प्रमोद आचार्य दंगीशरण,३ बैशाख । दाङको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पालिकाको सुशासन, नितीगत व्यवस्था र आर्थिक मितव्ययीताको जग बसाल्न सक्रिय भूमीकामा देखा परेका छन् ।
दंगीशरण गाउँपालिकाको नीति तथा कार्यक्रमले समेटेका कार्यक्रमहरूको कार्यान्वयनका क्रममा प्रचलित आर्थिक ऐन तथा नियमले गरेका व्यवस्थाको उच्चतम् पालना गर्दै कार्यक्रमको कार्यान्वयनमा जोड दिने गिरीले हरेक काम कारवाही कार्याविधि र ऐनमा टेकेर अगाडी बढेको बताउँछन् ।
आफु निर्वाचित भएर आइसकेपछि पालिकामा हुने हरेक बेथितीको अन्त्य गर्न आफु अगाडी बढ्न खोजेको तर विगतदेखि नै पालिकाको विभिन्न जिम्मेवारीमा रहेर अनियमितता गर्न पल्केकाहरु आफ्नो आर्थिक मितव्ययीता अपनाउने नीतिबाट अत्तालिएको समेत बताउँछन । अध्यक्ष गिरीले पदभार ग्रहण गरे पश्चात पालिकामा व्यापक रूपमा हुने गरेको इन्धनको अनियमिततालाइ ह्वात्तै घटाएका छन ।
यस पूर्व हरेक कर्मचारीले लिदै गरेको मासिक २० देखि ४० लिटरसम्मको इन्धन सुविधा घटाएर फिल्ड जाने कर्मचारी र शाखा प्रमुखहरूलाई मासिक १० लिटर र अन्य कर्मचारीलाई ७ लिटरसम्ममा झारेको अध्यक्ष गिरी बताउँछन । यस्तै यस पूर्व कार्यालयको कामकाजमामा नगइकन व्यक्तिगत कामकाजको लागि दैनिक तथा भ्रमण भत्ता लिने प्रणालीको पनि अन्त्य गरेको गिरी बताउँछन ।
यसैगरी गाउँपालिकाबाट हुने खरिदमा कोटेशनबाट खरिद गरी ३० देखि ६० प्रतिशतसम्म कमिशन लिने गरेको जानकारी आफुलाई भएकोले तत्पश्चात गाउँपालिकाबाट हुने खरिदलाई इ–बिडिङ प्रक्रियाबाट अगाडी बढाउन निर्देशन दिएको अध्यक्ष गिरी बताउँछन् । आफु भन्दा अगाडीको कार्यकालमा थुप्रै बेथिति र हरेक कार्यक्रमहरूमा अनियमितता हुने गरेको पाएकोले यस्ता अनियमितता र बेथितिहरूलाई निस्तेज पार्न आफु लागि परेको तर आफ्नो यस कदमलाई असफल पार्नभित्र तथा बाहिरबाट आफु विरूद्ध अनेक किसिमबाट प्रहार गर्ने दुष्प्रयत्न भइरहेको अध्यक्ष गिरीको गुनासो पोखेका छन् ।
जनताले तिरेको करबाट संकलित रकमको दुरुपयोग र अनियमितता आफुले पनि नगर्ने र कसैलाइ पनि गर्न नदिन सुरुवाती अवस्थादेखि नै अध्यक्ष गिरी सक्रिय रहेका छन् । अन्य पालिकामा २÷३ वटा गाडी हुँदा आफुहरू एउटा गाडी मै समन्वयात्मक तवरले अगाडी बढेको गिरी बताउँछ्न । ‘हामी उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत ३ जनाकै समन्वयबाट अगाडि बढेका छौ’,गाउँपालिका अध्यक्ष गिरीले भने,‘तर जनतामा भ्रमण सिर्जना गर्ने गरी हामीबिचमा फुट भएको र अनेक प्रपञ्च रच्ने, असहयोग गर्ने जस्ता अनेक षडयन्त्र हुने गरेका छन् । ती गलत छन् ।’
विधि र प्रक्रिया मिचेर आर्थिक अनियमितता गर्न पल्केकाहरू आफ्नो यस कदमबाट अत्तालिएर आफुलाई बिफल पार्न लागेकाछन् गिरीले भने तर आफु विधि र प्रक्रियाभन्दा एक इन्च पनि बाहिर नजाने र बेथितिको अन्त्यका लागी आफ्नो कार्यकालभर राज्यको सम्पतीको दुरुपयोग कदापी हुन नदिने बताए । गिरी निर्वाचित भयर आएयता पालिकामा हुने गरेका चुहावट र आर्थिक अनियमितता धेरै हदसम्म नियन्त्रण गर्न सफल भएतापनि यसलाई पुरै निस्तेज पार्न पालिकाका सम्पू्र्ण कर्मचारी, जनप्रतिनिधी, उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय जनता सबैको सहयोगको आवश्यकता रहेको गिरीले बताए ।
अध्यक्ष गिरीले आफुले आफ्नो कार्यकालमात्र नभएर आफुपछि पनि सुशासन र आर्थिक मितव्ययिताको जग बसाल्ने सोचका साथ अगाडि बढेको बताउँछन । पालिकामा हुने हरेक काममा हुने आर्थिक अनियमितता कम गर्न लागौंभन्दा अझ झन् विरोध र नकारात्मक टिप्पणी हुने गरेको भएपनि आफु कत्ति पनि विचलित नहुने बताए । आफु जनताको लागि आएको र जनता कै लागि अगाडी बढ्ने सोचमा रहँदै आएको भन्दै अध्यक्ष गिरीले जनतामुखी कार्यक्रम अगाडी बढाएकाले पनि विरोधमाथि विरोध गर्नेहरू लागिपरेको बताएका छन् ।