सार्वजनिक यातायात, बिरालो बन्दै बाघ …

  •   
  •  

खेमराज रिजाल
तुलसीपुर, १० जेठ । तुलसीपुर बसपार्क राप्ती अञ्चलकै सडक यातायातको ट्रान्जिट हो । नेपालगञ्ज, बुटवल, सल्यान, रुकुम र सुर्खेतलगायत मुख्य सहरहरूमा सडक यातायातसँग जोडिएको तुलसीपुर बसपार्क नै हो तर पछिल्लो समयमा तुलसीपुर बसपार्क ऐतिहासिक जनआन्दोलनको अवस्था जस्तै छ । यात्रु तान्दा कसैका खुट्टा मर्किएका छन् कसैका झोला एउटा गाडीमा यात्रु अर्को गाडीमा पनि भएको अवस्था छ तर अस्वस्थ प्रतिस्पर्धा भने जारी रहेको छ ।

घोराहीबाट तुलसीपुर आउँदै गर्दा एउटा सार्वजनिक यातायातमा सेवा लिए । गाडीमा बाघको चिह्न थियो । लोकल गाडी कुन समितिको हो भन्ने मैले सोधिन तर सो गाडीका स्टाफले भने हामीले साहुजीलाई पैसा दिने अवस्था नै छैन । उनले बल्ल–बल्ल–१९ लिटर तेल हाले, उनको टाइगर यातायात । पूरै तेल हालेको भए उनको गाडीमा सय लिटर तेल अटाउन सक्थ्यो तर आम्दानी छैन । टाइगर चिह्न अङ्कित यातायातको ।

मैले सम्झे सोमालियामा भोकमरी हुँदा अमेरिकाले बिरालो दौड प्रतियोगिता आयोजना गरेको थियो । त्यसमा सोमालियाकै बिरालो फस्ट भएको उखान सुनेको थिएँ । किनकि अन्तर्राष्ट्रिय बिरालो दौड प्रतियोगितामा सोमालिकाको बाघ बिरालो बनेर प्रतिस्पर्धा गरेको थियो । त्यो रहस्य जितपछि मात्रै आयोजकलाई खोलेको थियो । हो, यसैगरी यहाँका यातायात व्यवसायीहरू बाघबाट बिरालो बन्दै छन् । किनकि सार्वजनिक यातायातमा सिस्टम छैन, अनुगमन छैन, निगमन छैन । त्यसैले तुलसीपुर बसपार्क अहिले आन्दोलनको अवस्थामा गुज्रिरहेको छ ।

सार्वजनिक यातायात सेवा सडकमा जुन बेला क्रियाशील हुनुपर्दछ, त्यो बेला उनीहरूलाई टिकाउन सक्ने यात्रु होउन् तर यहाँको यातायात संस्कृति धमिलिएको छ । टाइगर चिह्न भएको सो बसले तुलसीपुरसम्म पुग्दा जम्मा ५ सय बचत गरेको थियो तर उसलाई समितिले चल्न भनेको थियो । ४२ सिट भएको गाडीले तुलसीपुरसम्म पुग्नलाई एउटा पेट्रोल पम्पमा १९ लिटर मात्रै डिजेल हालेको थियो । साहुलाई दिने पैसाको उसले कुनै परिकल्पना गरेको थिएन । किनकि सो गाडीमा ७ जना मात्रै यात्रु थिए । यसरी जबर्जस्त यातायात सेवा किन दिनुप¥यो ? आम यात्रुहरूले यही प्रश्न सोधिरहेका देखिन्थे तर जवाफ टाइगर बससँग थिएन ।

एकद्वार प्रणाली अर्थात आलोपालो प्रणालीलाई मान्न यातायात व्यवसायीहरू तयार भएनन् । भएभरका प्रालिका गाडीहरू सडकमा निकाल्न उर्र्दी गरे तर प्रालिमा आबद्ध साहुजीहरू दिनदिनै मरिरहेका छन्, रातभरि मरिरहेका छन् । अर्थात्, यात्रुविहीन अवस्थामा सडकमा जबर्जस्त गुडिरहेका छन् । यातायात प्रालि सम्बद्ध अधिकारीहरूले उनीहरूलाई आफ्नो इगोका भरमा नाफा नभए पनि चल्न निर्देशन गरिरहेका छन् ।

