गोरक्ष समाचारदाता
दाङ, ३ बैशाख । यो वर्ष विद्यार्थीको लागि पाठ्यपुस्तकको अभाव विगतका वर्ष जस्तो छैन । सामुदायिक विद्यालयका लागि यो वर्ष समयमै पुस्तक आउन थालेको छन् । व्यवसायीकाअनुसार यो वर्ष पुस्तको अभाव छैन ।
भर्ना अभियान अघि ५० पुस्तक जिल्लामा आएका छन् भने अन्य पुस्तक ल्याउने काम भइराखेको दाङ देउखुरी पुस्तक तथा स्टेशनरी व्यवसायी समितिले जनाएको छ । नयाँ शैक्षिकसत्र सुरु बैशाख ३ बाट सुरु भएको छ । समिति अध्यक्ष शंकर शर्माकाअनुसार बैशाख ३ गते यो वर्षको शैक्षिकसत्र सुरु हुन लागेका बेलामा कक्षा १ देखि ५ सम्मका विषयगत बाहेक अधिकांश पुस्तक जिल्लामा आएका छन् ।
जिल्लाका सबै सामुदायिक विद्यालयहरूका लागि तुलसीपुरमा डाँगी स्टेशनरी डिपोबाट, घोराही क्षेत्रमा हिमाल बुक्स एण्ड स्टेशनरी डिपोबाट, नारायणपुर क्षेत्रमा प्रतिभा पुस्तक नारायणपुरबाट र लमही क्षेत्रमा छायाँछवि पुस्तकबाट पुस्तक बिक्री भइराखेको छ । पुस्तक व्यवसायीकाअनुसार कक्षा ५ सम्म करिब ५० प्रतिशत पुस्तक जिल्लामा आएको अवस्था छ ।
जिल्ला अध्यक्ष शर्माकाअनुसार, कक्षा ४ र ५ को पूरै सेट किताब जिल्लामा आइपुगेको भए पनि कक्षा १ को ४ वटा पुस्तकमध्ये अंग्रेजी आएको छैन । कक्षा २ को ४ पुस्तकमध्ये सेरोफेरो पुस्तक आइपुगेको छैन । यसैगरी कक्षा ३ को ४ किताबमध्ये हालसम्म गणित र सामाजिक विषयको पुस्तक आइपुगेको छैन । कक्षा ६ देखि १० सम्मको पुस्तक भने अझै जिल्लामा आइपुगेको छैन ।
पुस्तक व्यवसायी समितिकाअनुसार कक्षा ६ देखि १० सम्मका लागि आज आइतवार नेपालगञ्जबाट जिल्लाका लागि पुस्तक आउने भएको छ । ‘कक्षा ६, ७, ८, ९ र १० को आइतवार किताब आउने भएको छ’, उनले ने, ‘कोटा प्रणालीका आधारमा पुस्तक वितरण हुने गरेको छ । पहिले पहाडी क्षेत्रमा पुस्तक पठाइएको छ, अब सुगम जिल्लामा पुस्तक पठाउने तयारीअनुसार दाङको पालो आएको हो ।
जिल्लामा विगत वर्षमाभन्दा यो पटक सहज भएको छ ।’ पुस्तक आलोपालो वितरण गर्नुपर्ने अवस्था रहेकाले जिल्लामा एकैपटक सहज रूपमा पुस्तक पठाउन भने समस्या रहेको उनले बताए । सामुदायिक विद्यालयका लागि जनक शिक्षा तथा सामग्री केन्द्रले पुस्तक प्रकाशन गर्ने हुँदा सबै कक्षाको पुस्तक छपाइमा ढिलाइ भएको पुस्तक व्यवासायीले बताए ।
हिमाल बुक्स एण्ड स्टेशनरीका सञ्चालक प्रेम डाँगीले यो वर्ष कक्षा ५, ८ र १० को ऐच्छिक विषय
बाहेक सबै पुस्तकको पाठ्यक्रम परिवर्तन भएको हुँदा नयाँ पुस्तक आउन ढिलाइ हुने भएको बताए । ‘पाठ्यक्रम नै परिवर्तन भएको बेलामा समयमै पुस्तक छपाइ गर्नुपर्ने भए पनि अहिलेसम्म पुस्तक छपाइ नहुनुले समयमा विद्यार्थीको हातमा पुस्तक पुग्नेमा यो वर्ष पनि शंका छ’, उनले भने, ‘प्रकाशन गृहमा बुझ्दा छपाइका लागि समय लाग्ने जवाफ आउने गरेको छ ।’
सामुदायिक विद्यालयको अंग्रेजी माध्यमका पुस्तक यो वर्ष आउने सम्भवना न्यून छ । जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छपाइको काम गर्ने हुँदा यो पटक निश्चित नभएको पुस्तक व्यवसायीको भनाइ छ । ‘पाठ्यक्रम विकासले समयमै पाठ्यपुस्तकको अवस्था तयार नपारिदिँदा केन्द्रले किताब छापेको छैन’, पुस्तक व्यवसायी डाँगीले भने, ‘भदौसम्म हो भने काम होला नभए यो पटक सम्भव छैन भन्ने कुरा आएको छ । यो भनेको पुस्तक छपाइ नहुने संकेत हो ।’
सामुदायिक विद्यालय अंग्रेजी, सामाजिक र नेपाली साविककै लागू हुने भए पनि अंग्रेजी माध्यमको कन्भरसेशन किताबहरू ५ देखि १० कक्षासम्मको अवस्थाका बारेमा जनक शिक्षा सामग्रीले चासो लिएको छैन । जिल्लामा सबै विद्यालयको संख्या ६ सय ३० बढी रहेको तथ्याङ्क छ । संस्थागत विद्यालयका लागि पनि विभिन्न प्रकाशनका पुस्तक बजारमा आइपुगेको छ । संस्थागत विद्यालयहरूले कुन प्रकाशनको पुस्तक यो वर्ष लगाउने भन्ने टुङ्गो लगाइ नसकेकाले पुस्तक बिक्री हुन नसकेको हो । जिल्लामा शैक्षिकसत्र सुरु हुन लागेकाले यसको पनि टुङ्गो लाग्ने पुस्तक व्यवसायीको भनाइ छ ।