लमहीमा सिसी क्यामेरा जडानका लागि प्रहरीलाई हस्तान्तरण

प्रिया स्मृती गजमेर
लमही, ३ असार । लमही बजारमा हुने चोरीलगायतका अपराधिक घट्नाहरु न्यूनीकरणका लागि सिसी क्यामेरा जडान गरिने भएको छ । सिसी क्यामेरा जडानका लागि लमही नगरपालिकाले वडा प्रहरी कार्यालयलाई १३ वटा सिसी क्यामेरा आइतवार हस्तान्तरण गरेको हो ।

देउखुरीको मुख्य बजारका रुपमा रहेको लमहीका मुख्य–मुख्य भीडभाड हुने स्थानहरुमा सिसी क्यामेरा जडानका लागि ९ लाख रुपैयामा सिसी क्यामेरा खरिद गरेर नगरपालिकाले प्रहरीलाई प्रदान गरेको हो । यसअघि पनि नगरपालिकाको सहयोगमा बजारका ३ स्थानमा सिसी क्यामरा जडान गरिएको थियो । ती सिसी क्यामराको तारा चुडिएकोले तत्कालका लागि बन्द छन् । अब नयाँ सिसी क्यामरा जडान गर्दा ति पुराना क्यामराको पनि मर्मत गरिने लमही नगरपालिकाका सूचना अधिकृत नरेन्द्रकुमार गुप्ताले जानकारी दिएका छन् ।

आइतवार नगरपालिकाका प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठलाई सिसी क्यामेरा हस्तान्तरण गरेका थिए । सिसी क्यामेरा हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले बजार क्षेत्रलाई सुरक्षित राख्नका लागि सुरक्षाकर्मीलाई सिसी क्यामेरा सहयोग गरेको बताए । नगर प्रमुख चौधरीले नगरका अति संवेदनशील क्षेत्रको पहिचान गरेर सिसी क्यामेरा जडान गर्न आग्रह गरेका थिए ।

‘लमही बजारको बढ्दो चापसँगै हुन सक्ने चोरी तथा अपराधिक घट्नाहरु न्यूनीकरणका लागि सिसी क्यामेराले सहयोग गर्नेछ’,नगर प्रमुख चौधरीले भने,‘त्यसका लागि प्रहरीले सतर्कताका साथ काम गर्नेछ ।’ नगर उपप्रमुख लक्ष्मी योगीले नगरबासीको सुरक्षामा लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताइन । उनले सिसी क्यामराले लमहीमा चोरीसँगै अपराधका घट्नाहरु न्यूनीकरणका साथै घट्नामा भएमा प्रहरीलाई अनुसन्धानका लागि समेत सहयोग गर्ने विश्वास व्यक्त गरेकी थिइन ।

सिसिस क्यामरा ग्रहण गर्दै वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक श्रेष्ठले लमही क्षेत्रमा हुन सक्ने कुनै चोरी तथा अपराधिक गतिविधिहरु रोक्नसँगै अनुसन्धानका लागि सिसी क्यामेराले महत्वपूर्ण सहयोग पु¥याउने भन्दै सहयोग गर्ने नगरपालिकालाई धन्यावाद ज्ञापन गरेका थिए । उनले कानुनले बर्जित गरेका कुनैपनि क्रियाकलापमा संलग्न नहुन समेत सवैलाई आग्रह गरेका थिए । वडा प्रहरी कार्यालयका प्रमुख श्रेष्ठले नगरको सुरक्षाका लागि सवैको सहयोग आवश्यक रहेको समेत बताएका थिए ।