सुन्दर, शान्ति र उज्यालो बिजौरी : अध्यक्ष खड्का [ अन्तर्वार्ता]
हालै सम्पन्न भएको बिजौरी उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट अध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलबाट चुनावी प्रतिस्पर्धा गरेका रेश्मीराज खड्का विजयी भएका छन् । असार ९ गते भएको निर्वाचनमा खड्काले २ सय ५३ मत प्राप्त गरी विजयी भएका थिए । उदाउँदो बजार बिजौरीमा वि.सं. २०५४ सालमा खाद्यान पसलबाट आफ्नो व्यवसायी सुरू गरेका खड्काले पहिलो पटक बिजौरीमा छरिएर रहेका व्यवसायीलाई एकीकृत गरेर बिजौरी व्यापार व्यवसायी समिति गठन गरी नेतृत्व समेत गरेका थिए ।
त्यससँगै हेमन्तपुरमा जन्मिएर बिजौरीलाई कर्मथलो बनाएका खड्काले वि.सं. २०६८ सालमा तुलसीपुर उद्योग वाणिज्य सङ्घको सदस्यमा समेत भारी मतले जितेका थिए । त्योसँगै वि.सं. २०७१ सालमा तुलसीपुर उद्योग वाणिज्य सङ्घको सदस्यमा मनोनित समेत भई आफ्नो व्यावसायिक राजनीति सुरू गरेका खड्का अहिले बिजौरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित भएसँगै बिजौरी उद्योग वाणिज्य सङ्घको विकास, विस्तार र व्यवसायीको हक, हित र पछिल्लो समयमा व्यवसायी पलायन भइरहेको बेला त्यसलाई कसरी व्यवस्थापन गर्नेलगायत अन्य समसामायिक विषयमा रेश्मीराज खड्कासँग गोरक्षकर्मी बालाराम खड्काले गरेका संक्षिप्त कुराकानी गोरक्षको सातावार्तामा ।
सातावार्तामा यहाँलाई स्वागत छ ।
दाङको लोकप्रिय पत्रिकामा मेरा विचार आम पाठकसामू राख्ने अवसर दिनुभएकोमा यहाँ र पत्रिका परिवारलाई धन्यवाद ।
बिजौरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चुनाव जित्दा कस्तो अनुभूति भएको छ ?
भर्खरै सम्पन्न निर्वाचनमा सबै व्यवसायीले मलाई अलि धेरै मत दिएर चुनाव जिताउनुभएको छ । त्यो पनि व्यवसायीले अरूभन्दा अलि धेरै मतले मलाई विजय गराउनुभएको छ । म उद्योग वाणिज्य सङ्घको यस अघि सदस्य भएर काम गरिसकेको छु । दुई÷दुई कार्यकाल त्यो पनि योभन्दा धेरै सदस्य भएको तुलसीपुर उद्योग वाणिज्य सङ्घको सदस्य भएर मैले चुनाव जित्दा पक्कै पनि खुसीको अनुभूति त भएकै छ तर खुसीसँगै मेरा सामू धेरै काम गरेर देखाउनुपर्ने भएको छ ।
मैले उदाउँदो बजार बिजौरीमा विसं २०५४ सालमा खाद्यान पसलबाट आफ्नो व्यवसाय सुरु गरेको हुँ । पहिलो पटक बिजौरीमा छरिएर रहेका व्यवसायीलाई जोडेर बिजौरी व्यापार समिति गठन गरी नेतृत्व समेत मैले नै गरेको हुँ, त्यतिबेला । विसं २०६८ सालमा तुलसीपुर उद्योग वाणिज्य सङ्घको सदस्यमा समेत भारी मतले जितेको थिएँ ।
योसँगै विसं २०७१ सालमा तुलसीपुर उद्योग वाणिज्य सङ्घको सदस्यमा मनोनित भएर आफ्नो व्यावसायिक राजनीति सुरु गरेँ । अब यो बिजौरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित भएसँगै बिजौरी उद्योग वाणिज्य सङ्घको विकास, विस्तार र व्यवसायीको हक, हित र पछिल्लो समयमा व्यवसायी पलायन भइरहेको बेला त्यसलाई कसरी व्यवस्थापन गर्नेलगायतका यावत काम गर्नुपर्ने छ ।
यो जितलाई कसरी लिनुभएको छ ?
