कल्पना होइन सपना पूरा गर्ने सङ्कल्प गरौँ

नारायणप्रसाद श्रेष्ठ
शास्त्रीय मान्यताअनुसार धेरै यौनी पार गर्दै पुण्य कर्मको फलस्वरुप मानव जीवन प्राप्त गरेको जनविश्वास गरिन्छ । जीवन सौभाग्यले मिलेको छ । यो सधैँ चुनौती र अवसर बोकेर अघि बढेको हुन्छ । जाने श्रीखण्ड नजाने खुर्पाको बिँड भनेझैँ जीवनको महत्वलाई बुझ्ने हो भने यसमा निकै गहिरो सत्य लुकेको छ ।

कहिले घाम कहिले छायाँ, समयको गतिसँगै यो बाल, युवा बृद्ध हुँदै अघि बढेको इतिहास छ । भन्ने गरिन्छ सङ्घर्ष नै जीवनको अर्को रुप हो । तसर्थ, सङ्घर्ष, अवसर र चुनौतीसँगै अघि बढ्ने जीवनको प्रत्येक क्षणलाई यो मेरो जीवनको सफलता र असफलतासँग गाँसिएको छ, अहिले नगरे मैले फेरि अवसर पाउन सक्छु वा सक्दैन ? भन्ने बोध गरी प्राप्त समयलाई सदुपयोग गरेर जीवन डुङ्गालाई सहज अवतरण हुने कर्म र व्यवहारमा आफूलाई सङ्कल्पित गर्नु पर्दछ । जीवनको हरेक बाटोमा आउने काँडालाई पन्छाउँदै चोटीमा पुग्ने लक्ष्यअनुसार जीवनलाई चलायमान बनाउनु पर्छ ।

औँसीको रातपछि झुल्कने चन्द्रमाको पहिलो किरणसँगै अघि बढेको पूर्ण चन्द्रमाको उज्यालोको क्षणझैँ जीवनलाई बाल्यकालदेखि नै आफ्नो लक्ष्य पूरा गर्न सधैँ लगनशील भइरहनु पर्छ । शिक्षा र स्वास्थ्य जीवनलाई सफल बनाउने मुख्य आधार हुन् । यसरी यसको गम्भीरतालाई बुझ्न जरुरी छ । परिश्रमबिनाको कर्म र शिक्षाबिनाको जीवन अभिशाप मानिन्छ । यस विचारलाई आत्मसात गरी समुन्नत जीवनको गोरेटोमा आउने अनावश्यक सोच र चिन्तनजस्ता जीवनमा छाप परेका अनगिन्ति कुप्रवृत्तिलाई पन्छाउँदै सिर्जनाको नयाँ पेटारो खोल्दै जानु पर्छ ।

देख्दा खासै महत्व नदेखिने, स्वास्थ्य र शिक्षा वास्तवमा जीवन जिउने महत्वपूर्ण आधार पनि हो । तसर्थ, पूर्ण चन्द्रमाको शीतलता सरी जीवनलाई सबैको आशा र भरोसाको केन्द्रविन्दु बनाइ ज्ञान र विज्ञानले परिपूर्ण स्वस्थ जीवन जिउन जान्नु पर्छ । सुन्दर, शान्त र विशाल हृदय लिएर समाजको उत्प्रेरक भइ जीवनमा स्वतन्त्र र निर्भिक भएर अगाडि बढ्ने सङ्कल्प गर्नुपर्छ । समाजमा बढ्दै गरेको कुरीतिले निम्त्याएको जात, धर्म र संस्कृतिका कारण देखापरेका वैमनस्यता ल्याउने चिन्तन गर्नु हुँदैन । बाँच र बचाऔँको सिद्धान्त बोकी हामी सबै एक हौँ भनी अगाडि बढ्नु पर्छ ।

