युवराज शर्मा
नेपाली विभिन्न घरघरका जातजातिहरुमा विभाजित छन् । सबैको एउटै उद्देश्य छ शान्तिपूर्ण जीवनयापन गर्ने यसका लागि आर्थिक, सामाजिक, नैतिक र शैक्षिक वातावरण बन्नुपर्छ । यस प्रकारको वातावरण बन्न एक्लो प्रयासबाट व्यक्तिले सक्दैन ।
शान्तिपूर्ण जीवनयापन गर्न सरकार, समाज र आर्थिक स्रोतहरु चाहिन्छ तर नेपालमा शान्तिपूर्ण जीवनयापनका लागि सरकारी प्रयासहरु नागरिकका लागि छैन । समाजले पनि समाजोपयोगी वातावरण बनाउन सक्दैन । मानिसमा स्वार्थी भावना बढेको छ ।
एउटा मानव अर्को मानवका लागि सहयोगी बन्दैन । उसमा त्याग र सेवाको भावना छैन । नेपाली दिन प्रतिदिन स्वार्थी बनिरहेका छन् । सरकारमा बस्नेहरुले समाजको वातावरण किन परोपकारी बन्न सकेन भन्ने अध्ययन गरेकै छैनन् । उनीहरुले कसरी धन कमाउने ध्याउन्नमा हुन्छन् ।
अवसरको खोजीमा रातदिन भौतारिरहन्छन् । जब कि सरकार नागरिकले संरक्षक हो । उसले गर्नुपर्ने पहिलो काम नै शान्ति व्यवस्थापन हो । अहिले सरकार चलाउनेहरुले नागरिकका लागि कर्तव्यम् विमुढ भएको अवस्था छ । मानिसहरु नागरिक, जनता र व्यक्तिजस्ता तहगत, संस्थागत र दलगतमा विभक्त छन् ।
नेपालीको आर्थिक स्रोतहरु निम्न प्रकारका छन् । जसमा १) बाबु बाजेले जोडेको जग्गा जमिन बेचेर पाइने रकम । २) नोकरी, रोजगारकार व्यवसायहरु सञ्चालन गरेर पाइने तलव वा व्यवसायका स्रोतबाट पाइने रकम । ३) विदेशी भूमिमा पसिना बगाएर पाइने ज्याला मजुरीको बचत रकम । जसलाई नेपाली मुद्रामा परिणत गर्दा धेरै मुद्राहरु बन्ने रकम । ४) राजनीतिको रँगमा दलीय जाल थापेर अवसरअनुसार पाइने कमिशन रकम मानिन्छ ।
५) बैंङ्क ठगी, साहु ठगीजस्ता ठगी प्रथाबाट र लुटपातबाट प्राप्त गरिने स्रोतको रकम । यो प्रथा २०५२ सालदेखि २०६४ सालसम्म भएका गतिविधिबाट आर्जेका रकम । यस्ता ५ प्रकारका आर्थिक स्रोतहरु अहिले नेपाली समाजमा छ । यी स्रोतहरु बाहेक अन्य स्रोतहरुमा अदृश्य बनेको छ, कृषि व्यवसाय तर यो व्यवसाय नेपालीले अपनाएपछि समाजमा घृणित बन्नुपरेको अवस्था छ ।
कृषिमा सरकारी अनुदान भएको सुविधाहरु राजनीतिज्ञले सुनाउथे । तैपनि त्यस्तो अनुदानमा वास्तविक किसानहरु परेनन् । कागजी किसानहरु, दलगत नेताका श्रीमती, भान्जाभान्जी, सालासाली र दिदीभिनाजुहरु मात्र कृषि अनुदान पाउनेको लिस्ट मात्र पाइन्छ । यस्तो वातावरण भएपछि वास्तविक किसानहरु राजनीतिबाट पन्छिएका छन् ।जसलाई राजनीतिज्ञले यद्यपि चिन्न सकेका छैनन् ।
त्यसकारण नेपालीको खाद्य समस्या बढिरहेको छ । उनीहरुले खेतीपाती गर्ने काम छोडेर वैदेशिक रोजगारमा आर्थिक स्रोत जुटाउन बाहिर गइरहेका छन् । कृषि व्यवसाय धरासायी बनिरहेको छ । फारदर्शिता देखिएन । कर्तव्य र दायित्व बुझ्न सकेका छैनन् । सत्ता, भत्ता र सुविधामा रमाइरहेका छन् ।
कृषि व्यवसायलाई व्यवस्थित गर्न सकेमा कृषि व्यवसायमा लागेकाहरुको आर्थिक स्रोतको विकास हुनेछ । शान्तिको अनुभूति गर्नेछन् । उनीहरुले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरण गरिदिने काम सरकारको हो भन्ने भनाइ किसानहरुको थियो । यसले खाद्य समस्या टर्नेछ । कृषि व्यवसायप्रति किसानहरु प्रेरित हुनेछन् ।
