जुनिसकुमार बिष्ट
रोल्पा,१ बैशाख । रोल्पा कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सवमा पहिलो पटक पर्यटन सम्बन्धि जानकारी दिने उद्देश्यले पर्यटन स्टल राखिएको छ।
कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव चैत ३० गतेदेखि बैशाख ९ गतेसम्म संचालन हुने महोत्सवमा पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे सुनछहरी गाउँपालिका ७ जेलबाङको व्यवस्थापनमा ग्रामीण पर्यटन, युद्ध पर्यटन, धार्मिक सांस्कृतिक पर्यटन तथा प्राकृतिक पर्यटन सम्बन्धि जानकारी मुलक ब्रोसर, भिजिटिङ कार्डहरु राखिएको पर्यटन प्रवद्र्धन तथा गेमी होमस्टेका अध्यक्ष तथा पर्यटन व्यवसायी पृथ्वी पुनमगर (बालकुमार)ले जानकारी दिएका छन् । संस्थाले आफ्नै निजी लगानीमा उक्त पर्यटन सम्बन्धि सामाग्रीहरु तयार पारी निशुल्क वितरण गरिएको अध्यक्ष पुनले बताए ।
जिल्लाको प्रमुख पर्यटकियस्थलहरु जलजला,थबाङ,जेलबाङ,रुन्टीगढी, होलेरी, गामको बिबाङ दह, कोठीभिर, तिलाचन, सुनछहरी, गामको गोङबाङ युद्ध स्थल, चुनारेभिर, सातदोबाटोको जनयुद्ध भ्युटावर, रक गार्डेनलगायतका पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने उद्देश्यले स्थल बुकिङ गरेर पर्यटन सम्बन्धि जानकारी दिने काम गरिरहेको समेत उनले जानकारी दिएका छन् ।

रोल्पामा अहिलेसम्म आयोजना गरिएका महोत्सवहरुमा पर्यटन सम्बन्धि छुट्टै स्थल बुकिङ गरि जानकारीमुलक सामाग्रीहरु वितरण गरिएको थिएनन् । पहिलो पटक रोल्पाको ग्रामीण, युद्ध, धार्मिक सांस्कृतिक तथा प्राकृतिक पर्यटनलाई उजागर तथा प्रचारप्रसार गर्ने हेतुले उक्त पर्यटन सामाग्रीहरुको स्थल राखिएको होमस्टेका संस्थाअध्यक्ष पुनले बताएका हुन ।
आयोजक संस्थाले महोत्सव अवधिभर पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे संस्था जेल्बाङलाई निशुल्क स्टल उपलब्ध गराएको महोत्सव संयोजक मिलन रोकामगरले बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रोल्पाको आयोजना तथा जिल्ला फुटबल संघ र जिल्ला क्रिकेट संघ रोल्पाको सहआयोजनामा भएको महोत्सव १० दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ।