जनतालाई सरकारको महशुस गर्नेगरी काम गर्छौ : मन्त्री खनाल

दाङ,१२ जेठ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले आलोचनात्मक प्रवृत्तिलाई त्यागेर समृद्धि लाग्नुपर्ने आग्रह गरेका छन् । नेपाली कांग्रेस दाङले शुक्रवार घोराहीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री खनालले पार्टीगत रूपमा आलोचना नगरी जनतालाई सरकार भएको महसुस गराउने गरी काम गर्ने बताएका हुन् ।

मन्त्री खनाले धेरै काम गर्ने आश्वासन दिलाउनुभन्दा गुणात्मक काम गर्ने बताए । ‘लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधारका लागि सरकारको तर्फबाट हुने काममा कुनै कमी हुने छैन । स्वास्थ संवेदनशील क्षेत्र हो’,मन्त्री खनालले भने,‘नागरिकको स्वास्थ्यसँग कुनै प्रकारका सम्झौता हुँदैन । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य क्षेत्रलाई प्रभावकारी तथा सर्व सुलभ बनाउन लागिपर्नेछ ।’

मन्त्री खनालले संगठन सबैभन्दा अपरिहार्य रहेको बताउँदै संगठन कुनै संघ, संस्थाका लागि मात्र नभई समाज र देशका लागि हुनपर्नेमा जोड दिए । ‘राष्ट्रिय राजनीतिमा तरलता सिर्जना भएका कारण समृद्धिका कार्यलाई सरकारले प्रभावकारी रूपमा अगाडि बढाउन सकेको छैन’,उनले भने,‘यो अवस्थामा हामीले काम गर्नुपर्ने अवस्था छ ।

त्यसैले धेरै काम गर्नुभन्दापनि थोरै गुणात्मक काम गर्नेगरी सोचिरहेका छौ’। नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपसभापति कमानसिंह भारतीले स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अर्जुन योगीले गरेका थिए ।