Goraksha

National Daily

लकडाउनमा बिश्वसनीयता कायम राख्ने चुनौतीको सामना गरौं : ब्यवसायी नेताहरु

दाङ,१ बैशाख । व्यवसायी नेताहरुले व्यवसायीक बिश्वसनीयता कायम राख्ने चुनौति आफूहरुका सामु उपस्थित भएको बताएका छन् । उनीहरुले अत्यावश्यक सामग्रीको सहज उपलब्धताका लागि आबश्यक समन्वय गरेर अगाडि बढेमा सो चुनौतिको सामना संभव हुने पनि बताएका छन् । कोभिड १९ र ब्यबसायिहरुको भूमिकाको बिषयमामा संबाद समूह दाङको भिडियो सम्बादमा व्यवसायी नेताहरुले यस्तो बताएका हुन् ।

भिडियो कन्फ्रेरन्स मार्फत गरिएको संबादमा दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले जिल्लाका सबै बजारमा मूल्यमा एकरुपताका लागि आह्वान गरे । मूल्य सूचीमा एकरुपता गर्न सके संकटको बेला ब्यबसायीहरुको बिश्वसनीयता बढ्ने बताए । उनले, लकडाउन पुनः थप हुने स्थिति आउने संम्भाबना रहेमा जिल्लामा खाद्यन्न तथा उपभोग्य बस्तुको मौजाद(स्टक)को लेखाजोखा गर्न तर्फ लागि हाल्नुपर्ने सुझाब दिए ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत(बिरु)ले तुलसीपुरमा खाद्यन्नको भण्डारण ६ महिनालाई पुग्ने जानकारी दिए । उनले आत्तिहाल्नुपर्ने अबस्था नरहेको पनि बताए । महत्वपूर्ण बिषय भनेको बिश्वब्यापी महामारिको रुप लिएको कोरोना भाईरस संक्रमणको सर्तकताका लागि आम ब्यबसायी लाग्नुपर्ने रहेको उनको भनाई थियो । उनले सामाजिक दुरी नै कोभिड १९ को ओखती भएकाले त्यसलाई बिशेष ध्यान दिनुपर्ने सुझाए ।

देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले दैनिक रुपमा घर फर्कन पूर्बपश्चिम राजमार्गमा हिड्ने पैदल यात्रीको समस्या प्रति राज्यको नजर पुग्नै नसकेको बताए । ‘हजारौ पदैल यात्रुको कथा फरक छ, उनीहरु भोग र प्यासमा हिडेका छन्, देउखुरी उद्योग बाणिज्य संघले खाना तथा अन्य ब्यबस्थापन गर्दै आएको छ तर कहिले र कति समयसम्म थेग्न सक्ने ?’ उनले प्रश्न गरे ।

हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आईतबारेले पश्चिम दाङको ग्रामीण क्षेत्रका नागरिकलाई खाद्यन्न तथा उपभोग्य बस्तुको संकट पर्ने सक्ने बताए । उनले भने,’मूख्य बिषय भनेको ढुवानी हो । यसमा दाङ उद्योग बाणिज्य संघ र तुलसीपुर उद्योग बाणिज्य संघले समन्वयकारी भूमिका खेलिदिनुपर्छ ।’

भीडियो कन्फ्रेरन्स मार्फतको संबादमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य ध्रुवराज श्रेष्ठ(भारी)ले मुलुकभरीका ११२ वटा नीजि क्षेत्रको छाता संगठनले लकडाउनको यो परिवर्तित अबस्थामा आम नगारिकलाई सहज र सरल तरिकाले खाद्यान्न तथा उपभोग्य बस्तुको आपुर्ति गरिरहेको जानकारी दिए ।

तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजालले दाङका बिभिन्न उद्योग बाणिज्य संघहरुले आआफ्नो तरिकाले नागरिकलाई सेवा प्रबाह गर्दै आएको बताए । लकडाउनको समय लम्बिन गएमा उद्योग बाणिज्य संघहरुले पनि परिस्थितिलाई आंकलन गरि बिश्लेषण गरेर अगाडी बढ्नुपर्ने सुझाब दिए ।

कार्यक्रममा संबाद सहजकर्ता सुष्मा गिरीले धन्यबाद ज्ञापन र सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गरेका थिए ।

संबाद समूहले कोभिड १९ को परिवर्तित अबस्थामा कोभिड १९ र चिकित्सकको भूमिका , कोभिड १९ र प्रमख जिल्ला अधिकारीको भूमिका, कोभिड १९ र राजनीतिक दलहरुको भूमिका र कोभिड १९ र स्थानीय तहहरुको भूमिकालगायतमा भीडियो कन्फ्रेरन्स मार्फत संबाद गराएको छ ।