दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु
दाङ, १७ बैशाख । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । दाङ महिला जेसीजका अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य लोका विकको प्रमुख आतिथ्यता एवम् घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरिएको हो ।
सप्ताहव्यापी कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विकले युवाहरूमा सकारात्मक विचार प्रवाह गर्दै समाज र राष्ट्रको हितमा काम गर्ने जेसीजले व्यक्तित्व र नेतृत्व विकासका लागि अहम् भूमिका खेल्दै आएको बताइन् । उनले युवाहरूको व्यक्तित्व र नेतृत्व विकास सँगसँगै सामाजिक सचेतना र सहयोगका कार्यलाई समेत अघि बढाउन आग्रह गरेकी थिइन् ।
कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले समाजमा विभिन्न प्रकारका घटनाक्रम बढिरहेकोप्रति संकेत गर्दै सभ्य समाज निर्माणका लागि महिला जेसीजले सकारात्मक भूमिका खेल्दै आएको बताएकी थिइन् ।
युवाहरूको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक सचेतनाका कार्यमा दाङ महिला जेसीजलाई घोराही उपमहानगरपालिकाले सहयोगसँगै सहकार्य गर्दै अघि बढ्ने बताएकी थिइन् । साथै उनले सामाजिक मूल्य र मान्यता स्थापित गर्न, असल नागरिक बनाउन, मानिसमा मानवताको विकास गर्नेलगायतका काममा जेसीजले चालेको कदमलाई आफ्नो साथ रहने बताएकी थिइन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले महिला जेसीजले प्रत्येक वर्ष आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रमले सचेतनासँगै विभिन्न निकायलाई सहयोग पु¥याउने भन्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा त्रिभुवन नगर जेसीज अध्यक्ष कुलबहादुर वली, दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, दाङ महिला जेसीजका निवर्तमान अध्यक्ष शारदा घर्ती, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, पतञ्जली योग समिति अध्यक्ष प्रेम शाह, घोराही उपमहानगरपालिका–१४ का निवर्तमान अध्यक्ष शक्तिराम डाँगी, सीसा नेपाल संस्थाकी अध्यक्ष साजिदा सिद्दिकी, नबिल बैंक घोराही शाखा प्रमुख विश्वरूप खड्का, नबिल बैंककै कलस्टर्ड प्रमुख मुरारीप्रसाद अर्याललगायतले सामाजिक क्षेत्रमा जेसीजले गर्दै आएको काम र योगदानबारे चर्चा गर्दै सप्ताह व्यापी कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
दाङ महिला जेसीजका उपाध्यक्ष विन्दु डाँगीको आस्थापाठबाट सुरु भएको कार्यक्रममा मिसन, भिजन उपाध्यक्ष संगीता रोकायले गराएकी थिइन् । जेसीज सदस्यता वृद्धि सभापति तथा कार्यक्रम संयोजक रेमन्ता पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ महिला जेसीजकी कार्यकारिणी उपाध्यक्ष एवम् मूल समारोह समिति संयोजक बसन्ता भण्डारीले सप्ताहव्यापी कार्यक्रमका बारे जानकारी गराएकी थिइन् ।
कार्यक्रम संयोजक भण्डारीकाअनुसार सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन सोमवार चौघेरामा एकदिने योग शिविर, मंगलवार राप्ती शिक्षा क्याम्पसमा विद्यार्थीका लागि मोबाइल लतसम्बन्धी सचेतना, बुधवार रक्त सञ्चार केन्द्र घोराहीमा रक्तदान, विहीवार घोराही उपमहानगरपालिका–१३ सेवारमा असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग, शुक्रवार घोराही–१७ शान्ति टोलमा नागरिक सचेतना कार्यक्रम र शनिवार सप्ताहको अन्तिम दिन त्रिभुवननगर जेसीज सचिवालयमा बढ्दो आर्थिक संकट र समाधानमा हाम्रो प्रयास विषयक अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेर समापन गरिने भएको छ । कार्यक्रमको सहजीकरण दाङ महिला जेसीजकी महासचिव अर्चना शर्माले गरेकी थिइन् ।
