तुलसीपुर १ को बिकट बस्तिमा झाडापखाला

दाङ, ३ असार । तुलसीपुर उपमहानगरपालिका १ को पहाडी बिकट बस्तिमा झाडापखालाका बिरामी बढेका छन् । सुनपुर टोलका अध्यक्ष गिरभान भण्डारीले आफ्नो टोलमा मात्रै १५ जना जतिमा झाडा पखालाको समस्या देखिएको जानकारी दिएका छन ।

पानीका कारण झाडा पखालाका बिरामी बढेको अनुमान गरिएको छ । स्थानीयले काठेखोला मुहानको पानी पिउँदै आएका छन् । पवननगर खानेपानी संस्था अन्तरगत तीन चार वटा मुहानको पानी स्थानीयले उपभोग गर्दै आएको भएपनि अधिकाम्स मुहानहरु सुक्न थालेको तथा दुसित भएको हुँदा त्यसैबाट झाडा पखाला फैलिएको आशंका गरिएको छ ।

तुलसीपुर–१ का वडाध्यक्ष होमकान्त सापकोटालेले स्थानीयमा झाडा पखाला, वान्ता, आँउ जस्ता समस्या देखिएपनि शनिवार नै पानी परीक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा पठाइएको जानकारी दिएका छन् । रिपोर्ट आएपछि बल्ल स्थानीयमा देखिएको समस्याको कारण निदान गर्न सहज हुने उनले बताए ।

रिपोर्ट पछि दुसित पानीको असरले हो वा अन्य कारणले नमुना परीक्षणपछि भन्न सहज हुने उनको भनाइ थियो । केही विरामीको उपचार स्थानीय मेडिकल र केहीको तुलसीपुर बजारका अस्पतालहरुमा गराइ रहेको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।