नारायणप्रसाद श्रेष्ठ
जीवन टर्च लाइटको त्यो उज्यालो हो, जसलाई बाल्न जाने संसार सधैँ उज्यालो देखिन्छ । तसर्थ, उज्यालोको त्यो शक्तिलाई सधैँ उज्यालो बनाइराख्न जसरी टर्चलाई चार्ज गरिरहनु पर्छ त्यसरी नै मानवीय स्रोत, चिन्तन र व्यवहारमा रहेको आत्मिक शक्तिलाई सकारात्मक भाव जागृत गर्ने गरी चार्ज गरिहनुपर्छ । जीवन यात्रा हो ।
केवल हामीले यसको गतिशीलतामा उब्जने सोच र चिन्तनमा शुभभाव जागृत हुने विचारहरु संप्रेषण गर्न जान्नुपर्छ । मनभित्र लुकेको जति पनि विचार छन्, ती सबै राम्रा छन् भनी भन्न सकिन्न । किनकि देख्ने आँखाले निर्माण गरेको सोच, भौतिक मोहले विकृत पनि भएको हुन्छ । तसर्थ, त्यसलाई बुझ्न जरुरी छ । यदि समयसापेक्ष र समाजमा अपाच्य हुने विचार प्रदर्शन हुने अवस्था आयो भने यसले आफैलाई कमजोर र निसहाय बनाउन सक्छ । जीवनमा कुन विचारले के चमत्कार हुन्छ वा कुन समयले कस्तो अवस्था सिर्जना गर्न सक्छ त्यसलाई बुझ्न जरुरी हुन्छ ।
अर्काे कुरा जीवन आशा र भरोसाको नायक पनि हो । जसले कुनै पनि बेला नयाँ विचार दिनसक्छ । नयाँपनको सिर्जनासँगै समाज र परिस्थितिलाई नयाँ मोडमा पनि लैजान सक्छ । तसर्थ, त्यसलाई गम्भीर रुपले चिन्तन गर्न सक्नुपर्छ । भनिन्छ– मान्छे स्वयम् हिरो हो । यसले कुनै पनि बेला नयाँ चमत्कार गर्न सक्छ । आज नभए भोलि, भोलि नभए पर्सि या पर्सि नभए त्यसपछि पनि यसले आफूलाई सफलताको चोटीमा पु¥याउन सक्छ । सबैले आफूलाई यो कुरा दृढसंकल्पित भएर बुझ्न सक्नुपर्छ ।
जीवन यात्राको सबै पक्षको गम्भीर मूल्याङ्कन गरी यात्रा सहज र वातावरणअनुकूल विचार परिस्कृत गर्दैै प्रत्येकले आफ्नो लक्ष्य निर्धारण गर्न सक्नु पर्छ । मानवले मानव भएर बाँच्ने आधार तयार गर्नुपर्छ । सामाजिक बन्धनभित्रको भौतिक मोहले जीवनलाई कमजोर बनाउन नसक्ला भन्न सकिन्न । यत्रो वर्षसम्म त केही गर्न सकिएन अब के सकिएला, यस्ता विचार पनि मनमा उब्जन सक्छन् तर यसलाई खासै महत्व दिनु हुँदैन । के थाहा? तपाईँको भविष्यको गति उज्यालो हुँदै अन्तिम क्षणमा पनि चमत्कार बन्नसक्छ । त्यसैले जीवनमा निराशा कहिल्यै जगाउनु हुँदैन र मैले यो गर्न सक्दैन भनी सोच्नु पनि हुँदैन ।
जीवन सौभाग्यले मिलेको हुन्छ । यसलाई भौतिक चकाचौधको जालमा फसाइ मोह र आशक्तिभित्र परिभाषित हुन दिने हो भने मानिस कहिल्यै सफल हुन सक्दैन । यस्तै गरी गर्न सक्छु वा सक्दैन भनी जीवनको गतिमा असम्भवको परिभाषाभित्र बाँचने कोसिस गरियो भने पनि मानिसले कहिल्यै प्रगति गर्न सक्दैन । जीवनको सबैभन्दा खतरा परिस्थिति भनेको आफ्नो सपना आफ्नै अगाडि आफैले सम्हार गरी आफैलाई बिलय गराउनु मानिन्छ । जीवनमा धेरै दुःख, कष्ट आउनसक्छ । अप्ठेरो पर्न पनि सक्छ तर त्यो खतरा होइन, न त समस्या नै हो । यो त परिस्थितिले सिर्जना गरेको अवस्था हो । तर आफ्नो उद्देश्य र सपना मर्नु भनेको जीवनको सबैभन्दा दुर्भाग्यको क्षण हो ।
