शान्त मनमा एसइई

गोरक्ष समाचारदाता
तुलसीपुर, २० चैत । एसइई परीक्षा चलिरहँदा परीक्षा शान्त छ । परीक्षार्थीहरूको मन शान्त छ । केहीले मोबाइल लिने गरेका थिए तर सुरक्षाकर्मीले नै मोबाइल लग्न दिएका थिएनन् । तैपनि झुक्किएर मोबाइल लग्नेहरूका मोवाइल पनि परीक्षा निरीक्षकले खोसिरहेका देखिन्थे । समग्रमा एसइई परीक्षा शान्त वातावरणमा चलिरहेको छ ।

आइतवार एसइईको परीक्षाको दोस्रो दिन गणित विषयको परीक्षा चालिरहँदा तुलसीपुर क्षेत्रका केन्द्रहरूमा शान्त वातावरणमा परीक्षा सञ्चालन भइरहेको थियो । फाल्तु व्यक्ति परीक्षा हलमा मात्र होइन, विद्यालय कम्पाउण्डभित्रै छिर्न निषेध थियो ।

‘यसपालिको एसइई शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ, केही स्थानमा परीक्षार्थीले मोबाइल लैजान प्रयास गर्ने बाहेकका केही गतिविधि देखिएनन्, हामीले अनुगमनलाई निरन्तरता दिनेछौं’, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले भने । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी सुशील बैद्य, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली, अनुसन्धान प्रमुख एसपी केशवराज सुवेदीलगायतको सहभागिता थियो ।

‘परीक्षामा कुनै पनि आवान्छित गतिविधिहरू देखिएका छैनन्, पूर्वी देउखुरीदेखि पश्मि हापुरेसम्मकै परीक्षा केन्द्रहरूमा शान्तिपूर्वक परीक्षा भइरहेको हामीले पाएका छौं’, प्रमुख जिल्ला अधिकारी बैद्यले भने । कहीँकतै पनि नियम विपरीत काम नभएको पनि उनले बताएका छन् । साथै परीक्षा नसकिउञ्जेल अनुगमन निरन्तर रहने पनि उनले बताए । परीक्षालाई मर्यादित र विद्यार्थीलाई भयरहित वातावरणमा परीक्षा दिने वातावरण मिलाउन आफू अभ्यस्त रहेको पनि बताए ।

आइतवारको अनुगमनका क्रममा तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरु जजुर नमुना माविमा परीक्षा चलिरहँदा नमुनैका रूपमा परीक्षा सञ्चालन भइरहेको थियो । अन्य विद्यार्थीका लागि होम सेण्टरको व्यवस्था नभए पनि त्यहाँ अध्ययनरत दृष्टिविहीनका लागि होम सेण्टरमै परीक्षाको व्यवस्थापन मिलाइएको थियो । दुई जना दृष्टिविहीनले सहयोगीका साथमा परीक्षा दिइरहेका थिए । अनुपस्थित विद्यार्थीको संख्या त्यहाँ देखिएन ।

पब्लिक ज्ञानज्योति तुलसीपुर क्षेत्रकै शैक्षिक लगानीको क्षेत्र हो । मन्टेश्वरीदेखि व्याचलर तहसम्म कक्षा सञ्चालन गरिरहेको सो विद्यालयमा एक जना कृयापुत्रीले परीक्षा दिइरहेको देखिएको थियो भने ६ जना बहिरा विद्यार्थीले परीक्षा दिइरहेका थिए । परीक्षा शान्त वातावरणमा भइरहेको र यहाँ कुनै समस्या नरहेको त्यहाँका केन्द्राध्यक्ष सुरेन्द्र जिसीले बताए ।

महेन्द्र हाइस्कुलमा पनि परीक्षा शान्त देखियो भने मावि सेण्टर तुलसीपुरमा पनि खुल्ला तथा ग्रेट वृद्धि र साधारणतर्फका विद्यार्थीले परीक्षा दिइरहेका थिए । अनुगमनका क्रममा तुलसी आवासीय माविमा पनि कुनै समस्या देखिएन । केन्द्राध्यक्षले दिएको जानकारीअनुसार यो वर्षको एसइई परीक्षा निकै सौहार्द वातावरणमा सञ्चालन भएको छ । दुई घेराको सुरक्षा व्यवस्थापनका कारण यहाँ कुनै समस्या नभएको केन्द्राध्यक्षले बताएका छन् ।