दाङ, १ असार । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले नयाँ पुस्तालाई नेपालको कला, संस्कृति र मौलिकताबारे बुझाउन आवश्यक रहेको बताएकी छिन् ।
चलचित्र विकास बोर्डको आयोजनामा दाङको घोराहीमा सुरु भएको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले चलचित्रका माध्यमबाट नयाँ पुस्तालाई कला,सस्कृति र पहिचानका माध्यमबाट देशलाई चिनाउनका लागि चेतना दिनुपर्ने बताएकी हुन ।
‘चलचित्र मनोरञ्जनको साधन मात्रै होइन, मानिसको दिल बदल्ने आधार पनि हो’,मन्त्री शर्माले भनिन्,‘त्यसैले चलचित्र निर्माण गर्दा मनोरंजनसँगै राष्ट्रियताप्रतिको भावना र सन्देशलाई पनि समेट्न आवश्यक छ ।’ उनले नयाँ पुस्ताले विदेशी चलचित्र हेर्ने र त्यसको नक्कल गर्दा आफ्नो मौलिक कला सस्कृति भुल्ने अवस्था सिर्जना भएको भन्दै त्यसलाई हटाउन बालचलचित्र महोत्सवले विशेष भूमिका खेल्ने समेत बताइन ।
नेपाल संस्कृतिको धनी देश भएकाले यहाँको कला संस्कृतिको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा मन्त्री शर्माको जोड थियो । उनले कला संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न चलचित्रको महत्त्वपूर्ण भूमिका हुने बताइन । ‘हाम्रो देश कला तथा सस्कृतिका दृष्टिले धनि देश छ’,मन्त्री शर्माले भनिन्,‘चलचित्र आम मानिसको रोजाइको क्षेत्र बन्ने गरेको छ। चलचित्रले दर्शकलाई मनोरञ्जन होइन सन्देश समेत दिने भएकाले कला तथा सस्कृतिको प्रचारप्रसारका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’
बालबालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरी उनीहरुलाई रचनात्मक र सिर्जनशील कार्यमा प्रेरित गर्न बालबालिका, उनीहरुका अभिभावक लगायत आम नागरिकलाई सचेत र जागरुक बनाउन जरुरी रहेको मन्त्री शर्माको भनाई थियो । अहिले जीवनका हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग अत्यधिक बढेको उल्लेख गर्दै मन्त्री ृशमाले यसको प्रयोगले बालबालिकामा अवसर र चुनौती दुबै थपिदिएको बताएकी थिइन ।
‘सूचना प्रविधिको माध्यमबाट बालबालिकाले नयाँ ज्ञान र सीप चाँडो प्राप्त गर्ने गर्दछन’,मन्त्री शर्माले भनिन्,‘उनीहरुका लागि सूचना प्रविधि अवसर हो। तर, यसको दुरुपयोग बढ्दै जाँदा बालविकासमा बाधक पनि बन्ने खतरा छ ।’ पछिल्लो समय धेरै बालबालिका मोबाइल र कम्प्युटरको लतमा फस्दै गएको भन्दै मन्त्री शर्माले बालबालिकाहरुलाई सूचना प्रविधिको सही प्रयोगमा जोड दिनुपर्ने बताएकी थिइन ।
दाङ २ का प्रतिनिधिसभा सदस्य समेत रहेकी मन्त्री शर्माले दाङमा घोराही–तुलसीपुर सडक, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पूर्ण विद्युतीकरण, राजमर्गसहित सबै ठाउँमा सञ्चार सुविधा विस्तार, प्रदेश राजधानीमा पूर्वाधार विकास र टरिगाउँ विमानस्थलको स्तरोन्नतिलाई प्राथमिकता दिएको बताएकी थिइन । अहिले देशको अवस्था कमजोर भएका कारण धेरै बजेट आउन नसकेको भन्दै दाङको समग्र विकास र समृद्धिका लागि आफु सधै लागिपर्ने समेत बताएकी थिइन ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल संगीत प्रज्ञा प्रतिष्ठानका सदस्य तथा संगीतकार चेतन सापकोटा, गायिका सत्यकाला राई, बालकलाकार अनुभव रेग्मीसहित स्थानीय कला संस्कृति झल्काउने प्रस्तुति देखाइएको थियो । महोत्सवको उद््घटनपूर्व घोराहीमा स्थानीय समुदायकालोक नृत्य, झाँकी तथा साँस्कृतिक झल्कने गरीसहित शोभा यात्रा गरिएको थियो ।
घोराहीको जिल्ला समन्वय समितिको परिसरबाट सुरु भएको शोभा यात्रा बजारको परिक्रममा गर्दै महोत्वस स्थल घोराही–१४ स्थित बुहउद्देश्यीय सभागृहमा पुगेको थियो । बोर्ड सदस्य एवं कार्यक्रम संयोजक केएल बुढाथोकीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण गायक चन्द्र शर्माले गरेका थिए ।
दोस्रो दिन बालबालिकासँग भुवन केसी
महोत्सवको दोस्रो दिन शनिवार बाल चलचित्रहरु प्रर्दशनी गरिनेछन् । जहाँ बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म बालबालिका सम्बन्धी बनेका चलचित्रहरु प्रर्दशनी हुनेछन् । जसमा बालबालिकालाई सहभागी गराइनेछ ।
त्यस्तै दोस्रो दिनको बिहान ११ बजेदेखि बालबालिकासँग नायक भुवन केसीले अन्तरक्रिया गर्नेछन् । बालबालिकासँग भुवन केसी नाम उक्त अन्तरक्रियामा नायक केसीले आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तर्कृया गर्नेछन् । उनले कालकारिता क्षेत्रको आफ्नो अनुभव बालबालिकासँग साट्नेछन् । त्यस्तै बोर्डका अध्यक्ष समेत रहेका नायक केसीले बालबालिकासँग फिल्म क्षेत्र प्रति उनीहरुको बुझाई, सिकाईकाबारे पनि संवाद गर्ने महोत्सवका संयोजक केएल बुढाथोकीले जानकारी दिएका छन् ।