मधुसूदन सुवेदी
हामीले सधैँ हाम्रा नेतालाई पहुँच नभएका नेता भनेर गाली गर्ने, गलौज गर्ने, निन्दा गर्ने, चर्चा गर्ने र गुनासो गर्ने ग¥यौँ । वास्तवमा हाम्रा राजनेता देशी–विदेशी शक्तिसँग मात्र होइन, उनीहरुको सिधा पहुँच भगवान् रामचन्द्र र सीतासँग पनि रहेछ । उनीहरुको सिधा पहुँच राधा कृष्णसँग पनि रहेछ ।
उनीहरुको सिधा पहुँच शिव–पार्वतीसँग पनि रहेछ । उनीहरुको सिधा पहुँच महाकाली, उग्रकाली, भद्रकाली, रक्तकाली, दन्तमहाकाली, भगवतीकाली, भवानीकाली, वीजकाली, दक्षिणकाली, शक्तिकालीलगायत समस्त काली देवीसँग पनि रहेछ । यतिमात्र होइन हाम्रा राजनेताहरुको त अष्टलक्ष्मीसँग पनि प्रत्यक्ष पहुँच रहेछ । अन्नलक्ष्मी, वस्त्रलक्ष्मी, सिद्धिलक्ष्मी, धनलक्ष्मी, धातुलक्ष्मी, रत्नलक्ष्मी, भूमिलक्ष्मी, इच्छालक्ष्मी यतिका पहँुचवाला भएपछि देश र देशबासीलाई केको चिन्ता ? सदासर्वदा यिनैको शक्ति किन चल्छ ? भनेको त राज यो पो रहेछ । जे होस््, राजनेताको पहँुच यत्रतत्र सर्वत्र हुनुलाई अन्यथा मानिँदैन ।
नेपाली जनता तब सुखी हुन्छन् जब नेपालका राजनेता सर्वशक्तिमान हुन्छन् । सर्वशक्तिमान देशका नेता भएपछि धेरै दुःखको कुरा पनि छैन । देशका राजनेतामा देवी पहँुच मात्र होइन दानवको पहुँच पनि छ । दानवको शक्ति भन्नाले चण्डे, मुण्ड, प्रचण्ड, यमकाल, मय, महिषास र यमराज, उग्रसेन, हिरण्य, दिरणादन, राक्षस, असुरजस्ता अति बलिष्ठ दानव समेत हाम्रा राजनेताका पहुँचमा छन् । यो अवस्थामा देश सङ्कटमा पर्ने नकारात्मक सोच, सकारात्मक चिन्तन र सकारात्मक भावनाको कमी छ । हामी सदासर्वदा हाम्रा नेतालाई सराप्छौँ । तसर्थ हामीले के बुझ्न जरुरी छ भने देवता र दानवसँग हेलमेल र सम्बन्ध भएपछि यिनीको बिचमा काम गर्न हाम्रा राजनेताकाहरुलाई सहज र सरल छैन ।
देवत्व र दानवत्वको बिचमा सामञ्जस्यता मिलाउन त्यति सहज पनि छैन । यो सबैको चपेटामा हाम्रा नेता परेका छन् । हाम्रो देश मन्दिरैमन्दिरको धनी देश, सबै मन्दिरमा हाम्रा नेतालाई जानै परेको छ । मूर्तिशिला, धातु, पत्थर हेर्नै परेको छ । ती सबैलाई चम्काउनु परेकै छ । मन्दिरको आँगन, चोक गल्ली, मठ, गुम्बा, भवन, ढोका गुम्बा, बगैँचा, धर्मशाला, गुठीलगायतका स्थानमा दृष्टि दिनै परेको छ । यस्ता कारणले गर्दा हाम्रा नेता सदासर्वदा अस्तव्यस्त छन् । दानवी प्रवृत्ति पनि सम्हाल्नु पर्ने, देवी प्रवृत्ति पनि सम्हाल्नु पर्ने, सबैको बोली, भाषा व्यवहार, चरित्र सम्हाल्नै पर्ने । यसैले यहाँ सबैको सबै मिलाउन हाम्रा राजनेतालाई गाह्रो छैन ।
