नेत्र सहायकलाई स्वागत तथा अभिमुखीकरण

निरला अर्याल
दाङ, २७ चैत । राप्ती आँख अस्पतालले एक कार्यक्रमको आयोजना गरी नेत्र सहायक अध्ययनरत विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ । राप्ती आँखा अस्पतालमा सञ्चालित शैक्षिक तालिम तथा अनुसन्धान कार्यक्रमअन्तर्गत सञ्चालित द्वितीय वर्षमा अध्ययनर छैठौँ वर्षमा अध्यनरत नेत्रसहायक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरेको हो ।

शैक्षिक तालिम तथा अनुसन्धान कार्यक्रम प्रमुख तथा एकाडेमिक चिफ डा. सुरेश रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा दक्षता हासिल गरी संसारभर अन्धोपन न्यूनिकरण गर्न मद्दत पुग्ने बताएका थिए । विद्यार्थीहरूले आफ्नो उद्देश्य पूरा गर्न निरन्तरता दिनुपर्ने प्रमुख अतिथि गिरीको भनाइ थियो ।

कार्यक्रममा विशिष्ट अतिथि संघका सचिव सुरेन्द्रबहादुर खड्काले सैद्धान्तिक र प्राज्ञिक ज्ञानलाई व्यवहारमा उतार्न विद्यार्थीलाई सुझाव दिनुपर्ने बताए । आँखाका बिरामीसँग प्रत्यक्ष सरोकार राख्ने पेसा भएको हुँदा सचेत भएर अध्ययन गर्न अपील गरेका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव खड्का, संघका सहसचिव चिरञ्जीवी रिजाल, राप्ती आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष सुवेदी, सूचना अधिकारी बालाराम खड्कालगायतले बोलेका थिए । कार्यक्रममा विषय प्रवेश अप्थाल्मिक साइन्स कार्यक्रम संयोजक तथा दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले गरेका थिए भने कार्यक्रमको सहजीकरण निरला अर्यालले गरेकी थिइन् ।

नेपाल नेत्रज्योति संघ दाङ आँखा स्वास्थय कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र राप्ती प्राविधिक शिक्षालय लालमटिया दाङको साझेदारीमा सञ्चालन भइरहेको नेत्र सहायक अध्ययन पहिलो वर्ष राप्ती प्राविधिक शिक्षालयमा हुन्छ भने द्वितीय र तृतीय वर्षको कक्षा राप्ती आँखा अस्पतालमा भइरहेको छ । राप्ती आँखा अस्पतालमा देशका सातैवटा प्रदेशबाट नेत्र सहायक अध्ययन गर्न आएका छन् भने विशेष गरी लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाट धेरै सङ्ख्यामा विद्यार्थी आउने गरेको तथ्याङ्क रहेको छ ।