गोरक्ष समाचारदाता
छिल्लीकोट, २४ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित ऐतिहासिक, धार्मिक एवम् पर्यावरणीय महत्व बोकेको छिल्लीकोटले पर्यटकीय पूर्वाधार बटुल्दै छ । यद्यपि त्यहाँ पुग्न धुलाम्मे सडक र पुगिसकेपछि सहज खानेपानी आपूर्तिको व्यवस्थापन भने छैन ।
धार्मिक गन्तव्यसँगै पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको छिल्लीकोटको पछिल्लो समयमा मुहार फेरिएको छ । सुनसान छिल्लीकोटमा सञ्चालनमा आएका एक दर्जन सामुदायिक होमस्टे र केही निजी होमस्टे सञ्चालनमा आउँदा दाङ जिल्लाबाट मात्र नभएर त्यहाँ जिल्ला बाहिरका पर्यटक पनि आउन थालेका छन् । छिल्लीकोटलाई सम्बोधन गर्न पक्की सडक एउटा निर्विकल्प माध्यम भने हो । यद्यपि यसलाई तीनै तहका सरकारले सम्बोधन गर्न चाहिरहेका छैनन् ।
शान्ति सुरक्षाको गुनासोसँगै केही समय अघि छिल्लीकोटमा अस्थायी प्रहरी चौकी स्थापना भइसकेको छ । यस अघि नै पर्यटन विभाग, तुलसीपुर उपमहानगरपालिकालगायत प्रदेश सरकारको सहयोगमा भ्यू टावार र खानेपानीका योजना पनि सञ्चालनमा छन् । जसोतसो होमस्टेमा पानीको सहज व्यवस्थापन भए पनि सर्वसाधारणका लागि भने छिल्लीकोटमा पर्याप्त पानी छैन । छिल्लीकोटबासीको एउटै गुनासो छ, पक्की सडक भए मुहार फेरिने थियो ।
‘हामीले मुलुक आर्थिक सङ्कटमा परेकाबेला केही धेरै मागेका छैनौँ, पक्की सडक निर्माणमा सङ्घीय सरकारले पहल गरे हामी आभारी हुने थियौँ’, स्थानीय नरबहादुर वलीले भने । अहिले छिल्लीकोट खाली छैन, कुनै न कुनै बाह्य जिल्ला र गृहजिल्लाका पर्यटकले छिल्लीकोट भ्रमण गरिरहेका छन् । गर्मीको मौसममा त झनै बढी पाहुना यहाँ आउने गरेको छिल्लीकोटका सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष परवीर पुनले बताए तर अझै पर्यटकीय पूर्वाधार थप्न तीनै तहका सरकार जागरुक हुनुपर्ने उनको आग्रह थियो ।
यही प्रसङ्गमा छिल्लीकोटमा जिपलाइन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा पर्ने छिल्लीकोट पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रमा आउने सर्वसाधारणलाई साहासिक खेल खेलेर रमाऊन् भन्ने उद्देश्यले निजी क्षेत्रबाट जिपलाइन निर्माणको काम भइरहेको हो । अहिले जिपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
दुई वर्ष पहिले कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा छिल्लीकोट रिसोर्ट एण्ड एडभेन्चर प्रालिको नाममा कम्पनी दर्ता गरी जिपलाइन निर्माणको काम सुरु गरिएको म्यानेजिङ डाइरेक्टर ६५ वर्षीय शिव श्रेष्ठले बताएका छन् । उनी तुलसीपुरका औषधी व्यवसायी पनि हुन् । सो अभियानमा तुलसीपुरका युवा २८ वर्षीय श्रीधर न्यौपाने, सोही उमेर समूहका माधव कार्की र शिव श्रेष्ठकी बुहारी आरती श्रेष्ठको संयुक्त लगानीमा दुई वर्ष पहिले नै जिपलाइन निमार्णको काम सुरु गरिएको थियो ।
