calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

साहित्य र शिक्षा नै मेरो खुसी …

कर्मठ, मिजासिलो स्वभाव, कला, साहित्य र सङ्गीतलाई जीवनको ढुकढुकी बनाउँदै लेखन, यात्रा अनि अध्ययनमा समर्पित एक सङ्घर्षशील स्रष्टा हुन् भवानी न्यौपाने भावना । ऊनी सधैँ यिनै सुकर्ममा तल्लीन र सक्रिय छिन् । चाहे त्यो साहित्य होस् या शिक्षाको ज्योति बाल्न ।

समाज सेवामा समेत समर्पित न्यौपाने दाङको तुलसीपुरलाई कर्मथलो बनाई सल्यान जिल्लाको हिवल्चा गाउँमा बुवा पवित्रराज न्यौपाने र आमा बिमला न्यौपानेको कोखबाट माइलो सन्तानको रूपमा जन्मिएर दाङ जिल्लाको मिरौली गाउँमा हुर्किएकी हुन् । सबैको सम्मान गर्ने, शिष्ट र मितव्ययी व्यवहार, प्रतिभाकी खानी न्यौपाने नेपाली साहित्यको बागमा छन्द साहित्यकी गौरवशाली पात्र हुन् ।

साहित्य सिर्जनाका साथै शिक्षाको ज्योति बाल्दै हिडेकी भावना लाखौँ विद्यार्थीकी असल गुरु हुन् । उनले पढाएका विद्यार्थी देशभर कोही अध्ययन र कोही सरकारी निजामति सेवामा काम गरिरहेका छन् । यस्तो पवित्र महान् यात्रामा हिडेकी न्यौपानेसँग जीवनका उकालीओरालीमा यात्रा गर्दै गर्दा आफ्नो जीवनले कमाएका खुसीका पलहरू थुप्रै भएको बताउँछिन् ।

छोटो समयमै स्वदेश तथा विदेशका पाठकहरूको माया पाउन सफल भावनाका प्रकाशित कृतिहरूमा ‘भावनाका बिम्बहरू–कविता सङ्ग्रह २०७२’, ‘भावनाका उद्भास–छन्दोबद्ध कविता सङ्ग्रह २०७३’, र ‘भावनाका बहर बाटिका–बहरबद्ध गजल सङ्ग्रह २०७४’, रहेका छन् । यसैगरी उनका प्रकाशोन्मुख कृतिहरूमा छन्द कविता सङ्ग्रह, कथा सङ्ग्रह र मुक्तक सङ्ग्रह रहेका छन् ।

भावना न्यौपानेका प्रत्येक सिर्जना अनि लेखनमा मातृभूमिप्रतिको अगाध सम्मान र स्नेह भेटिन्छ । उनका सिर्जनाका शब्द–शब्दमा राष्ट्रप्रेम छचल्किन्छ । मातृभूमिको काखमा रमाउँदै यहीँका भिरपाखा, पखेरा अनि हरियालीको स्पर्शमा रमाउनु आफ्नो विशेषता भएको उनी बताउँछिन् । सायद नेपाली साहित्यकारको माझमा ऊनी स्वदेशी भूमिका सुन्दर प्राकृतिक यात्राहरू सबैभन्दा धेरै गर्ने साहित्यकार हुन् ।

उनका जीवनका खुसीहरू मैले खोज्दै जाँदा देशका विभिन्न भूगोल र छिमेकी देश भारतबाट गरी करिब तीन दर्जन पुरस्कार तथा सम्मान प्राप्त गरेको र दुईवटा कविता नेपालका निजी विद्यालयको पाठ्यक्रमअन्तर्गत् नेपाली पाठ्यपुस्तकमा र एउटा इच्छा शीर्षकको छन्द कविता खुल्ला विद्यालयअन्तर्गत् कक्षा १० को पाठ्यपुस्तकमा प्रकाशित भएको भन्दै खुसी व्यक्त गरिन् ।

यसैगरी देशका हरेक जिल्लामा अनि बेलायत, सिक्किम, भारतमा विभिन्न रचनाहरू प्रकाशित हुँदै आएका अनि देशका तीन बरिष्ठ चित्रकारहरूले आफूलाई आफ्नो कलामा उतारेको उनी बताउँछिन् । ‘मेरो पहिलो खुसी देश तथा छिमेकी देश भारतबाट सम्मान पाउँदा हो’, भावनाले मुस्कुराउँदै भनिन्, ‘छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको बस्ती राज्यको रुद्रा जनकल्याण साहित्य परिषद्बाट अन्तर्राष्ट्रिय गौरव साहित्य सम्मान २०७२, शान्तिदेवी स्मृति अन्तर्राष्ट्रिय साहित्य गौरव सम्मान २०७३ र लक्ष्मी स्मृति अन्तर्राष्ट्रिय साहित्य सम्मान २०७४ पाउँदा म निकै खुसी भएकी थिएँ ।’

