दाङ,१५ चैत । दाङको घोराही उपमहानगरपालिकाले ऐन नियम बिपरित दरवन्दी मिलान भन्दै गरेको शिक्षकहरुको सरुवाको बिरोधमा घोराही नगर स्थानीय संघर्ष समिति गठन गरिएको छ ।
नेपाल शिक्षक महासंघ घोराही नगर समितिको नेतृत्वमा शिक्षकहरुका सबै पेशागत संघ, संगठनहरुसँग प्रतिनिधि सदस्य रहने गरि समिति गठन गरिएको नेपाल शिक्षक महासंघ घोराही नगर समितिका अध्यक्ष निशान्त आचार्यले जानकारी दिनुभएको छ ।
उक्त समितिले भोलि बुधबार सबै पेशागत संघसंगठनका अध्यक्ष र सचीव छलफल गर्ने र पर्सि बिहिवार पीडित शिक्षकहरुसग छलफल गर्ने निर्णय गरेको छ । मंगलवार भएको छलफलले शैक्षिक आन्दोलन तय गरि चरणवद्द रुपमा अघि बढाउने निर्णय पनि गरेको छ ।
संघीय शिक्षा ऎन र नियमावलीको बिपरित गैर कानूनी सरुवा र नमुना विद्यालयको कार्यबिधिको बिरोधमा आन्दोलन गर्नुपर्ने बाध्यतामा आफूहरू पुगेको अध्यक्ष आचार्यको भनाई छ ।
गत चैत ८ गते शिक्षकहरुको पेशागत साझा संगठन नेपाल शिक्षक महासंघ घोराहीका अध्यक्ष लगायत शिक्षकका पेशागत संघ, संगठनहरुसँग समन्वय र छलफल नै नगरी सरुवा गरिएको भन्दै शिक्षकरुले चरणबद्ध आन्दोलन शुरु गरेका छन । घोराही उपमहानगरपालिकाले १ सय १ जनाको सरुवा गरेको छ ।