त्यसैले सपना बाँडेर जीवनमा सफलता हासिल गर्छु भनी अगाडि बढ्नुको साटो निरन्तर सपना साकार गराउन सङ्घर्षरत रहनुपर्छ र आत्मविश्वासका साथ जीवनलाई गति दिनु पर्दछ । सपना त्यो होइन, जो निदाएपछि देखिन्छ । सपना त्यो हो, जसले जीवनमा सधैँ सङ्घर्ष गर्दै जान उत्प्रेरणा जगाउँछ र निदाउन दिँदैन । त्यसैले जीवनको प्रत्येक पलमा आउने कष्टलाई यो मेरो चुनौती र अवसर हो भन्ने ठानी आफूलाई कहिल्यै रुन नपर्ने परिस्थिति सिर्जना गर्नु पर्दछ । वर्तमानमा जुन देखावटीपन छ त्यो केवल स्वार्थ र अहमवादी चिन्तन हो ।
उसलाई सहयोग नगरे, उसले भनेवमोजिम नगरे, म अप्ठेरोमा पर्नसक्छु, सहयोग परस्परिक भएन भने पछुतो हुनसक्छ भनी जुन चिन्तन गरिन्छ वास्तवमा यसले नै मानव जीवनमा दुःखको अवस्था सिर्जना गर्न सक्छ । त्यसैले जीवनलाई भरोसा र योग्य बनाइराख्नुपर्छ । निःस्वार्थ शब्द त्यसै निस्केको होइन । स्वार्थको चरम विन्दु पार गरेपछि यसको उत्पत्ति भएको हो । जिन्दगीले तब मात्र निःस्वार्थको परिभाषा बुझ्न सक्छ जब स्वार्थले चरम सीमा नाघ्ने परिस्थिति जन्मन्छ । त्यसैले आत्तिनु पर्दैन । जिन्दगी जति छ त्यही जिन्दगी हो । जिन्दगी छोटो छैन । यसले कुनै पनि बेला आफ्नो सपना पूरा गर्न सक्छ ।
भर्खरका युवा जामात जो १७–१८ मा छन्, तिनीहरुले त निराशा शब्द कहिल्यै उच्चारण गर्नु हुँदैन । किनकि १७ वर्ष नभए १८ मा अवश्य सफल बनिन्छ भनी सङ्कल्पका साथ अगाडि बढे सफलता स्वयम् सामू आइपुग्छ । अर्को कुरा निराशाले आशाको दियो डुबाउन सक्छ । तसर्थ यस कुरालाई बुझी जीवन आशा र भरोसा, मिहिनेत र सङ्घर्षको सङ्गम हो । यहाँ हरहमेसा आशा, हौसला, त्याग र समर्पणले मानिसलाई अगाडि बढ्न उक्साइरहको हुन्छ भनी त्यो अवसरलाई प्रयोग गर्न सक्नुपर्छ ।
बर्खापछिको खेती के काम ? परीक्षा सकिसकेपछिको अध्ययन के काम ? समय घर्किसकेपछि सङ्घर्ष गर्छु भन्ने विचार के काम ? डुब्न लागेको सूर्यलाई बिहानीको उज्यालो भनी कुर्लने विचार भनेको तेल सकी निभ्न लागेको दियो जस्तै हो । त्यसैले समय र परिस्थिति अनुकूल जीवन र जगतको वास्तविकतासँग जुधेर अगाडि बढ्ने सङ्कल्प गर्नुपर्छ । आज नभए भोलि अवश्य मेरो सपना पूरा हुन्छ भनी आशाको दियो जलाइरहनुपर्छ ।