एकअर्का बीचको सहयोग र सद्भावद्वारा अगाडि बढेको हाम्रो आचरण हाम्रो आफ्नै प्रगति र समुन्नतिका आधार हुन् । तसर्थ आफू नमरे स्वर्ग देखिँदैन भनेझैँ सुकर्म आफैबाट सुरु गर्नुपर्छ । सुनसान सडक छ, तपाईँ गाडी चलाइरहनुभएको छ, बाटोमा गाई–भैँसी चरिरहेका छन् । तपाईँ हर्न दिइरहनुभएको छ तर पनि गाई–भैँसी सडकमा बसिरहेका छन् । के यस्तो अवस्थामा गाडी अगाडि बड्न सक्छ ? सक्दैन । त्यसको लागि तपाईँ स्वयम् गाडीबाट ओर्लिएर ती जनावरलाई धपाउनु पर्छ ।

आफै लाग्नु पर्छ । यसरी नै मानवीय जीवन शैलीमा पनि ज्ञानको आधार तयार गर्न आफू स्वयम् लागी पर्नु पर्दछ । जीवन छ, आजभोलि गर्दै अगाडि बढिहाल्छ नि भनी आफूलाई आलस्यको काखमा सुताउने हो भने जीवन व्यर्थ बन्न सक्छ । सपना सधैँ अधुरो भइरहन्छ । तसर्थ, ज्ञानरुपी अमृत पिउँदै आफूलाई स्वस्थ, फुर्तिलो र जाँगरिलो बनाइरहनुपर्छ । तब मात्र सपना साकार हुने अवस्था हुन्छ ।

अहिले भौतिक उन्नतिको प्रभावले हाम्रा घर आँगन, कोठा, चोटा स्विच दबाएर उज्यालो बनाउँछौँ । वास्तवमा यसको मूल आधार शैक्षिक गुणस्तरले देखाएको वृद्धि नै हो । ज्ञानको आधार खोज अनुसन्धान गर्न उत्प्रेरित भइ यस्तो अवस्था आएको हो । तर केही समय अघि पहाडमा दियालोको माध्यम उज्यालो बनाउने गरिन्थ्यो । जो अहिले पनि दुर्गम गाउँबस्तीमा भइरहेको हुनसक्छ । दियालो भन्नाले सल्लाको रुखबाट निकालिएको काठको साना–साना दाउराको मुठा बनाइ बाल्ने चलन भन्ने बुझिन्छ । कतै यसलाई झर्को बाल्ने पनि भनिन्छ ।

यही दियालो सल्काइ बाटोघाटो, घरदैलो उज्यालो बनाइन्छ । त्यस्तै गरी जीवनलाई पनि बुझ्दै जाने हो भने र यसको उद्देश्य पहिचान गर्ने हो भने यो पनि दियालोझैँ छ । दियालो बाल, यसले उज्यालो दिन्छ । चारैतिरको अन्धकार मेटाउँछ तर यदि दियालो सल्काउन जानिएन र यसको सार बुझ्न सकिएन भने यसको धुवाँले आफैलाई अन्धकारमा हिड्न बाध्य बनाउँछ, आँखा, नाक, मुख पिरो भइ जताततै अँध्यारो हुन्छ । यसले आफूलाई मात्र होइन, अरुको अवस्थालाई पनि बिगार्छ ।

त्यसैले दियालोझैँ जीवनको गोरेटो उज्यालो बनाउनु छ भने माया र मोहबाट उत्पन्न आलस्य र स्वार्थलाई परित्याग गरी ज्ञान चछु खोल्नुपर्छ । यदि यस्तो हुन सकेन भने आफू र समाजमा कुप्रवृत्ति बढ्नुका साथै अभिभावकलाई समेत पीडाबोध हुने अवस्था सिर्जना हुनसक्छ । हुन त कतिपयले दियालोको उज्यालो कति समय टिक्छ र ? थोरै समयमै निभ्न सक्छ पनि भनिएला तर के बिर्सनु हुँदैन भने दियालो निभ्न नदिन दियालोको साना–साना दाउरा थप्दै बाल्दै जानुभयो भने यसले सधैँ उज्यालो देखाउँछ ।

