तुलसीपुर खानेपानीको १८ औं बार्षिक साधारणसभा

तुलसीपुर,२७ जेठ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औँ बार्षिक साधारणसभा तथा कार्यपरिषद बैठक तुलसीपुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै खानेपानी संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाले संस्थालाई आत्मनिर्भर बनाउदै लैजाने, संस्थामा कार्यरत कर्मचारीहरुको जीवन सुरक्षित गर्ने, आम उपभोक्ताप्रति अझ उत्तरदायी भैएर संस्थामा रहेका लक्षित उपभोक्तालाई पुर्याउने बताए ।

संस्थालाई प्रविधीसँग जोडेर प्रदान गरिने सेवालाई छिटो छरितो र पारदर्सी बनाउनका लागी मर्मत संभार तथा पुर्ननिर्माण कोष, कर्मचारी कल्याण कोष, कर्मचारी दायीत्व कोष, सामाजिक उत्तर दायीत्व कोष जस्ता कोषहरु खडा गरि बजेटको समेत व्यवस्था मिलाएको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

आगामी दिनमा संस्थामा वर्षौदेखि पुर्ण रुपमा जीर्ण भएर प्रयोगमा ल्याउन नसकिने सामानहरुको कारणले संस्था परिसरभित्र पानि व्यवस्थापन गर्न समस्या देखिएको भन्दै उनले जीर्ण सामाग्रीहरुको लिलाम बिक्रीका लागी प्रक्रिया मिलाउने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष यमकान्त भण्डारी, पूर्व अध्यक्षहरु, विभिन्न राजनीतिक दलका नेतालगाएतले आ–आफ्नो धारणा राखेका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आथित्यतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव सेवकराम भण्डारीले गरेका थिए ।