जीवन मैनबत्तीको प्रकाश होइन, जो जल्दै र सकिँदै जान्छ । जीवन त सूर्यको त्यो रोशनी हो जसको कर्म र व्यवहारले संसारलाई उज्यालो गतितर्फ आकर्षित गरिरहेको हुन्छ । आज एक झुट बोलेर के भयो भनी क्षणिक स्वार्थ लिने कोसिस गरियो भने त्यो मानव जातिको लागि दुर्भाग्य बन्नसक्छ । त्यसैले जीवनको प्रत्येक पाइलामा आशा र भरोसा एवम् विश्वासलाई सम्हाल्दै अगाडि बढ्ने सङ्कल्प गर्नुपर्छ । जीवन अवसर र चुनौती साथै सौभाग्य हो भनी आफूलाई सोही मुताविक कर्ममा परिणत गर्नुपर्छ ।
बालापानमा देखेको भोगेको सत्यले जसरी जीवनभर पन्छाइरहन्छ, जीवनसँग छायाँ नछुट्टिँदासम्म निरन्तर पिछा गरिरहेझैँ बचपनको बानीले मानिसको यौवनावस्था र त्यसपछि पनि प्रभाव पारिरहेको हुन्छ । तसर्थ त्यस यथार्थलाई बुझी कुन सत्यले मेरो सपना साकार हुन्छ भनेर निश्चित गन्तव्य पहिचान गर्न सक्नुपर्छ । जसको मनमा जे–जस्तो विचार, चिन्तन र सोच हुन्छ उसले त्यस्तै परिणाम भोग्नुपर्छ भन्ने सत्य कदापि भुल्नु हुँदैन । हाम्रो बालमस्तिष्कमा यदि गरिबी र असहायको छाप घुसेको छ भने त्यसलाई तोडेर अगाडि बढ्न निकै सङ्घर्ष गर्नुपर्छ । त्यसैले जिन्दगी सङ्घर्ष र सफलताको अर्को रुप हो भन्ने सोची मनमा रहेको द्विविधा परित्याग गर्न सक्नुपर्छ ।
कर्ममा सुद्धता र मनमा दृढता ल्याइ सपना साकार बनाउने कार्यमा सङ्घर्षरत रहनुपर्छ । मनभित्र लुकेको स्वार्थलाई जतिसुकै ढाकछोप गरे पनि एक दिन यसले आफ्नो रुप अवश्य देखाउँछ भन्ने सत्यलाई बुझी मनभित्र रहेको घमण्ड, स्वार्थ र अहङ्कारीपनलाई त्याग्न सक्नुपर्छ । जसरी एउटा आमाले आफनो बच्चाको लागि सम्पूर्ण सुख, सुविधा परित्याग गरी उनको भविष्य उज्यालो गराउन समर्पित भइरहेकी हुन्छिन् त्यसरी नै प्रत्येकले आफूलाई समर्पित गर्न सक्नुपर्छ ।
हाम्रो जीवनले सधैँ आमाको माया नपाउन सक्छ तर आफूले त आमाको त्याग र समर्पण अनुकूल अरुलाई माया र स्नेह दिन त सकिन्छ नि ! यो कुरा सबैले बुझ्न सक्नुपर्छ । यसैलाई भनिन्छ, सामाजिक क्रान्ति । समाजमा विद्यमान कुरीति भनेकै हाम्रो मनभित्र गाडिएको गलत मानसिकता हो । चोरी गर्नु, ढाँट्नु, छल्नु यो मानवीय चरित्र होइन । यो त सोचको दरिद्रताले ल्याएको नाङ्गो चरित्र हो । तसर्थ यस्तो चरित्र निर्माण गर्ने मानवीय चिन्तनलाई हटाइ सामाजिक सद्भावमा फेरबदल गर्न सक्नुपर्छ । जीवन अवसर र सौभाग्यले मिलेको छ । यसलाई बुझेर आफ्नो सपना साकार गर्न आजैदेखि लाग्न जरुरी छ । यो कुरा गम्भीर रुपले सबैले चिन्तन गर्न जरुरी छ । वर्तमानले यही खोजिरहेको छ ।