शिव घर्तीमगर
दाङ,२१ जेठ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ बाह्रकुने दहस्थित बराहदेवताको आइतवार (आज) विशेष पुजासहित मौलाकोटाको थानमा सारिएको छ ।
हरेक २ बर्षमा एक पटक बर्षा शुरु भए लगतै बाह्रकुने दह थानबाट बराह देवतालाई घोराही उपमहानगरपालिका १३ कै मौलाकोटमा रहेको बराहथानमा लगिने परम्परा रहेको छ । सोही परम्परा अनुसार आइतवार बराह देवतालाई मौलाकोट लगिएको हो ।
बराह पुजारी विष्णुप्रसाद घर्तीका अनुसार जेठासी पुर्णिमाको दिन बराहलाई विशेष पुजासहित मौलाकोटमा लगिने र हिउँद शुरु भए लगतै असोजको पाँच पुन्निमा बाहु्रकुने दहको थानमा सार्ने परम्परा रहको छ । बराहलाई कुल देवता मान्नेहरुले आजबाट नै कुल पुजा गर्ने चलन रहेको छ । कन्ने पुजारीले विशेष पुजा गरी पन्चवली भेडा, राँगा, सुंगुर भाले र बोकाको विभिन्न देवतालाई बली दिने चलन रहदै आएको छ ।

कन्य पुजारीले तातो तेलमा खाली हातले देवताको लागि रोटी बनाउने र उक्त रोटी बनाउदा पुजारीलाई कुनै पनि शारीरिक अप्ठ्रयारो नहुने दैवी शक्ति रहेको मन्यता छ । बाह्रकुने दहमा रहेका कान्छा बराहको विशेष पुजा गरी कोट सारिएको पुजारी घर्तीमगरले बताए ।

विशेष पुजाआराधनामा १३ वडाका अध्यक्ष डुल्लुराम पोख्रेलसहित जनप्रतिनिधिहरु, वडाबासीलगायतका सयौंको संख्यामा भक्तजनको सहभागीता रहेको थियो । बराहक्षेत्र संरक्षण सम्बद्र्धन तथा धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्तीले भरी पुजा अर्थात जेठासी पुर्णिमा सम्पन्न गर्न सहयोग गर्नुहुने पुजारी, भक्तजन, समितिका आजीवन सदस्य, सल्लाहाकार, पूर्व पदाधिकारी, टोलबासी सबैमा धन्यावद व्यक्त गरेका छन् ।