यो समय देवता पुज्ने, दानव पुज्ने, देवता पुज्ने पनि हाम्रै राजनेता, पितृ पुज्ने पनि हाम्रै राजनेता, भूतप्रेत पुज्ने पनि हाम्रै राजनेता । सबै पुज्नेलाई केको फुर्सद छ र ? नेपाली जनतालाई देश धनी भएन, देश सुखी भएन, देश शान्त भएन, देश समृद्ध भएन भन्ने छ तर हामीले हाम्रा राजनेताका भएको सर्वस्व गुण भुल्छौँ, बिर्सन्छौँ र ख्याल गर्दैनौँ । नेता धनी भए देश धनी हुन्छ, देश धनी भए जनता धनी हुन्छन् भन्ने ख्याल गर्न जरुरी छ । हामीले सधैँ बुझ्ने कुरा के हो भने देशका राजनेता गरिब, दुःखी, भोका, नाङ्गा, लिखुरे, ख्याउटे, मरन्च्याउसे, सडकछाप छन् भने चिन्ता र चासो गर्ने हो अन्यथा सोच्न जरुरी छैन ।
किनभने हाम्रा देश आफैमा विश्वमानचित्रमा हराएको मुलुक हो । यति सानो राष्ट्रमा पनि यति सम्पन्नशाली, शक्तिशाली र सर्वज्ञ नेता हुनु भनेको हामी सबैको भाग्य पनि हो । सबै मुुलुकमा यतिका विधि जानेका नेता हुँदैनन् । हाम्रा राजनेतालाई धर्मको चिन्ता छ यसैले धर्मलाई राजनीतिमा घुसाएका छन् । हाम्रा देशका नेतालाई देवीदेवताको चिन्ता छ यसैले देवीदेवतालाई राजनीतिमा घुसाएका छन् । हाम्रा देशका नेतालाई देशको सीमानामा चिन्ता छ । यसैले देशमा रहेको सीमानालाई राजनीतिमा घुसाएका छन् ।
हाम्रा देशका नेतालाई हिमाल, पहाड र तराईको चिन्ता छ । यसैले देशको हिमाल, पहाड, तराईलाई राजनीतिमा घुसाएका छन् । हाम्रा देशका नेतालाई धर्म र संस्कृतिको चिन्ता छ । यसैले नेपालको संस्कृतिलाई राजनीतिमा घुसाएकै छन् । हाम्रा देशका नेतालाई वनजङ्गल, जडिबुटीमा चिन्ता छ, यसलाई पनि राजनीतिमा मिसाएकै छन् । हाम्रा देशका नेतालाई गरिब, निमुखा, बालबच्चा, रोगी, असहाय, सर्वहारावर्गको चिन्ता र चासो छ । यसलाई पनि राजनीतिमा समावेश गरेकै छन् । हाम्रा देशका नेतालाई महिला, अशक्तप्रति निकै चिन्ता र चासो छ । यसैलाई पनि राजनीतिमा समावेश गरेकै छन् ।
देशका सर्वधर्म, जात, लिङ्ग, धर्म, भेषभुषाप्रति अत्यन्त चिन्ता र चासो बोकेका हाम्रा राजनेताले सबै कुरा समेटेर राजनीतिमा समावेश गरेकै छन् । हामीले चासो राख्ने के कुरामा हो भने हाम्रा राजनेतालाई कान, कपाल दुख्नु भएन, हिड्दा ठेस लाग्नु भएन, बस्दा केश झर्नु भएन, खान, लाउन र डुल्न, घुम्न राजकीय सम्मान टुट्नु भएन । यति भयो भने त देश समृद्ध भयो तर खाली जनता–जनता मात्र नभनौँ । राजनेता भए पो जनता हुने हो । अहिलेको नेपाली लोकतन्त्रमा जनता बलिया होइन, नेता बलियो भए भने देश बन्छ । यसैले हाम्रा राजनेतामा बल र शक्ति नहराओस्, उनीहरुको पहुँच देवतादेखि दानवसम्म चीरकालसम्म रहिरहोस्, जय देश, जय नेता ।