गोरक्ष समाचारदाता
तुलसीपुर, १० असार । यातायात मजदुर तथा कर्मचारीहरूको आँखा चेकजाँच गरिएको छ । यातायात क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारी गरी २ सय ३२ जनाको आँखा जाँच गरिएको हो ।
तुलसीपुर नयाँ बसपार्कमा शनिवार निःशुल्क आँखा स्वास्थ्य शिविर कार्यक्रम गरी आँखा जाँच गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४४औँ स्थापना दिवसको अवसरमा यातायात मजदुर, यातायात क्षेत्रका कर्मचारी र यातायात व्यवसायीका लागि एकदिने निःशुल्क आँखा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको थियो ।
सङ्गठन जिल्ला कमिटीको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा संचालन गरिएको निःशुल्क आँखा शिविरमा ५ जना दृष्टि दोश, ५ जना रँग पहिचानका समस्या र धेरैजसो नजिकको चस्मा लगाउनुपर्ने देखिएको दृष्टि विशेषज्ञ ओम यादवले जानकारी दिए । उमेरका कारण नजिकको चस्मा लगाउनु पर्ने धेरै देखिएको उनले बताए ।
अन्यको भने सामान्य आँखा चिलाउने, विझाउने समस्या देखिएको थियो । निःशुल्क आँखा जाँच गराउन पाउँदा उनीहरू खुसी भएका थिए । बसपार्कमै निःशुल्क आँखा जाँच गराउन पाएको भन्दै उनीहरू खुसी भएका हुन् । आँखा जाँचसँगै निःशुल्क चस्मा र औषधी समेत उपलब्ध गराइएको अस्पतालका दृष्टि विशेषज्ञ डा ओमप्रकाश यादवले बताए । कतिपयलाई थप उपचारका लागि अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको उनले बताए ।
यातायात मजदुरहरूलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा ९ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको सङ्गठनका जिल्ला अध्यक्ष दीपक बुढाथोकीले बताए । सङ्गठनले दिवसको अवसरमा यस अघि शुक्रवार ब्लड बैङ्क तुलसीपुरमा रक्तदान कार्यक्रम गरेको थियो भने शनिवार बेलुका बसपार्कमा दीप प्रज्ज्वलन गरेको छ । सङ्गठन २०३६ असार ९ गते सुनसरी जिल्लाको पानीपिया जङ्गलमा स्थापना भएको थियो ।