१०० औं गिरिजाप्रसाद कोइराला जन्मजयन्ती मनाइयो

दाङ,१८ असार । नेपाली कांग्रेसका पूर्व सभापति तथा प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला निडर, साहासी एवं कुशल नेतृत्वकर्ता भएको बताएका छन् । नेपाली राजनीतिका शिखर पुरुष स्व गिरिजाप्रसाद कोइरालाको १०० जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. २ दाङले सोमवार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय कोइरालाको व्यक्तित्व र जीवनी बारेमा चर्चा गरेका थिए ।

स्वर्गीय कोइरालाको महत्वपूर्ण योगदानका कारण तत्कालिन सशस्त्र विद्रोही पक्षलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि देशलाई संघीय लोकतान्त्रिक व्यवस्थामा लग्न सफल भएको सहभागी नेताहरुले बताएका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका लुम्विनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेयले स्वर्गीय कोइरालाबाट आम नेता तथा कार्यकर्ताहरुले नेतृत्व र संगठनलाई कसरी व्यवस्थीत गर्नेसँगै इमान्दारिता सिक्दै पार्टी निर्माणका लाग्नुपर्ने बताएका थिए । देश पार्टीका लागि अप्ठेरो परिस्थीतिमा पनि लिड गर्ने र व्यवस्थापन गर्न सक्ने नेता कोइरालावाबाट धेरै कुराहरु सिक्न सकिने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले स्वर्गीय कोइरालाको योगदानको स्मरण गर्दै अहिले जनताले प्राप्त गरेको व्यवस्था र स्वतन्त्रताका लागि उहाँको ठुलो योगदान रहेको बताए । प्रजातन्त्र, लोकतन्त्र र समाजबाद देशको मेरुदण्ड भएको भन्दै त्यसका लागि सवै लाग्नुपर्ने बताए । साथै उनले आम नेता तथा कार्यकर्ताहरुलाई इमान्दार रुपमा संगठन निर्माणमा लाग्न आग्रह गरेका छन्

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति बीरकेश्वरी गौतमले नेपाली राजनीतिका शिर्ष पुरुष कोइराला कम बोल्ने र आफुले बोलेको कुरा पुरा गर्ने आट र क्षमता भएका साहसिक नेता भएको बताए । स्वर्गीय कोइरालाको योगदानका कारण दलहरुकाविच संयुक्त जनआन्दोलन भएको र त्यसको माध्यमबाट देशमा अहिलेको परिवर्तन सम्भव भएको नेता गौतमले बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले राजनीतिलाई व्यक्तिगत स्वार्थका लागि भन्दापनि जनताको सेवा गर्ने माध्यमका रुपमा लिनुपर्ने बताएका थिए । राजनीतिमा प्रतिष्पर्धाले नेताहरु जन्माउने भन्दै बक्ताहरुले प्रतिष्र्धाकै कारण प्रतिशोध साधेर राजनीति गर्न नहुने बताएका थिए । स्वर्गीय शिखर पुरुष कोइरालाबाट राम्रा पक्षहरु सिक्दै पार्टीसँगै समाज निर्माणका लागि लाग्न्ुपर्ने बताएका थिए । त्यसका लागि जिल्लादेखि वडा तहसम्मका नेता तथा कार्यकर्ताहरु जनताकोविच जानुपर्ने र जनतालाई परेका समस्याहरुको सम्वोधनका लागि पहल गर्नुपर्ने बताएका थिए । उनीहरुले प्रदेश तथा संघीय सरकारमा प्रतिनिधित्व गर्ने जिल्लाका मन्त्रीहरुलाई जनचाहना अनुसार काम गर्न समेत आग्रह गरेका थिए ।

नेपाली कांग्रेस क्षेत्र न २ का सभापति भीमप्रकाश खड्काको अध्यक्षमा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति मोहनलाल वली, नेपाली कांग्रेसकी लुम्विनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, नेपाली कांग्रेस दाङका उपसभापतिद्वय गिरिराज सुवेदी र कमानसिह भारती, महाधिवेशन प्रतिनिधि भुपबहादुर डागी, महाधिवेशन प्रतिनिधि बिमला योगी, महासमिति सदस्य गोमा रावत, महाधिवेशन प्रतिनिधि बद्री खड्का, नेपाली कांग्रेस दाङ पूूर्व जिल्ला कोषाध्यक्ष साबित्रा राना,नेपाली कांग्रेस क्षेत्र न २ (क) का सभापति प्रकाश श्रेष्ठ,क्षेत्र न २(ख) का सभापति अभियान बस्नेत,नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतलगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाली कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष गोपाल भुसालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव हिमबहादुर डाँगीले गरेका थिए ।