नेपालको रोजगार क्षेत्र नै कृषि व्यवसाय हो भन्ने ज्ञान हुनेछ । यो व्यवसायलाई आर्थिक स्रोतका रुपमा हेरिनेछ । यसका लागि सीमा नाकाहरुबाट नेपालमा भित्रिने खाद्य वस्तुहरुको निकासी र पैठारी बन्द गर्नुपर्छ । स्वदेशी उत्पादनलाई प्रोत्साहित पार्नुपर्छ । अनुदान पनि वास्तविक किसानहरुले पाउनु पर्छ भन्ने भनाइ किसानहरुको सुनिन्छ तर सरकारमा बसेकाहरुले अझै बुझ्न सकेका छैनन् ।
लोकतन्त्र भनेको के हो ? गणतन्त्रले के दिन खोजेको हो ? यी प्रश्नले बौद्धिकवर्ग अन्योल बनेका छन् तर राजनीतिले तताएको राजनीतिज्ञहरु चम्केको वातावरण देशमा बढ्यो । युवाहरुतातिएका छन् । दलगत राजनीति गर्नेहरुले सत्ताको शक्ति प्रदर्शन गरिरहेका छन् । यस्तो वातावरणले नेपालीको आर्थिक अवस्था बिग्रिएको छ । राजनीतिज्ञहरु रातारात लखपति बन्दै छन् । उनीहरुको स्रोत राजनीतिक अवसर हो । अहिले गणतन्त्रलाई तीन प्रकारका बाँदरहरुको अवस्था दर्शाउँदा सान्दर्भिक होला ।
एउटा बाँदरले कान थुनेको, अर्कोले आँखा छापेको र तेस्रो बाँदरले मुख छोपेको दृश्य भारतका महान नेता महात्मा गाँन्धीले देखेका थिए । यो दृश्यले गणतन्त्रको असली रुप बताएको सुनाएका थिए । के गणतन्त्र भनेको यस्तै हो र ? यस्तो वातावरण राज्यमा किन भइरहेको छ ? यस्तै हो र ? यहाँ नेपालका राजनीतिज्ञले तीनखम्बे सरकार बनाए ।
खर्च बढ्यो तर स्रोतहरु हेर्दा नागरिकको तिर्ने करको रकम, विदेश गएका मजदुर युवाहरुले पठाउने रेमिट्यान्स रकम र दण्ड जरिवानाको रकम मात्र आर्थिक स्रोत राज्यको हो । यसैमा राज्य सञ्चालकहरु रमाइरहेको वातावरण छ । युवा शक्ति विदेश पलायन हुने क्रम बढ्दो छ ।
नेपालको अर्थ व्यवस्था कमजोर बनिरहेको अवस्था छ । यसमा सुधार गर्न नेपाल राष्ट्र बैंकले व्याजदर बढाउने र बैंकहरुको संख्या घटाउन आपसमा बैंकलाई गाभ्ने नीति मात्र अगाडि सारेको छ । नागरिकले बैंकमा राखेको पैसा गायव हुने हो कि ? भन्ने शंका गर्छन् तर बैंकहरुले नागरिकलाई विश्वस्त पार्न सकेको अवस्था बनेको छैन । तैपनि टालमटोलको वातावरण छ ।
युवा शक्ति देशबाट पलायन गराएर कस्तो आर्थिक विकास गर्ने स्रोतहरुको परिकल्पना सरकारले गरेको छ ? नागरिक अनभिज्ञ छन् । सरकार चलाउने दलहरु आपसी तानवमा छन् । कसको शक्ति कहाँसम्मको फराकिलो छ ? शक्तिमा भक्ति गरिरहेको अवस्था छ । यस्तो वातावरणमा नेपालीको आर्थिक स्रोत कसरी चल्छ ?
नेपाली नागरिकले आफूलाई धेरै धीर ठान्छन् । सहनशीलताको दायरामा छन् । उनीहरुको अवस्था दिन प्रतिदिन घट्दो छ । आर्थिक स्रोतहरु बन्न सकेन । यसको ज्वलन्त उदारण बन्यो युवाशक्ति विदेश पलायन हुने ।
व्यक्तिगत रुपले आफ्नो आर्थिक अवस्थामा सुधार गर्ने तर त्यस्तो अवस्था आएन । धेरै युवाहरु बन्द बाकसमा एयरपोर्ट आउन थाले । तैपनि युवाहरु मृत्युसँग संघर्ष गर्नै विदेश पलायन हुने वातावरण भइरहेको छ । नेपालीको आर्थिक स्रोत नै वैदेशिक रोजगार भयो ।