गोरक्ष समाचारदाता
लमही, १३ असार । ‘बाढी आयो बाढी आयो, बचाओ ! बचाओ !!’ यस्तै आवाज लमही नगरपाकिला वडा नम्बर ६ ढिकपुर राप्ती नदी किनारमा मंगलवार एकाएक गुञ्जिन्छ । तालिम प्राप्त, सेना प्रहरी उद्धारका लागि खटिन्छन्, केही स्वास्थ्यकर्मी उपचारका लागि कुद्छन्, एम्बुलेन्स साइरन बजाउँदै घाइते बोक्न दौडिन्छ, त्यही समय माझीहरू राप्ती नदीमा माछा मार्न जाल हान्छन् ।
तीमध्ये एकजना पानीमा डुब्छ, उद्धारको लागि गोताखोरको टोली पुग्छ, पानीमुनि बेपत्ता भएको लाश भेटाउँछ र बाहिर निकाल्छ, केहीले बाढीको बेला डोरीको सहायताले नदी पार गर्छन् । नदी वार–पार हुन्छ, दुवैतिर ‘बचाओ’को आवाज सुनिनासाथ तयारी अवस्थामा रहेका तालिम प्राप्त उद्धार टोली खट्छन् र त्यहाँ कुनै अप्रिय घटना भने हुँदैन ।
हेर्दा वास्तविकजस्तै लाग्ने यो दृश्य काल्पनिक कथावस्तुमा तयार गरिएको पूर्वाभ्यास थियो । लुम्बिनी प्रदेशमा बर्साको समयमा हुने विपत्का घटनाहरूलाई आधार मानेर गरिएको पूर्व तयारी अभ्यासले सबैको ध्यान केन्द्रित बनाएको थिए । नदीको उत्तरतर्फ मुख्यमन्त्री सहित विशिष्ट व्यक्तित्वले अभिरुचीका साथ नियालेका ती दृश्यले साच्चिकै सबै र्दशकको ध्यान केन्द्रित गरेको थियो ।
लुम्बिनी प्रदेश स्तरीय विपत् प्रतिकार्य तयारी नमुना अभ्यासको परिदृश्यले सबैको मन तानेको थियो । विपत् प्रतिकार्य नमुना अभ्यास कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विपत्को पूर्वतयारी नै विपतबाट बच्ने र बचाउने महत्वपूर्ण उपाय भएको बताएका छन् । दाङको लमही नगरपालिका वडा नं. ६ मा आयोजित लुम्बिनी प्रदेश स्तरीय विपत् प्रतिकार्य पूर्वतयारी अभ्यास कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले विपत्ले धनी भन्दैन, गरिब भन्दैन, कुन बेला आउँछ त्यो पनि भन्दैन, बाढी, भूकम्प, पहिरो कुनबेला आउँछ, जान्छ त्यो प्राकृतिक कुरा हो, प्रकृतिसँग हामी जुध्न सक्दैनौँ तर प्रकृतिले निम्त्याएका विपतबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने कुराको ध्यान राखेर पूर्व तयारी गर्न भने सकिने भन्दै सबै मिलेर प्रतिकार गर्नुपर्ने बताए । आफ्नो क्षेत्रमा भएका औजारको प्रयोग गरी विपत् प्रतिकार्यका काम र अभ्यासलाई निरनतरता दिँदै समुदायलाई सचेत गर्न जरुरी रहेको पनि उनले बताए ।
त्यसका लागि स्थानीय विपत् व्यवस्थापन समितिसँग के–के सामग्री छ र के–के सामग्री अपुग छ ? त्यसको जानकारी प्रदेश सरकारलाई दिन मातहतका प्रमुख जिल्ला अधिकारीलाई मुख्यमन्त्री चौधरीले निर्देशन दिए । विपत् व्यवस्थापनका लागि प्रदेश सरकारसँग आवश्यक बजेटको व्यवस्था भएको र बजेटको कारणले विपत्को सामना गनुप¥यो भन्ने अवस्था आउन नदिन प्रदेश सरकार कटिबद्ध रहेको चौधरीले बताए ।
प्रदेश सरकारले विपत् व्यवस्थापनका लागि छुट्टै कोषको व्यवस्था गरेकाले जिल्ला–जिल्लामा, पालिका–पालिकामा विपत् प्रतिकार्यका लागि सचेतना बढाउन जरुरी रहेकाले सोही अनुसारको गतिविधि सञ्चालन गर्न पनि विपतसँग सरोकार राख्ने निकायहरूलाई अपिल समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्रीले विपत् प्रतिकार्यका लागि सचेतना बढाउन आवश्यक रहेको बताए ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले देउखुरी क्षेत्र विपतको उच्च जोखिममा रहेकाले विपत्बाट बच्न स्थानीय सामग्रीको प्रयोग र अभ्यासमा जोड दिन आवश्यक रहेको बताए । विपत् प्रतिकार्य दुईदिने हातेमालो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लमही नगरपालिका, नेपाल रेडक्रस शाखाले विपत् प्रतिकार्यका सामग्रीको प्रदर्शनी समेत गरिएको थियो ।
सामग्रीको मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मध्यपश्चिम पृतना पति, नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्रीलगायत विद्यार्थीले समेत अवलोकन गरेका थिए । सो अवसरमा विपत्का कारण हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्यले आयोजना गरिएको नमुना अभ्यासमा बाढीको समयमा नदी तर्ने तरिका रिभर क्रसिङ, बर्साको समयमा अत्यधिक आएको बाढीका कारण जोखिममा परेकाको उद्धार तरिका, पानीमा डुबेकाको उद्धार तरिकालगायतका विभिन्न ६ किसिमका नमुनाभ्यास गरिएको थियो ।