प्लास्टिक झोलाको प्रयोग हटाइने
गोरक्ष समाचारदाता
दाङ, २२ बैशाख । घोराही उपमहानगरपालिकालाई प्लास्टिक झोलामुक्त नगर बनाउनका लागि पहल थालिएको छ । घोराही उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन शाखाले विहीवार घोराहीमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवाला निकायले सफा, सुन्दर र स्वच्छ नगर निर्माणका लागि प्लास्टिक झोलामुक्त गर्न आवश्यक रहेको भन्दै त्यसका लागि सहयोग गर्ने बताएका हुन् ।
यसका लागि उनीहरूले व्यवसायीलाई विस्थापित नगर्ने र दीर्घकालीन रूपमा निर्णय कार्यान्वयनका लागि सोचेर मात्रै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । घोराही उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक भानसिं बुढाको अध्यक्षता, नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा लोकप्रियताका लागि निर्णय गर्नुभन्दा दिगो रूपमा कार्यान्वयनका लागि निर्णय गर्नुपर्नेमा जोड दिएका थिए ।
प्लास्टिकजन्य वस्तुहरूको व्यापार गर्ने व्यवसायी र अन्य विभिन्न क्षेत्रका व्यवसायीको सहभागितामा ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा सरकारले नै रोक लगाएकाले त्यसको कार्यान्वयन र वैकल्पिक उत्पादनमा छलफल भएको छ ।
नगर प्रमुख चौधरीले प्लास्टिकको बढ्दो प्रयोगले बजारको सुन्दरतामा ह्रास आउनुका साथै खेतबारीमा पुग्दा उत्पादन घट्ने अवस्था आएको भन्दै प्लास्टिकको प्रयोगलाई हटाउनुपर्ने बताएका थिए । उनले प्लास्टिक जथाभावी फाल्दा माटोको उर्वराशक्तिमा ह्रास आउनुका साथै जलाउँदा वातावरण तथा वायु प्रदूषण हुने र त्यसको असर मानिसमा विभिन्न घातक रोग लाग्ने गरेको भन्दै यसको विकल्प खोज्नुपर्ने बताए ।
‘मानवको स्वास्थ्यसँगै किसानको खेतबारीसम्म असर गर्ने प्लास्टिक झोलाको प्रयोग हटाउन लाग्नै पर्छ । सुरुमा सरकारले नै प्रतिबन्ध गरेका ४० माइक्रोनभन्दा कम तौलका झोलाको प्रयोगलाई हटाऔँ’, नगर प्रमुख चौधरीले भने, ‘४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला विस्थापित गरेपछि अन्य प्लास्टिक सामग्रीलाई पनि हटाउँदै जाऔँला ।’ उनले प्लास्टिक झोला हटाउँदा व्यवसायी विस्थापित नहुने गरी गरिने समेत बताए ।
कार्यक्रममा नगर उपप्रमुख डिसीले प्लास्टिक झोला प्रयोगलाई हटाउनका लागि बनेको नीति कार्यान्वयनसँगै नागरिक तहसम्म निरुत्साहितका लागि सचेतना आवश्यक रहेको बताइन् । ‘प्लास्टिक सामग्रीको प्रयोगले खेतबारीदेखि मानिसको स्वास्थ्यमा असर गरिरहेको छ’, नगर उपप्रमुख डिसीले भनिन्, ‘यसका बारेमा नागरिकमा सचेतना आवश्यक छ ।’ उनले सचेतना गराउँदा पनि अटेरी गरी प्लास्टिक झोला प्रयोग गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत घिमिरेले सरकारले ल्याएको कानुन कार्यान्वयनमा स्थानीय सरकारले तदारुतकता देखाएको र सरोकारवालासँग अन्तत्र्रिmया गरिएको बताए । कार्र्यक्रममा सहभागीले प्लास्टिकको प्रयोगलाई रोक्न सचेतनासँगै कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । प्लास्टिकको ठाउँमा अन्य फाइबर तथा कपडाका झोलाको प्रयोग गर्दा स्थानीय उत्पादन र उद्यमलाई समेत फाइदा पुग्नेतर्फ सचेतना जगाउनुपर्ने सरोकारवालाको भनाइ थियो । साथै छिट्टै प्लास्टिक झोला विस्थापितका लागि निर्णय लिएर अघि बढ्ने गरी शाखाले तयारी गरेको वातावरण तथा विपद व्यवस्थापन शाखाका अधिकृत मदन वलीले जानकारी गराएका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेय, वडा नं. ४ का वडाध्यक्ष मधुसूदन शर्मा, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, संघका सदस्य विकास वली, मानवअधिकार सञ्जालका केशवकुमार शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