चुनाव हो, चुनावमा हार र जित स्वाभाविक हो । मैले यो जितलाई चुनौती र अवसर दुवै रूपमा लिएको छु । मैले पहिले पनि भनेँ अहिले विभिन्न कारणले व्यवसायी पलायन भइरहनु भएको छ । दिन प्रतिदिन सटरहरू खाली हुँदै गएका छन् । व्यवसायीलाई बचाइराख्न तथा उनीहरूको पेसालाई सुरक्षित, मर्यादित तथा संरक्षण गर्ने चुनौती छ । अर्को कुरा यहाँका व्यवसायीले यसले केही गर्छ अर्थात् व्यावसायिक हक, हित र यस क्षेत्रको विकासमा यसले काम गर्न सक्छ भनेर मलाई नेतृत्व सम्हाल्ने जिम्मा लगाउनुभएको छ ।
यो अवसर दिनु भनेको जिम्मेवारीको भारी बोकाउनु पनि हो भन्ने मैले बुझेको छु । यो जितलाई मैले अवसर तथा चुनौती दुवैको रूपमा लिएको छु । चुनौतीलाई सामना गर्दै र अवसरमा बदल्दै म व्यावसायिक हक, हितका पक्षमा काम गर्ने यसै पत्रिकामार्फत् प्रतिबद्धता व्यक्त गर्दछु । यसका साथै बिजौरी बजार क्षेत्रको विकास र चुनावमा अगाडि सारेका एजेण्डा पूरा गर्नेतर्फ म प्रतिबद्ध छु
बिजौरी उद्योग वाणिज्य सङ्घमा कति व्यवसायी छन् र क्षेत्र कहाँ–कहाँ हो ?
बिजौरी उद्योग वाणिज्य सङ्घमा धेरैजसो गाउँका व्यवसायी हुनुहुन्छ । अहिले हाम्रो सङ्घमा ठुला–साना गरी ६ सय १८ जना व्यवसायी आबद्ध हुनुहुन्छ । यसको क्षेत्र पूर्वमा मज्गंँ र पश्चिममा ग्वारखोला हुँदै दक्षिणमा डुरुवा बबईसम्म छ । यो गाउँले बजार हो, तुलसीपुर उपमहानगरपालिकाका ५ वटा वडाहरू १५, १६, १७, १८, १९ नं. वडाका व्यवसायी यसमा आबद्ध हुनुहुन्छ । सीमानाका हिसाबले उत्तरमा रोल्पाको सीमासम्म जोडिएको छ ।
तपाईँका एजेण्डा के–के छन् बताइदिनुस् न ?
मैले ८० जना व्यवसायीबाट सुरु गरेको यो व्यापार सङ्घ अहिले उद्योग वाणिज्य सङ्घको रूपमा परिणत भएको छ । यहाँका बजारमा सोलार हालेर उज्यालो बिजौरी, दुधरास, मानपुरलगायतका अन्य बजार बनाउने मेरो योजना छ । यस्तै शान्ति सुरक्षालाई मजबुद गराउँदै हेमन्तपुर चौकीको स्तरोन्नति, उदाउँदो बजार बिजौरीलाई रोल्पासँग जोड्ने सडक निर्माणसँगै दाङ र रोल्पालाई एउटा सडक राजमार्गबाट जोड्ने मेरो योजना छ ।
योसँगै सुन्दर भविष्य बोकेको बिजौरी बजारलाई धार्मिक पर्यटकीय क्षेत्रसँग जोड्दै यहाँको कला, संस्कृतिको विकास र प्रचार–प्रसार गर्ने योजना छ । बिजौरी बजारमा शान्ति, सुरक्षाको चुनौती छ । अव्यवस्थित बसोबासको चुनौती छ । रोल्पाले बिजौरीसँग जोडेर पूर्व–पश्चिम राजमार्गमा जोड्ने अर्को चुनौती छ । यी सबै चुनौतीलाई चिर्दै नयाँ व्यावसायिक पूर्वाधार निर्माण गर्ने र बिजौरीमा सिसी क्यामेरा जडान, व्यावसायिक सुरक्षाका लागि रात्रीगार्ड, सहज व्यावसायिक वातावरण, अनलाइनमार्फत् बिजौरी उवासङ्घमार्फत् विद्युतको भुक्तानी, खानेपानीको भुक्तानीलगायतका एजेण्डा मेरा प्रमुख एजेण्डा हुन् ।
