोग, देह व्यापार, चोरी, अपहरण आदि जस्ता सामाजिक अपराध हुन्छन् । ती गतिविधिहरुले समाजमा सामाजिक समस्या सिर्जना गरेका हुन्छन् । त्यस्ता समस्याहरुको समाधान गर्दै समाजलाई शान्त, सुव्यवस्थित र न्यायपूर्ण बनाउनु नै सामाजिक विकास हो । यसको अर्थ समाजमा रहेका सबै वर्ग, जाति धर्म, लिङ्ग, क्षेत्र आदि समूहरुको मानव अधिकारलाई सुनिश्चित गर्नु नै सामाजिक विकास हो ।
अन्ततः जुनसुकै देशको आर्थिक, सामाजिक, सांस्कृतिक, रुपान्तरण र उत्थानका लागि त्यस देशमा उपलब्ध मानवहरुको विकास अर्थात् दक्ष, सक्षम र क्रियाशील जनसङ्ख्याको महत्वपूर्ण भूमिका हुन्छ । मानव अधिकार, आत्मप्रतिष्ठा, राजनैतिक, स्वतन्त्रता, स्वस्थ जीवन, स्रोतसाधनमा पहुँच, साक्षरता, मानिसका रुचि, चाहना र इच्छाहरुलाई पनि मानव विकास भनेको छ । मानव विकास हुनु भनेको मानिसको स्वस्थ शरीर, स्वस्थ दिमाग र सुखी जिन्दगी हो ।
मानिस विकासको सञ्चालक र विकासको सेवाग्राही दुवै हुन् । मानव विकास भनेको मानिसको क्षमता विकास हो । देशको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, परिवेशमा योगदान गर्न सक्ने, क्षमता विकास हुनु र विकासका गतिविधिमा नागरिकको पहँुच विकास गर्नु मानव विकास हो । मानव विकासमा नागरिकको आफ्नो इच्छा, आवश्यकता र परिवेश अनुकूल विकासको अवसर प्राप्त गर्दछन् ।