यो बीचको कोरोना महामारी र केही प्राविधिक समस्याले काममा केही ढिलाइ भएको सञ्चालकहरूले बताएका छन् । हालसम्म एक करोड जति लगानी पुगिसकेको र सबै संरचना तयार भइ पूरा हुँदासम्म झण्डै डेढ करोड लाग्नसक्ने अनुमान लगानीकर्ताको छ । जिपलाइन सञ्चालन पछि उनीहरूले रिसोर्ट निर्माण गर्ने उद्देश्य लिएका छन् । त्यसका लागि उनीहरूले पहिले नै जग्गा किनेका छन् । ‘जिपलाइनको काम सकिने बित्तिकै हामी रिसोर्ट निर्माणतर्फ लाग्ने छौं’, श्रेष्ठले भने, ‘यहाँ आउने पर्यटकहरूले सहासिक खेल्दै मनोरञ्जन लिनुका साथै यहीँ रिसोर्टमा बसेर रुचीअनुसार स्थानीय परिकार पनि खान पाउन भन्ने हाम्रो चाहाना छ ।’
थ्री स्टार लेबलको रिसोर्ट, साइकिलिङ, मिनी बन्जी–जम्प बनाउने गरी स्वीकृति लिइसकेको अर्का सञ्चालक न्यौपानेले जानकारी दिए । उनीहरूले सरकारले छिल्लीकोटको मालिका कालीका देवी मन्दिरसम्म पुग्नका लागि राम्रो सडक बाटो, बिजुली बत्ती, पानीको व्यवस्था गर्न अत्यन्तै आवश्यक रहेको पनि श्रेष्ठले बताए । आफूले भने जसरी सबै संरचनाहरू निर्माण भएमा छिमेकी जिल्ला सहित छिमेकी देश भारतबाट समेत पर्यटकहरू आउने उनले आशा व्यक्त गरे ।
‘छिल्लीकोटलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन मद्दत गर्नु हाम्रो उद्देश्य हो’, न्यौपानेले भने, ‘त्यसो हुन सकेमा छिल्लीकोटको विकासले धेरै फड्को मार्ने अपेक्षा छ ।’ छिल्लीकोट राज्य एकीकरणसँगै नेपालमा गाभिएको थियो । जहाँ अहिले पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले भ्यूटावर निर्माण गरिएको छ । त्यहाँबाट सिस्ने हिमाल, धौवलागिरि हिमाल, दाङ उपत्यकाको समथर फाँट देख्न पाइन्छ । जिपलाइन निर्माणको लागि भारतबाट प्राविधिक टोली आएका छन् ।
जिपलाइनको काम अन्तिम चरणमा पुगेको भन्दै अब टिकट काउन्टर, ड्रेस चेञ्जिङ कक्ष, चमेनागृह, ट्वाइलेट, बाथरुम निर्माणको काम अगाडि बढ्ने उनले बताए । ती संरचना तयार भइसकेपछि डेमो प्रदर्शनहरू सुरु हुने अर्थात् जिपलाइन पनि अनौपचारिक रूपमा सुरु हुने उनीहरूले बताए । तर विधिवत उद्घाटन भने आगामी दशैँको घटस्थापनाका दिन गर्ने सोच रहेको श्रेष्ठले जानकारी दिए ।
तुलसीपुर–१९ छिल्लीकोट स्थित भुल्के सामुदायिक वनमा जिपलाइन निर्माण गरिएको छ । जसको ९० प्रतिशत काम सकिएको सञ्चालक श्रीधर न्यौपानेले जानकारी दिए ।
‘अब १० प्रतिशत मात्र काम बाँकी छ’, उनले भने, ‘वनसँग निजी साझेदारी कार्यक्रम अन्तर्गत काम भइरहेको छ ।’ सामुदायिक वनलाई वार्षिक रूपमा फाइदाको अर्थात टिकट काटेको पाँच प्रतिशत शुल्क दिने गरी पहिलो चरणमा १० वर्षको सम्झौता भएको सञ्चालक न्यौपानेले बताए । यो तयार भएमा दाङ जिल्लाको पहिलो र लुम्बिनी प्रदेशको सबैभन्दा लामो जिप लाइन हुनेछ । यसको दूरी ११ सय मिटर छ । अप्ठेरो भूगोलका कारण सबै सामान मानिसले बोकेर ल्याउनु पर्दा काममा केही ढिलाइ भएको न्यौपानेले स्वीकार गरे ।
बैशाख महिनामै जिपलाइन सञ्चालनमा ल्याउने योजना रहे पनि तार बिछाउनेदेखि विभिन्न प्राविधिक समस्या आउँदा ढिलाइ भएको उनले जानकारी दिए । जिपलाइन साहासिक खेलअन्तर्गत् पर्छ । छिल्लीकोट आफैमा एउटा ऐतिहासिक पर्यटकीय र धार्मिक क्षेत्र भएकोले यहाँ दैनिक सयौँको संख्यामा पर्यटक आउने गर्छन् । छिल्लीकोटको विकासका लागि केही नयाँ कुराहरू ल्याइ पर्यटन प्रबद्र्धनमा टेवा पुगोस् र स्थानीय स्तरमा रोजगारी बढाउने उद्देश्यले आफूहरू मिलेर योजनाको काम अघि बढाएको न्यौपानेले बताए ।