यो अवस्थाले तुलसीपुर बसपार्क अहिले यात्रु तान्ने मात्रै होइन बोकेरै आफ्ना गाडीमा हाल्ने अभ्यासमा छ । प्रहरी निकाय मुकदर्शक बनिरहेको छ । यात्रु एउटा बसमा झोला अर्कै बसमा । पछिल्लो समयमा नेपालगञ्ज काउण्टर प्रभावित भएको छ तर समितिका पदाधिकारीहरू यो विषयमा कत्ति पनि गम्भीर भएका छैनन् । न त यातायात व्यवस्था कार्यालय र बसपार्कको प्रहरीले नै यो विषयमा सुरक्षा व्यवस्थापन गर्न सकेको छ ।

सडक त्यो बेलासम्म सुचारु हुनु पर्दछ, जतिबेला सार्वजनिक यातायातमा चल्ने मास भोलुम हुन्छ तर यात्रु बिना नै सडकमा सार्वजनिक यातायातका साधन लाइन लाग्ने र तानातानको अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण भएको बसपार्कमा भेटिएका एक यात्रुले बताए । ‘धेरै गाडीहरू खाली छन् तर हामीलाई तानातान गरी जबर्जस्त रूपमा गाडीमा लग्ने अभ्यास हामीलाई ठिक लागेन’, सल्यानबाट तुलसीपुर हुँदै नेपालगञ्ज जान लागेका यात्रु विवश नेपालीले भने । उनले यात्रुमाथि गाडी चढ्नु अघि नै दुव्र्यवहारको अवस्था अन्त्य गर्न पनि स्थानीय प्रशासनको ध्यानाकर्षण गराए ।

हो, दाङको सार्वजनिक यातायात बेलगाम भएको छ । पाएको बेला जबर्जस्त सिन्की खादेजस्तै यात्रु बोक्ने, नपाएको बेला रित्तै दौड्ने प्रवृत्ति हाबी भएको छ । आलोपालोको कुनै व्यवस्थापन छैन । मनोमानी सवारी साधनहरू खाली पनि गुडिरहेका छन्, प्रालिको अस्तित्व जोगाउनका लागि तर त्यो यसै मामिलामा त्यो टाइगर चिह्न पेन्ट गरिएको सवारीधनी मरिरहेका छन्, किस्ता निर्तका लागि । धेरै यातायात व्यवसायीहरूको यही सामूहिक पीडा थियो ।

त्यसो त इन्धन खपतका लागि त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले दुईवटा विद्युतीय गाडी पनि ल्याएको थियो तर केही प्रालिलाई त्यो आच्य भएन । केही दिन अवरोध पनि भयो । त्यसैबाट फेरि अर्को विद्रोह भयो तर पनि एउटा विद्युतीय गाडी भने सञ्चालनमा आएको बताइएको छ । अरु गाडी कसरी चल्ने भन्ने विषयमा यातायात व्यवसायी प्रालिहरूबीच समन्वय हुनसकेको छैन । जबर्जस्त प्रतिस्पर्धाका आधारमा गाडी सडकमा ल्याउने प्रवृत्तिले यातायात क्षेत्रमा लगानी गर्ने व्यवसायीहरू बाघबाट बिरालो बनिरहेका छन् । अर्थात् यातायात व्यवसायीहरू अस्वस्थ प्रतिस्पर्धाका कारण समग्र रूपमा घाटाको व्यवसायमा छन् ।

‘हामीले अघिल्लो समयमा एक डायल सिस्टम लागु गरेका थियौँ तर अन्य व्यवसायीहरूको त्यसमा असहमति भयो, यसैले समस्या हामीलगायत सबै प्रालिलाई भएको छ’, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले भने । यातायात व्यवसायी महासंघको सल्लाहकार पनि भएको नाताले यो विषयमा फेरि एक चरणको छलफल हुने उनको अभिव्यक्ति थियो ।

यद्यपि तुलसीपुर टेक्सी व्यवसायी समितिका अध्यक्ष पवनकुमार बुढाथोकीले भने आफुहरू मिचुवामा रहन नसक्ने बताए । आफ्नो समितिका सय बढी गाडी हुँदा पनि सिङ्गल डायल सिस्टममा जानुपर्ने आफ्नो प्रालिको बाध्यता नरहेको बताए । यही अवस्थाले यातायात क्षेत्रमा लगानी गर्नेहरू धरासायी बन्दै गरेका छन् । अर्थात बाघ बन्दै बिरालो … । यातायात व्यवसायीहरूको अवस्था यस्तै छ । न सिस्टममा, न त कुनै लगाम ।