दाङ, ११ असार । घोराही उपमहानगरपालिकाले आइतवार ल्याएको बजेटप्रति घोराही वडा नं १५ले असहमती जनाएको छ । वडाले गरेको माग अनुसार बजेट विनियोजन नगरेको भन्दै असहमती जनाएको हो ।
वडाध्यक्ष, वडा सदस्य तथा टोलविकास संस्थाका अध्यक्षहरुसहित उपमहानगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाउदै आफुहरुको माग सम्बोधन गर्न समेत माग गरेका छन् । वडाध्यक्ष रमेशकुमार पाण्डेले उपप्रमुख हुमाकुमारी डिसीलाइ ज्ञापन पत्र बुझाएका हुन । आफुहरुको माग सम्वोधन नगरिए आफुहरु बाध्य भएर सङघर्षका कार्यक्रम अगाडि बढाउने स्थानीयबासीहरुले बताएका छन् ।
वडा अध्यक्ष पाण्डेयले उपमहानगरपालिकाले आफुहरुलाई उपेक्षा गरेको समेत आरोप लगाएका छन् । ज्ञापन पत्रमा आर्थिक २०८०÷०८१ को बजेटले यस वडाभित्र बिगत ६ बर्षदेखि पहिचान गरिएको समस्या समाधानको लागि कुनै पनि योजना तथा कार्यक्रमले हामीलाई सम्बोधन हुन नसकेको बताए ।
‘उपमहानगरपालिकाले १५ वडालाई कुन बिकासको मोडेलमा अघि बढाउन खोजेको छ भन्ने ३ घण्टाको बर्षाले नगरवासीलाई जवाफ दिइसकेको छ’, वडा अध्यक्ष पाण्डेले भने,‘सडकको बीचमा भएको खानेपानीको पाइप, लाईन र बिजुलीको पोलले स्थानीय सरकार खोजिरहेको छ । यहाँको फुटपाथ, सडक बत्ती र सडक ब्यापारले सोधिरहेको छ । सार्वजनिक सौचालय खै भन्ने प्रश्नको जवाफ हामीसंग छैन ।’
वडाभित्र रहेका १ सय बढी टोलको न्युनतम साझा कार्यक्रम भनेको ढल निकास र सडक स्तर उन्नति रहेको र बारम्बार न्युनतम साझा कार्यक्रम सम्बोधनको लागि अनुरोध गर्दा समेत बेवास्ता गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । साथै सबैभन्दा धेरै जनघनत्व भएको वडा १५, घोराही उपमहानगरपालिकाको प्रमुख करदाता रहेका छन् ।
समग्र घोराही बिकासमा वडाले महत्वपुर्ण योग्दान गदै आएको बताइएको छ । ज्ञापनपत्र वुझदै उपप्रमुख डिसीले आफुहरु नागरिकहरुको आवश्यता अनुसार कार्य गर्ने बताइन् । वडावासीहरुले उठाएका मागहरु पुरा गर्न आफनोतर्फवाट लाग्ने समेत उनले बताइन् । कार्यक्रमको सहजीकरण वडासदस्य उतम वुढाथोकीले गरेका थिए ।