शिवराज खनाल
देउखुरी, १८ बैशाख । लमही नगरपालिका–१ निवासी प्रमिला चौधरी केही दिन अगाडिसम्म घरायसी काममै दिन बिताउँथिन् । बिहान उठेदेखि साँझ नहुँदासम्म उनको दैनिकी घरभान्सादेखि वस्तुभाउलाई स्याहारसुसार गर्नमै बित्थ्यो तर हाल उनको दैनिकीमा परिवर्तन भएको छ ।
लमही नगरपालिका–१ ले ग्रामीणस्तरमा रहेका महिलाको आयस्थरमा वृद्धि गर्ने उद्देश्यले ढकिया तथा डल बनाउने तालिमको आयोजना गरेपछि अब उनी सिकेको सीपलाई प्रयोग गर्दै घरपरिवार चलाउने खर्चको जो हो गर्नसक्ने भएको बताउँछिन् । ‘पहिले घरको काम कतिबेला सक्ने, दिन कसरी कटाउने भन्ने हुन्थ्यो’, उनले भनिन्, ‘अहिले हातमा सीप छ, फुर्सद हुँदा डल बनाउन सजिलो भएको छ ।’ उनले दैनिक ४÷५ वटासम्म डल बनाउने गरेको बताउँछिन् । एउटा डल, कुशन विक्री गरेपछि २५० देखि ३०० सम्म आम्दानी आउने र घरव्यवहार चलाउन सजिलो हुने गरेको उनी बताउँछिन् ।
सोही वडा निवासी निर्मला सुवेदी पनि हिजोआज डल–कुशन बनाउने काम गर्दै आएकी छन् । हातमा सीप भएपछि काममा व्यस्त हुनुका साथै आम्दानी समेत हुने गरेको उनी बताउँछिन् । ‘सीप नहुँदा घरको काम मात्रै गर्नुपर्ने बाध्यता थियो’, उनले भनिन्, ‘तर अहिले सीप सिकेपछि दैनिकी बदलिएको छ, खाली बस्नु पर्दैन । काम गर्दा आम्दानी आउने गरेको छ ।’ सीप सिकेर आम्दानी गर्न थालेपछि अहिले सामान्य खर्चका लागि श्रीमान्सँग पैसा माग्नुपर्ने बाध्यता हटेको उनी बताउँछिन् ।
उनी मात्रै होइन पछिल्लो समय वडा नं. १ का धेरै महिलाले सीप सिकेका छन् । लमही नगरपालिका–१ वडा कार्यालयले वडामा रहेका ४० जना महिलालाई आयस्तर वृद्धिसँगै स्वरोजगार बनाउने उद्देश्यले ढकिया बनाउने, कटाइ सिलाई तथा डल बनाउने तालिमको आयोजना गरेको हो । महिलाले उत्पादन गरेका सामग्रीलाई बजारसँग जोड्न वडास्तरबाटै सहयोग गरिने वडा नं १ का अध्यक्ष दामोदर पौडेल बताउँछन् ।
‘हामी वडा स्तरमा रहेका महिलाको आय स्तर वृद्धि गर्न के गर्नुपर्छ भन्ने चिन्तनमा छौँ’, वडाध्यक्ष पौडेलले भने, ‘पहिले सीप सिकाएर आत्मनिर्भर गराउने बाटोमा जुटेका छौँ ।’ उनले सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै सिकेर राम्रो गर्ने महिलालाई उत्पादन सामग्री र बजारीकरणमा सहयोग गर्ने समेत बताएका छन् ।