गोरक्ष समाचारदाता
तुलसीपुर, १४ असार । राप्ती आँखा अस्पतालमा कर्नियल टोपोग्राफी मेसिन खरिद गरिएको छ । राप्ती अस्पताल र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा सो मेसिन खरिद गरिएको हो ।
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरूको सुदृढीकरण (स्वास्थ्य साझेदारी) कार्यक्रमअन्तर्गत् अस्पतालको सेवा सवलीकरणका लागि आर्थिक वर्ष २०७९÷८० मा २४ लाख अनुदान दिएको थियो । आँखा अस्पतालले २६ लाख रकम साझेदारी गरेको थियो ।
कर्नियल टोपोग्राफी मेसिन खरिदसँगै खरिद तथा गुणस्तर निर्धारण समितिका संयोजक रेशमबहादुर खड्काको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिका अनुगमन समितिका सदस्य वडाध्यक्ष हुमाकान्त सापकोटाको प्रमुख आतिथ्यता र नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य कृष्णकुमार गिरीको विशेष उपस्थितिमा सामाजिक परीक्षण कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाल सरकारबाट लिइएको उक्त नीतिलाई सहयोग पु¥याउन प्रदेश सरकारसँग सहकार्य गरी साझेदारी कार्यक्रमअन्तर्गत् ‘उज्यालो अभियान कार्यक्रम’मार्फत् दृष्टिविहीनता अर्थात् अन्धोपनको समस्यालाई न्यूनिकरण गरी पालिकामा देखिएका दृष्टिविहीनताको मोतियाविन्दुलाई हटाउने उद्देश्य रहेको बताइएको थियो ।
कर्निया (आँखाको नानी) रोगको उपचारपश्चात समाजमा रहेका दृष्टिविहीनताको समस्यालाई न्यूनिकरण गर्ने, नेपाल सरकारको स्वास्थ्य नीति, नियम तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग पु¥याउने उद्देश्य अस्पतालको रहेको छ । कर्नियल टोपोग्राफी मेसिन आएसँगै बेलैमा उपचार सेवालाई व्यवस्थित बनाउने, गुणस्तरीय सेवाको कारण बिरामीमा विश्वासको वातावरण बढ्ने र दृष्टिविहीन अर्थात आँंखाको ज्योति गुमाउन नपर्ने अपेक्षित नतिजा रहेका छन् ।
सामाजिक परीक्षणमा कर्निया रोग विशेषज्ञ डा. ज्योति सापकोटाले आँखाको नानीको बनावट, पातलोपन हेर्न, आँखाको नानी प्रत्यारोपण पछि नानीको आकार हेरी टाँका निकाल्न, कन्ट्याक्ट लेन्स सेवा सुरु गर्न यो मेसिन आएसँगै बिरामीले सेवा पाउने बताइन् । उनले मेसिन आएसँगै घरआँगनमै जनताले सेवा पाउने बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासक शम्शेर थापाले खरिद प्रकृयाको बारेमा विस्तृत जानकारी गराएका थिए । उनले सूचना प्रकाशितदेखि मेसिर झर्दासम्मको अन्तिम प्रक्रियाको बारेमा सामाजिक परीक्षणमा जानकारी दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका अनुगमन समितिका सदस्य हुमाकान्त सापकोटाले राप्ती आँखा अस्पतालले सर्वसुलभ र व्यवस्थित सेवा दिइरहेको भन्दै यो मेसिन खरिदसँगै पालिकाका जनताले थप सेवा पाउने बताएका थिए । ‘टेण्डर प्रक्रियादेखि हालसम्मको प्रक्रियाको पारदर्शिता देख्दा निकै खुसी लाग्यो’, उनले भने ।
नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले राप्ती आँखा अस्पताललाई अत्याधुनिक उपकरणको व्यवस्थापन गरी विशिष्टिकृत आँखा अस्पतालको रूपमा विकास र विस्तार गर्ने उद्देश्यले विभिन्न निकायहरूको सहयोगबाट मेसिन, औजार खरिददेखि सेवा सवलीकरणमा आफूहरू लागेको बताए । उनले अब बिरामीलाई घरआँगनमै सहज र सर्वसुलभ सेवा प्रदान हुने बताए ।
कार्यक्रममा अस्पतालका मेसु डा. सन्तोष सुवेदीले कर्निया तथा अन्य आँखाको समस्याका कारणले हुने दृष्टिविहीनतालाई घटाइ पैसाको कारणले कुनै पनि व्याक्ति अन्धोपनमा बस्नु नपर्ने भन्दै पालिकामा देखिएको कर्निया (आँखाको नानी)सम्बन्धी रोगबाट उपचार सेवा नपाएकालाई उपचार सेवा दिई अन्धोपन न्यूनिकरणमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष तुलसी थापा, सदस्य नारायणी पुन, पत्रकार महासङ्घ दाङका कोषाध्यक्ष शरद रेग्मी, सदस्य यमकला भुसाल, समाजसेवी ध्रुव गौतम, नेपाल नेत्रज्योति सङ्घका सदस्य श्यामप्रकाश आचार्य, चीरञ्जीवी रिजाललगायतको सहभागिता रहेको थियो । नेपाल नेत्रज्योति सङ्घ, राप्ती अस्पताल र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदार कर्नियल टोपोग्राफी मेसिन खरिदको प्रक्रियाको अनुमोदन गरिएको थियो ।