यी एजेण्डा पूरा गर्नतर्फ म कटिबद्ध रूपले अगाडि बढ्नेछु । राज्यसँग सस्तो व्याज उपलब्ध गराइ रोल्पा र बिजौरीलाई जोड्न सके यहाँ उत्पादन गरेका किसानका तरकारी अन्यत्र बजारीकरण गर्ने रहेको छ । त्यस्तै रोल्पा–बिजौरी सडक निर्माण भए यहाँको खाद्यान रोल्पा र रोल्पाको स्थानीय वस्तु दाङसम्म ल्याउन सहज हुने देखिन्छ । अर्को कुरा संस्कृत विश्वविद्यालय पनि बिजौरी उवासङ्घको क्षेत्रभित्रै पर्छ । यसलाई शैक्षिक अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा चिनाउन हाम्रो पहल कदमी हुनेछ र यहाँ रहेको आयुर्वेद अस्पतालको विकास गरी आयुर्वेदको हबको रूपमा विकास गर्न सकिन्छ ।
यहाँको धार्मिक पर्यटकीय स्थल छिल्लीकोटको विकास गरी आन्तरिक तथा बाह्य पर्यटकीय स्थलको रूपमा विकास गर्न सहयोगी भूमिका खेल्ने पनि मेरो योजना छ । त्यस्तै यहाँका शिवालय, मठमन्दिर प्रचार–प्रसार गर्ने र यहाँ देखिएका साना ठुला व्यावसायिक समस्या अहिले नै समाधान गर्ने योजना छ । त्यस्तै यहाँको अन्य विकास निर्माणको लागि हाम्रो पहल कदमी हुनेछ ।
चुनावमा तपाईसँग प्रतिस्पर्धा गरेकालाई कसरी समेट्नुहुन्छ ?
हो, चुनावमा पक्ष, विपक्ष हुन्छ । कुनै पार्टी होला, व्यक्ति त्यो चुनावको समयमा मात्र हो । अब पक्ष विपक्ष भन्नु हुँदैन । मैले सबैलाई मिलाएर लग्नेछु । सबैको भावना, सल्लाह र सुझावअनुसार नै हाम्रो काम गर्नेछु । यो मेरो मात्र जित होइन, सबै व्यवसायीको जित हो । अब हामी यहाँ बसेर राजनीति गर्ने, सङ्गठन निर्माण गर्ने होइन् । हामीले व्यावसायिक हकहितमा लाग्ने हो । हाम्रो लक्ष्य, उद्देश्य एउटै हो त्यसैले सबै व्यवसायी एकजुट भएर व्यावासायिक हक र हित संरक्षण गर्नतर्फ लाग्नुपर्छ ।
यसैले यहाँ कसैको हार र जितभन्दा पनि चुनावमा कुनै प्यानल वा गु्रप भएर निर्वाचन भयो त्यो सकियो । अब हामी सबै व्यवसायी एक भएर सबै व्यवसायीकै हितमा काम गर्ने हो । चुनाव सकियो, अब हारेका वा जितेका अथवा यो हाम्रो पक्ष वा विपक्ष भन्ने हुँदैन । हामी सबै व्यवसायी हौँ, सबै व्यवसायी एकीकृत भएर सँगसँगै अगाडि बढ्ने हो र यसै अनुरूप व्यवसायीलाई एकतृत गर्ने मेरो प्रयास रहनेछ ।
अन्त्यमा केही भन्नु छ ?
अन्त्यमा सबै मतदातालाई धन्यवाद दिन चाहन्छु । निर्वाचनमा सहयोग गर्ने निर्वाचन समिति, सुरक्षाकर्मी, पत्रकार, पार्टीका नेता, कार्यकर्ता, सङ्घ, सङ्गठन, साथीभाइ शुभचिन्तक सबैलाई धन्यवाद दिन चाहन्छु । मलाई विश्वास गरी जिताउनुभएको छ, ती अमूल्य मत खेर जान दिने छैन । व्यावसायिक हकहितका लागि म लाग्नेछु । यसका लागि सबैको साथ र सहयोग सधैँ यसरी आवश्यक पर्ने छ । यदि कमीकमजोरी भइहाल्यो भने पनि मलाई सही सल्लाह र सुझावको अपेक्षा गर्छु । साथै मेरो कुराहरू राख्ने अवसर दिनुभएकोमा धन्यवाद ।