गोरक्ष समाचारदाता
तुलसीपुर, २४ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बलात्कार र महिला हिंसा विरुद्धको राष्ट्रिय सचेतना अभियान कार्यक्रमको उद्घाटन गरेका छन् । उनले सार्वजनिक यातायातका साधनमा जनचेतनामूलक ‘स्टिकर’ टाँसेर त्यसको सुरुवात गरेका हुन् ।
थर्डआई नेपालको आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्री चौधरीले अभियान एक दिनमात्र नभएर सधैँका लागि गर्नुपर्ने भदै त्यसमा सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले युवाहरूले गर्न लागेको यो अभियानलाई सार्थकता दिन पनि आग्रह गरे । ‘अभियान आज मात्र होइन, यो सधैँका लागि होस् । यसलाई सार्थकता दिन सबै लाग्नुहोस्, हाम्रो तर्फबाट पनि सहयोग हुन्छ’, मुख्यमन्त्री चौधरीले भने ।
उनले विकासमा राजनीति गर्न नहुने बताए । उनले सरकार पक्ष होस् वा प्रतिपक्ष, राम्रो कामका लागि राजनीति गर्न नहुने बताए । उनले जिल्ला तथा तुलसीपुर बनाउन सबै एक हुनुपर्ने भन्दै यो वा त्यो नाममा विभाजित हुँदा कुनै पनि विकास नहुने बताए ।
उनले तुलसीपुर बजारलाई कस्तो बनाउने, यहाँका सिँचाइ, बाटो, शिक्षा, स्वास्थ्यको विकास कसरी गर्ने भन्ने योजना लिएर प्रदेश सरकारमा आए आफू त्यसमा सहयोग गर्न तयार रहेको बताए । उनले घोराही तुलसीपुर सडकखण्ड आफूहरूले बनाउन नसक्ने भन्दै त्यसका लागि आफूले भारतका राजदूतसँग कुरा गरेको बताए । उनले सडकको टेण्डर छिट्टै हुने बताए ।
‘हामीले यहाँको एयरपोर्ट, शिक्षा, घोराही–तुलसीपुर सडक चाहेर पनि केही गर्न सक्ने अवस्था छैन’, उनले भने । एयरपोट क्यानसँग मिलेर बनाउने, शिक्षाको अधिकार सवै स्थानीय तहलाई दिएको बताए । उनले प्रदेश सरकार आर्थिक समृद्धिका लागि युवा, महिला र बेरोजगारलाई रोजगारी दिने कार्यक्रम ल्याउन लागेको समेत बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले अशिक्षित, अज्ञानता र असमानता हुँदा बलात्कार, महिला हिंसा बढेको बताइन् । उनले क्वालिटी एजुकेशनले मात्र यो सबै अन्त्य हुने बताइन् । ‘अब असमानता तथा विभेद र यस्ता घटनालाई न्यूनिकरण गर्न बाख्रा दिने होइन, क्वालिटीको शिक्षा दिने हो । शिक्षा दिए, हिंसा सबै अन्त्य हुन्छ’, चौधरीले भनिन् ।
थर्डआइ नेपालका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी सूष्मा गिरीले महिलाको पक्षमा थुप्रै कानुन बने पनि त्यो लागु हुन नसकेको भन्दै बलात्कार र महिला हिंसा बढी रहेको बताइन् । उनले यो वा त्यो नाममा दिन प्रतिदिन घटना बाहिर आइरहेको बताइन् । उनले यसको अन्त्यका लागि सबै एक हुनुपर्ने बताइन् । ‘देश समृद्ध बनाउन र विभेदरहित समाज निर्माण गरी समृद्धि र विकासका लागि पनि यो अन्त्य हुनुपर्छ’, उनले भनिन् ।
त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले बलात्कार र महिला हिंसा विकृति, विसंगति मौलाउँदै गएको भन्दै यसको अत्यका लागि सचेतना आवश्यक रहेको बताए । उनले यातायात क्षेत्रमा पनि पहिले विभिन्न जघन्य अपराध भएको भन्दै त्यसको न्यूनिकरण र सचेतना दिनु पनि आफूहरूको दायित्व भएको बताए । उनले स्थानीय स्तरको पाठयक्रममा बलात्कार, महिला हिंसा र ट्राफिक सचेतनाको विषयमा उल्लेख हुनुपर्ने बताए । वडा नं ७ का वडाध्यक्ष रामबहादुर जिसीले घरघर, टोलटोलमा यसको सचेतना आवश्यक रहेको बताए । कार्यक्रमको सहजीकरण सचिव शरद भण्डारीले गरेका थिए । यो अभियान देशभर आजबाट सुरु भएको अध्यक्ष गिरीले बताए ।