युवाहरूलाई स्वदेशमा रोक्ने योजना ल्याउँछौँ : मुख्यमन्त्री गिरी
गोरक्ष समाचारदाता
तुलसीपुर, २१ चैत । तुलसीपुर उपमहानगरपालिका कार्यालयले व्यापारिक तथा प्रशासनिक प्रयोजनका लागि ट्रेड टावर निर्माण कार्य थालेको छ ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले सो टावरको सोमवार शिलान्यास गरेका छन् । दाङलाई पर्यटनको केन्द्रको विकास गर्न ट्रेड टावरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाकाअुसार १४ करोड ४२ लाख लागतमा सो बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको हो ।
लिफ्टसहित सात तलाको टावर निर्माण हुनेछ । साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको टावरको निर्माण कार्य तीन वर्षमा पूरा गर्ने गरी सम्झौता भएको छ । समानान्तर, डायनामिक, नारायणम जेभीले भ्याटबाहेक साढे १४ करोडमा ठेक्का लिएको छ । कूल लागतमध्ये ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो ।
भूमिगत गाडी पार्किङ’ पनि निर्माण हुनेछ । १० कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङदेखि विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेष्टुरेण्ट सञ्चालनमा आउनेछन् । भवन ०८१ चैत मसान्तसम्म सक्ने गरी सम्झौता भएको छ । तुलसी ट्रेड टावरको शिलान्यास गर्दै मुख्यमन्त्री गिरीले विदेशमा गएर बगाउने पसिना आफ्नै देशमा बगाउनु उचित हुने बताए । पछिल्लो समय युवाहरू विदेश पलायन हुने क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूलाई नेपालमै रोक्न आवश्यक रहेको बताए ।
परम्परागत शिक्षा प्रणालीभन्दा प्राविधिक शिक्षामार्फत् दक्ष जनशक्ति उत्पादन गरेर आफ्नै ठाउँमा रोजगारीको अवसर सिर्जना गर्ने गरी अगाडि बढ्नुपर्ने उनले बताए । प्रदेश सरकारले दाङमा धेरै लगानी लगाएको भन्दै अझै पनि स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर जनतालाई सँगै जोडेर काम गर्नुपर्ने आवश्यक रहेको बताए । यसैगरी मुख्यमन्त्री गिरीले समयमै काम सम्पन्न नगरेर कतिपय व्यवसायी बदनामी भइरहेका बेला ट्रेड टावरको निर्माण कार्य समयअगावे सकेर पुरस्कृत हुन पनि निर्माण व्यवसायीलाई आग्रह गरे ।
सो अवसरमा पूर्व नगर प्रमुख घनश्याम पाण्डेले विगतमा आफूले तुलसीपुरका सपनाहरूलाई जागृत गर्ने काम गरेको बताउए । मेट्रो कलेज, मेट्रो हस्पिटल, तरकारी बजार, बसपार्क र प्रशासनिक भवनले नै पुष्टि गरेको पूर्व नगर प्रमुख पाण्डेले बताए तर सपना देख्ने व्यक्तिलाई तुलसीपुरले समयमा चिन्न नसक्दाको महसुस अहिले गरिरहेको पाण्डेले बताए । कार्यक्रमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले टावर निर्माणको कामलाई रोक्न कतिपयले अनर्गल प्रचारबाजी गरे पनि आफूले निरन्तर अघि बढाएको बताए ।
यसैबीच मुख्यमन्त्री गिरीले प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको अवलोकन गर्दै मुख्यमन्त्री गिरीले युग सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिए । ‘हामीले आफै गरिखाने शिक्षामा जोड दिनुपर्दछ, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ’, उनले भने ।
पछिल्लो समय विदेशिने विद्यार्थीहरूको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गिरीले माटो सुहाउँने खालको सीप प्रदान गर्नका लागि शिक्षालयहरूले ध्यान दिनुपर्ने बताए । लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माणाधीन शिक्षालय भवनको अवलोकन गर्दै गिरीले अन्य आवश्यक संरचना निर्माणलगायतका कुरामा प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गरेर शिक्षा क्षेत्रमा नमुना काम गरेको बताउँदै मुख्यमन्त्री गिरीले शैक्षिक गुणस्तर वृद्धिमा पनि ध्यान दिनुपर्ने सुझाव दिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्का र शिक्षालय प्रमुख बसन्त आचार्यले शिक्षालयका बारेमा जानकारी गराएका थिए ।