Goraksha

National Daily

सरुवा भएका शिक्षकले रमानापत्र बुझ्न नमानेपछि प्रधानाध्यापक आफै पत्र बोकेर विद्यालयमा

दाङ, २५ बैशाख । दाङको घोराही उपमहानगरपालिका शिक्षकको सरुवा गरेपनि सरुवा भएका शिक्षकले रमानापत्र बुझ्न नमानेपछि प्रधानाध्यापक स्वय सरुवा भएका शिक्षकहरुको रमानापत्र बुझेर आफै सरुवा भएको विद्यालयमा बुझाउन गएका छन ।

सरुवा तत्काल कार्यान्वय नगर्न उच्च अदालत तुल्सीपुरले गरेको अन्तरिम आदेश र शिक्षकका पेशागत संगठनहरुको आन्दोलनका कारण सरुवा भएका शिक्षकले सरुवा भइ गएको विद्यालयमा हाजिर हुनका लागि आवश्यक पर्ने रमानापत्र नबुझेको नेपाल शिक्षक संघ दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिकाले गत चैत ८ गते १ सय १ जना शिक्षकको सरुवा गरेको अहिलेसम्म २५ जना शिक्षकले मात्रै रमानापत्र बुझेको र बाँकी ६९ जना शिक्षकले रमानापत्र नबुझेपछि घोराही उपमहानगरपालिकको दवावमा प्रधानाध्यापक स्वयं शिक्षकको रमानापत्र लगिदिएर विद्यालय विद्यालय धाउन शुरु गरेको नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिनुभयो ।

सरुवा भएका शिक्षकले नयाँ विद्यालयमा स्वय आफूले रमानापत्र लिएर हाजिर हुन जाने ब्यवस्था भएपनि प्रधानाध्यापकहरु अरुको रमानापत्र बोकेर विद्यालयमा जानुपर्ने नियम विपरित र हास्यापद रहेको नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले बताउनुभयो ।

यसैबिच उच्च अदालत तुल्सीपुर दाङले थप सरुवाको बिषय तत्काल कार्यान्वय नगर्न भन्दै थप ११ जना शिक्षकहरुको निवेदनमा स्टे अडर दिएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । नगरपालिकाले गरेको सरुवाको बिरोधमा शिक्षक महासङ्ग सहित पेशागत संगठन चरणवद्द आन्दोलनमा छन ।