बलिरहेको लाल्टिनले संसार उज्यालो बनाउँछ भनिन्छ तर सामान्य लाल्टिनले के संसार देखाउन सक्छ ? यो पनि प्रश्न उठ्नसक्छ । बलेको लाल्टिनलाई बालेर अगाडि बढ्दै जाने हो भने यसले तपाईँ हाम्रो प्रत्येक कदममा उज्यालो देखाउँदै संसार उज्यालो बनाउँछ । फेरि अर्काे प्रश्न पनि उठ्न सक्छ । दियालोको दाउरा कति नै हुन्छ र ? यो पनि त सकिन्छ नि ? फेरि अँध्यारो भइहाल्छ । हो, यो सकिन्छ नै ।

तपाईँ आफै सोच्नुहोस्, तपाईँ कति बाँच्नुहुन्छ ? केही समयपछि तपाईँको जीवन पनि समाप्त हुन्छ, होइन र ? यो त प्रकृतिको नियम हो । सूर्य पूर्वबाट उदाउँछ पश्चिममा अस्ताउँछ र फेरि उदाउँछ । यस्तै जीवन पनि जन्मन्छ, हुर्कन्छ, मर्छ र पुनः जन्म हुन्छ । त्यसैले यो जन्म हाम्रो सौभाग्यले मिलेको हो । यो जन्मको सार्थकता हाम्रो जिम्मेवारी हो भनी ज्ञान र सीप सिकेर सोही अनुसार जीवनलाई कर्मशील बनाउनुपर्छ । हिजो के थियो ? आज के छ र भोलि के हुन्छ ? त्यो चिन्तन नगर ।

वर्तमानलई प्रयोग गर । यो पञ्चतत्वले बनेको शरीर जब माटोमा मिल्नेछ, तिम्रो नजिकको मान्छेले एकछिन दुःख मनाउला, पछि तिनले पनि तिम्लाई बिर्सनेछ । दिन, सप्ताह, महिना, वर्ष भएर बित्ने छ । यसरी सृष्टिको इतिहास चलिरहेको छ । तर तिम्ले गरेको सत्कर्म सधैँ सत्य भइ जीवित रहनेछ । जसरी बुद्ध अहिलेसम्म बाँचेको मानिन्छ । बुद्धले ज्ञानको ज्योति ग्रहण गरी अमर बनेको इतिहास अहिले पनि साक्षी छ ।

कैयौँ वैज्ञानिकले ज्ञानको साधक बनेर युगलाई रुपान्तरण गरेको इतिहास पनि जीवितै छ । त्यसैले हतार मनस्थितिमा होइन, सम्यम र धीर भइ आशाको दियो सधैँ उजागर गराइरहनु पर्छ । आज नभए भोलि अवश्य सफल हुन्छु भनी आफूलाई प्रस्तुत गर्नुपर्छ । सकारात्मक कर्मप्रतिको आफ्नो धारणा पवित्र बनाइ आफूलाई प्रस्तुत गर्नुपर्छ । कलकल बग्ने झरनामा कति पानी बग्यो भनी त्यसतर्फ ध्यान नदेऊ । म र मेरो समय त्यो झरनामा बगेको प्रत्येक बुँदले म कसरी सिंचित भइरहेको छु ? यो बुँद कसरी मेरो जीवनको हिस्सा बनेको छ भनी प्रत्येक क्षणलाई ध्यान दिइ नयाँपनको आभाष गर्न सक्नुपर्छ । कल्पनाको महलमा होइन सपनाको संसारमा सङ्घर्ष गर्न जान्नुपर्छ । तब मात्र सौभाग्यले मिलेको जीवन सार्थक हुन्छ । चेतना भया ।