घोराही,११ असार । घोराहीमा रहेको शहीद कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयले तीन महिनाभित्रमा विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासका लागि प्रयोगशाला राख्ने जनाएको छ ।
शहीद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख अच्युतराज दाहाल र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेललगायतको नेतृत्वमा गएको विद्यार्थी टोलीसँग सोमवार शिक्षालयमा भएको छलफलमा पिसिएल प्रयोगशाला, रेडियोग्राफी डिप्लो, फार्मेसी डिप्लोमा तथा अन्य संकायको प्रयोगात्मक अभ्यासका लागि प्रयोगशाला स्थापना गर्ने सहमति भएको हो ।
त्यसैगरी सिटिईभिटिई, चिकित्सा शिक्षा आयोग तथा सम्वन्धित काउन्सीलहरुमा पूर्ण रुपले दर्ता गरिसक्ने र तेस्रो बर्षको फिल्ड अभ्यासका लागि २०८० असार १५ गतेभित्र हस्पिटलमा व्यवस्था मिलाउने क्याम्पसन प्रमुखले प्रतिवद्धता जनाएका छन् । साथै सहमति कार्यान्वयन नभएर शिक्षालय प्रमुख दाहालले राजिनामा दिने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।
शहीद कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयको फार्मेसी कक्षातर्फको परिक्षा लिएको र परिक्षाको नजिता समेत प्रकाशित भैसक्दा पनि फार्मेसी काउन्सीलमा दर्ता नभएको, ल्यापको पढाई सञ्चालन भएर पनि दुई महिनाअघि परिक्षा भैसक्दा पनि ओजेटी हुन नसकेको, नेपाल हेल्थ प्रोफेस्नल काउन्सीलमा दर्ता नभएको र शिक्षालयले सञ्चालन गरेको रेडियोग्राफी कक्षा सञ्चालन भएपनि अभ्यास कक्षाका लागि प्राविधिक सामाग्री नभएको भन्दै नेपाल विद्यार्थीहरुले क्याम्पस प्रमुखको सोमवार ध्यानाकर्षण गराएको थियो । साथै नेपाल विद्यार्थी संघले प्रतिवद्धता कार्यान्वयन नभए कडा आन्दोलन गर्ने समेत जनाएको छ ।