यस्तै नेपालमा पनि करिब दुई दर्जन बढी सम्मान तथा पुरस्कार पाएको भन्दै खुसी व्यक्त गरिन् । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानबाट साहित्य सम्मान २०७०, नेपालगञ्जबाट अलाउद्दिन साहित्य सम्मान –२०७२, राष्ट्रिय नागरिक समाज काठमाडौंबाट राष्ट्रिय शिक्षा तथा साहित्य सम्मान २०७४, गजल अभियान दाङबाट कदरपत्र–२०७२, नारी साहित्य सम्मान २०७५ महेन्द्रनगर, ओखलढुंगाबाट नारी स्रष्टा सम्मान २०७६, पश्चिमी साहित्यिक आवाज प्रतिष्ठानबाट सर्जक सम्मान २०७४, राष्ट्र शान्ति अभियान नेपालबाट –राष्ट्र शान्ति रत्न सम्मान २०७५ जस्ता थुप्रै सम्मान पाएकी छिन् ।

जो यहाँ उल्लेख गर्दा लामो बन्न पुग्छ त्यसैले यति मात्र भावनाले भन्न भ्याइन् । ‘यिनै हुन् मेरा जीवनका अमूल्य खुसीहरू’, उनले भनिन् । त्यस्तै न्यौपानेले आफ्ना रचना देशभर र देश बाहिर पनि प्रकाशित हुँदा दोस्रो खुसी मिलेको सुनाइन् । ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत् खुल्ला विद्यालयको कक्षा १० को अनिवार्य नेपाली किताबभित्र मेरो इच्छा शीर्षकको छन्द कविता छनोट भएर प्रकाशित भएको छ ।

यो समेत हालसम्म मेरा तीन कविताहरू नेपाली पाठ्यक्रमअन्तर्गत् पाठ्यपुस्तकहरू भित्र समावेश भएका छन्, यो नै मेरो सम्पत्ति र खुसी हो’, उनले भनिन् । उनले त्यसलाई तेस्रो खुसीका रूपमा लिइन् । त्यस्तै न्यौपानेले आफ्नो अर्को खुसी तत्काल नयाँ वर्ष २०८० को पहिलो दिन नेपालमा एउटा राष्ट्रिय साहित्यिक संस्था स्वतन्त्र साहित्यपुञ्ज नेपाल खोल्न पाएको भन्दै खुसी व्यक्त गरिन् ।

त्यसमा पनि आफु संस्थापक अध्यक्ष भएर राष्ट्रिय संस्थाको नेतृत्व गर्न पाउँदा अर्को खुसी थपिएको सुनाइन् । भवानी न्यौपाने भावना कवि र एउटा स्रष्टा मात्र नभइ शिक्षण पेसामा समेत एउटी अब्बल शिक्षक हुन् । शिक्षण पेसा भावनाको जीवनको अर्को तर महत्वपूर्ण पाटो हो । ‘शिक्षाको उज्यालो प्रकाशबाट मात्र अज्ञानताको अन्धकार हट्ने भएकोले यो पवित्र क्षेत्रमा म लागेकी छु, यो पनि मेरो जीवनको महत्वपूर्ण खुसी हो’, उनले भनिन् ।

विगत दुईदशकदेखि शिक्षण पेसामा लागेकी न्यौपानले जुन विद्यालय गए पनि विद्यार्थीहरूको निकै प्यारो शिक्षक बन्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘मावि तुलसीपुर सेन्टरमा हुँदा पनि म विद्यार्थीहरूको निकै माया पाएकी थिएँ । सरुवा भएर गएको एक वर्ष हुँदा पनि मावि सेन्टरका विद्यार्थीहरू आफ्नो घरको गेटमा मेडम अब फेरि सेन्टर आउनुहोस् हामीलाई हजुरको अभाव खड्किएको छ भन्दै आँखामा आँसु लिएर आउँथे, म पनि गम्भीर हुन्छु र म प्रतिको समर्पण र प्रेमबाट अत्यन्त भावुक भइरहेकी छु’, उनले बताइन् ।

उनले आफूले शिक्षा दिएका विद्यार्थीहरू देशका विभिन्न क्षेत्रमा पुगेको र जुन विद्यालय पुग्छु विद्यार्थीको सबैभन्दा प्यारो शिक्षक बन्न पुग्छु यो मेरो सबैभन्दा ठुलो खुसी हो’, भावुक हुँदै खुसी व्यक्त गरिन् । आफूले पढाएका विद्यार्थीहरूले आफूलाई कहिल्यै भुलेनन् । यस कुराले छुट्टै खुसी मिल्ने गरेको उनले बताइन् । उनले साहित्य र शिक्षण पेसामा लाग्दा आफूले सबैको माया साथ सहयोग पाएको भन्दै यो पनि खुसीको कुरा भएको सुनाइन् । ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका व्यक्तिहरूले मलाई चिन्नुहुन्छ, यो पनि मेरो अर्को खुसी हो । तुलसीपुर–५ ग लाइन निवासी भवानी न्यौपाने ‘भावना’ साहित्यकार तथा हाल मावि दोघरेकी शिक्षक हुन् ।
 प्रस्तुती : बालाराम खड्का