भोली घरघरमा राष्ट्रिय गान र ताली बजाउन प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट उत्पन्न लकडाउनको अवस्था अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन आह्वान गरेका छन् ।
उनले राष्ट्रिय गानको समाप्तिपछि करताल ध्वनिले एकबद्धता स्वरुप ताली बजाएर सम्मान गर्न अपिल गरेका छन् ।
उनले ट्वीटरवाट भनेका छन्, “कोरोना संक्रमणको उपचारका लागि अहोरात्र खटिने चिकित्सक, नर्स, अत्यावश्यक सेवा प्रदायक कर्मचारी, सेवा ढुवानी कर्ता, सरसफाइ कर्मचारी, सुपर मार्केटका कर्मचारी एवम् नेपाललाई यस विपत्बाट जोगाउन कार्यरत सबैको सम्मानमा सम्पूर्ण देशवासी एकजुट भएर देशको गौरवको प्रतीक राष्ट्रिय गान आफ्नो घरबाट गुन्जाएर बजाउँ ।”
यसअघी पत्रकार महासंघ र गैह्रसरकारी संस्था महासंघलगायतका नागरिक संस्थाहरुले बिहान ६ बजे एक मिनेट ताली बजाएर स्वास्थ्यकर्मी, सुरक्षाकमी, सञ्चारकर्मी, सरसफाईकर्मीलगायतको यो संकटको बेलाको भूमिकाको सम्मान गर्न आह्वान गरेका छन ।
